विराटनगर । विराटनगरको कपडा बजारमा एकछत्र राज गर्दै आएका चर्चित व्यापारी बब्लु अग्रवालको कपडा गोदाममा प्रहरीले मङ्गलबार दुई स्थानमा छापा मारेको छ ।

भारतको जोगबनी नाकाबाट भन्सार छली गरी ल्याइएका लाखौं मूल्यका कपडा बरामद गरेपछि प्रहरीले छापा मारेको हो । अवैध कारोबार गर्दै आएका अग्रवाल भने प्रहरीको नियन्त्रणबाट नाटकीय ढङ्गले उम्कन सफल भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले विशेष सुराकीको आधारमा यो कारबाही अगाडि बढाएको हो । मोरङ प्रहरी प्रमुख एसपी कवित कट्वाल आफैंले नेतृत्व गरेको विशेष टोलीले मङ्गलबार बिहान विराटनगर एयरपोर्टको कार्गो क्षेत्र र विराटनगर–४ स्थित एक घरमा छापा मारेको थियो । प्रहरीका अनुसार अग्रवालले जाडो मौसमलाई लक्षित गरी तस्करी गरेर ल्याइएका महँगा कुर्ता–सुरुवाल र साडी काठमाडौँ पठाउने तयारी गरिरहेका थिए ।

एयरपोर्टबाट यसरी सुरु भयो अपरेसन

विशेष सूचना पाएको प्रहरी टोलीले पहिलो निसाना विराटनगर एयरपोर्टको कार्गो परिसरलाई बनाएको थियो । अग्रवालले काठमाडौँ पठाउन तयार पारेका दुईवटा ठूला बोरामाथि प्रहरीले निगरानी गरिरहेको थियो । सुनसरीको देवानगञ्ज गाउँपालिका–७ बस्ने मनिष यादवले प्रदेश १–०४–००२ प ६५४० नम्बरको स्कुटरमा ती बोराहरू ल्याएर विमानस्थलको कम्पाउन्डभित्र छाडेका थिए । प्रहरीले शङ्कास्पद गतिविधि देख्नासाथ नियन्त्रणमा लिने प्रयास गर्दा यादव स्कुटर छाडेर फरार भएका थिए ।

तत्काल प्रहरीले ती बोराहरू खोलेर जाँच गर्दा ८९ थान ‘उनीयु’ ब्रान्डका उच्च गुणस्तरका कुर्ता–सुरुवाल फेला परेको थियो । बरामद गरिएका कपडाको बजार मूल्य प्रतिथान ४ देखि ५ हजार रुपैयाँसम्म पर्ने अनुमान गरिएको छ । जसअनुसार एयरपोर्टबाट मात्रै करिब चार लाख रुपैयाँ बराबरको सामान बरामद भएको छ ।

एयरपोर्टको सफलतापछि प्रहरी टोलीले सूचनाको स्रोतलाई पछ्याउँदै विराटनगर–४ स्थित शारदा अग्रवालको घरमा छापा मारेको थियो । शारदा बब्लुकी आमा हुन् । प्रहरी पुग्दा त्यहाँका कपडा प्रदेश १–०४–००१ च १४५१ नम्बरको पिकअप गाडीमा लोड गरिँदै थियो । प्रहरीले तत्काल गाडी र त्यसका चालक, विराटनगर–४ बस्ने तनवीर मुस्ताकिनलाई नियन्त्रणमा लियो । घरभित्र खानतलासी गर्दा प्रहरीले थप कपडा बरामद ग¥यो । एसपी कट्वालका अनुसार बब्लुको घरबाट ऊनी कुर्ता–सुरुवाल ४६ थान र कटन कुर्ता–सुरुवाल ३० थान बरामद गरेको छ । 

प्रहरीले तस्करीमा प्रयोग भएका दुवै सवारी साधन प्रदेश १–०२–००१, च १४५१ नम्बरको सेतो पिकअप र प्रदेश १–०४–००२ प ६५४० नम्बरको कालो स्कुटर पनि नियन्त्रणमा लिएको छ । 

यसरी चल्थ्यो बब्लुको क्यारिङ

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार अग्रवालको तस्करीको शैलीबारे रोचक तथ्यहरू उजागर गरेको छ ।

उनी लामो समयदेखि सुनसरीका विभिन्न सीमा नाकाहरू प्रयोग गरेर भारतको जोगबनीबाट लत्ताकपडा ल्याउने कार्यमा संलग्न थिए । मोरङ र सुनसरीका सीमावर्ती क्षेत्रहरूबाट विभिन्न व्यक्तिहरू (क्यारिङ गर्ने) मार्फत् उनले अवैधरूपमा कपडा विराटनगर भिœयाउने गरेको खुलेको छ । यसरी ल्याइएका कपडाहरू विराटनगर–५ स्थित उनको मुख्य पसल ‘माँ दुर्गा इम्पेरियल’ र बगरगाछीमा रहेको अर्को पसलबाट बिक्री वितरण हुन्थ्यो । साना बजारमा सोझै बिक्री गर्ने र काठमाडौँजस्ता ठूला बजारमा पठाउनु पर्दा उनले चलाखी अपनाउने गरेको पाइएको छ । 

प्रहरीले अग्रवालको घरमा छापा मार्दा उनी त्यहाँबाट फरार भइसकेका थिए । उनको खोजी कार्य तीव्र पारिएको मोरङ प्रहरीले जनाएको छ । फरार रहेका अग्रवालको खोजीका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको बुझिएको छ ।

यस घटनाले विराटनगर क्षेत्रमा कपडा तस्करीको सञ्जाल कति गहिरोसँग फैलिएको छ भन्ने कुरालाई पुनः उजागर गरेको छ । सीमा क्षेत्रको फाइदा उठाउँदै व्यापारीहरूले ठूलो मात्रामा राजस्व छली गरी अवैध कारोबार गरिरहेको यो घटनाले पुष्टि गर्दछ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कबित कट्वालले बरामद गरिएका सबै कपडा र नियन्त्रणमा लिइएका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान सुरु गरिएको जानकारी दिए । “हामीले बरामद गरेका कपडाहरूको स्रोत, यसको ओसारपसारमा संलग्न अन्य व्यक्तिहरू र समग्र सञ्जालको बारेमा गहिरो अनुसन्धान गरिरहेका छौँ”–उनले भने ।

एसपी कट्वालले भन्सार छली र अवैध तस्करी नियन्त्रण गर्न प्रहरीले विशेष अभियान चलाइरहेको र कुनै पनि अवैध गतिविधिमा संलग्नलाई कानूनी दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । “कानूनभन्दा माथि कोही छैन, फरार अभियुक्तलाई हामी छिट्टै पक्राउ गर्नेछौँ”–उनले भने । बरामद गरेको कपडा र सवारी साधान आवश्यक कारबाहीका लागि राजस्व कार्यालय इटहरी सुनसरीमा पठाउने प्रहरीले जनाएको छ ।