धरान l युएन–नवोदय कलेजले मङ्गलबार धरान–१५ स्थित चुम्लुङहिम परिसरमा कार्यक्रम गर्दै कक्षा ११ र बिएचएमतर्फको पहिलो सेमेस्टरका विद्यार्थीहरूलाई स्वागत गरेको छ । 

कक्षा १२ र बिएचएमतर्फका दोस्रो तथा तेस्रो सेमेस्टरका विद्यार्थीहरूले कार्यक्रम आयोजना गरी स्वागत गरेको हो । कलेज प्रमुख डम्बर तुम्बापो, कलेजका अध्यक्ष ज्ञानेश्वर झा, होटल म्यानेजमेन्टतर्फका संयोजक गगनमान श्रेष्ठलगायत अध्यापकहरूले खदा, टीका लगाई नयाँ विद्यार्थीहरूलाई स्वागत गरे । स्वागत कार्यक्रममा कक्षा १२ तथा कक्षा ११ का विद्यार्थीहरूले नृत्य, गायनमार्फत् मनोरञ्जन गराएका थिए । 

यसैबीच कलेजमा उत्कृष्ट नतिजा ल्याउने व्यवस्थापन सङ्कायतर्फ कक्षा १२ का असिम इङ्नाम लिम्बू, व्यवस्थापन कम्प्युटर साइन्सतर्फ कक्षा १२ कै सिवानी भुजेल र व्यवस्थापन होटल म्यानेजमेन्टकी आशा राईलाई जनही नगद ५ हजार रुपैयाँसहितले सम्मानित गरिएको छ । यस्तै बिएचएमतर्फ तेस्रो र आठाँै सेमेस्टरमा कोशी तथा धरान उत्कृष्ट गर्नेहरू नगदसहितले सम्मानित गरिएको छ । तेस्रोतर्फ कोशी प्रदेश तेस्रो हुन सफल युन्छोहाङ लिम्बू, धरान दोस्रो हुने कुसुम राई र धरान तेस्रो हुने दीक्षा थापा मगरलाई क्रमशः नगद १५ हजार, ७ हजार र पाँच हजार रुपैयाँसहित सम्मान–पत्र प्रदान गरिएको छ । यस्तै आठौँ सेमेस्टतरतर्फ धरान प्रथम हुने मनिसा याक्खा, दोस्रो हुने दिप्सन नेम्बाङ लिम्बू र तेस्रो हुने दिपेश लुम्फुङ्वा लिम्बूलाई क्रमशः नगद १० हजार, ७ हजार र पाँच हजार रुपैयाँसहित सम्मान–पत्रले सम्मानित गरिएको छ । यस्तै बिएचएम प्रथम सेमेस्टरमा धरान प्रथम हुने आयुस लिम्बू, दोस्रो हुने सलिना अधिकारी र तेस्रो हुने प्राप्ती लिम्बूलाई जनही १० हजार, सात हजार र पाँच हजार रुपैयाँ नगदसहित सम्मान–पत्र प्रदान गरिएको छ । 

यस्तै कक्षा ११ का विद्यार्थीहरूबीच गरिएको विभिन्न ट्यालेन्ट शोका विजेताहरूलाई पनि पुरस्कार वितरण गरिएको कलेजका जनसम्पर्क अधिकृत एवम् अध्यापक राम लिम्बूले जानकारी दिए । उनका अनुसार स्पिचतर्फ निशान विश्वकर्मा, सोलो डान्सतर्फ स्मारिक सेन ठकुरी, समूह डान्समा स्मारिक एन्ड ग्रुप, गायनतर्फ आरुण सिवा, नेपालीतर्फको निबन्ध लेखनमा शिक्षा राई, अङ्ग्रेजीतर्फको निबन्ध लेखनमा पुजन राई दनुवार र चित्रकलामा रोशनीकुमारी गुप्ता रहेका छन् । उनीहरू ट्रफी र प्रमाण–पत्र प्रदान गरिएको छ । कलेजका प्रमुख तुम्बापोले नयाँ विद्यार्थीहरूलाई स्वागत गर्ने परम्परा रहँदै आएको र विद्यार्थीहरूलाई कलेजमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । कलेजले पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिँदै आएको उनले बताए ।