काठमाडौं । भारतको पीटीसी इन्डियासँग विद्युत् खरिद गर्दा करिब ४३ करोड रुपैयाँ बराबरको आर्थिक अनियमितता भएको आरोप लगाउँदै ‘जेन जी मुभमेन्ट” ले ऊर्जामन्त्री कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको छ ।
बुधबार दर्ता गरिएको उजुरीबारे जानकारी दिँदै जेन जी मुभमेन्टका प्रवक्ता विजय साहले यस प्रकरणमा मन्त्री घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवाल तथा विद्युत् नियमन आयोगविरुद्ध उजुरी दिएको बताएका छन् । मिलेमतो गरेर प्राधिकरणलाई ठूलो वित्तीय नोक्सानी हुने गरी विद्युत् खरिद सम्झौता गरेको उनको दाबी छ ।
उनका अनुसार यसपूर्व पनि घिसिङविरुद्ध अख्तियारमा उजुरी परे पनि आयोगका केही आयुक्तको प्रभावमा अनुसन्धान प्रक्रियामा हस्तक्षेप हुने गरेको आशङ्का उजुरीमा उल्लेख गरिएको छ ।
यसपटक झण्डै आधा अर्ब बराबरको नोक्सानी गरेको विषयमा सञ्चार माध्यमहरूले निरन्तर समाचार प्रकाशित गरिरहे पनि अख्तियारले आश्चर्यजनक मौनता अपनाएको आरोप मुभमेन्टले लगाएको छ ।
जेन जी मुभमेन्टले प्रस्तुत गरेको विवरणअनुसार ६ अगष्ट २०२५ मा पीटीसी इन्डियाले प्राधिकरणलाई प्रतियुनिट भारु ६.७४ मा विद्युत् बिक्री गर्ने प्रस्ताव गरेको थियो । तर घिसिङ ऊर्जा मन्त्री बनेपछि उनलाई निकट मानिने मनोज सिलवाललाई प्रबन्ध निर्देशकमा नियुक्त गर्ने तयारीसँगै भारततर्फका उत्पादकहरूसँग भित्रीरूपमा मोलमोलाइ गरी बढी दरमा विद्युत् किन्ने सहमति गरिएको आशङ्का उजुरीमा उल्लेख छ । सिलवाल नियुक्त भएको भोलिपल्टै प्राधिकरणले पहिलेको भन्दा महँगो दर अर्थात् भारु ६.९५ मा १ सय ८० मेगावाट विद्युत् बेच्ने नयाँ प्रस्ताव प्राप्त गरेको र त्यसपछि कुनै वार्ता वा मूल्य घटाउने प्रयास नगरी पुरानो प्रस्ताव लोप गराई नयाँ प्रस्तावका आधारमा मात्र स्वीकृतिपत्र जारी गरिएको बताइएको छ ।
जेन जी मुभमेन्टले यसलाई भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिमका कसूर ठहरिने स्पष्ट प्रारम्भिक प्रमाण रहेको दाबी गर्दै अख्तियारलाई प्रारम्भिक अनुसन्धान तत्काल अघि बढाउन, अनियमित रूपमा गरिएको विद्युत् खरिद प्रक्रिया रद्द गर्न तथा संलग्न सबै अधिकारीविरुद्ध मुद्दा दायर गरी बिगो असुल गराउन माग गरेको छ ।
































