आज शतवीज छर्ने दिन हो, आज मङ्सिर कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशी पनि भनिन्छ र आजको दिन मृत्युवरण गरेका पितृहरूको मोक्षयात्राका लागि अत्यन्त महत्वपूर्ण दिनका रूपमा मानिन्छ । नेपाल अनि भारतका विभिन्न शक्तिपीठ अनि त्रिवेणी धामहरूमा आज शतवीज छर्ने तीर्थालुहरूको घुइँचो रहने गर्दछ । शतवीज भन्नाले पितृ उद्धारका लागि धार्मिक वनहरू जस्तैः कैलाश डाँडा, श्लेष्मान्तक वन अनि अन्य वनहरूमा गई छर्ने सात प्रकारका अन्नहरू पर्दछन् । यस्ता अन्नहरूमा धान, गहुँ, मास, मुगी, कागुन र सामा मिलाइएको सप्तधानयुक्त शतवीज र विभिन्न प्रकारका फूलहरू रहने गर्दछ । शतवीज छर्ने कुरामा ठाउँअनुसार आ–आफ्नै चलनहरू रहेको पाइन्छ र माथि उल्लेख गरेका अलावा चना, तील, मकैहरू पनि राखेर शतवीज छर्ने चलन रहेको छ भने अन्नका साथसाथै कागती, निबुवा, बिमिरो, सुन्तला, स्याउ, उखु, अम्बा, केरा पनि राख्ने चलन रहेको छ । यसरी शतवीज छर्नका लागि चतुर्दशीभन्दा एकदिन अगाडि नै अर्थात् त्रयोदशीकै दिन राति जाग्राम बसेर दीप प्रज्वलन गर्दै भजन कीर्तन गर्दै आँखा झिमिक्क नपारी भोलिपल्ट बिहानै स्नान गरेर चोखोनितो बनेर मात्र शतवीज छर्ने चलन छ । यसरी पृथ्वीलोकमा छरिएको शतवीज चाहिँ पितृहरूको लोकमा गएर अङ्कुरण हुने र यिनै वीजका कारणले पितृहरू कहिल्यै भोकै बस्नु नपर्ने मान्यता रहेको छ ।
काठमाडौंको पशुपतिनाथ अनि आसपासका किरातेश्वर, गौरीघाट, गुहेश्वरी, आर्यघाटको तट, श्लेष्मान्तक वनलगायत पूर्वी नेपालको चतरा, वराहक्षेत्र, खोटाङको हलेसी, पर्वत जिल्लाको सेतीवेणी धाम, गुल्मी शान्तिपुरको चक्रेश्वर मन्दिर, नवलपरासीको देवघाट धाम, धनुषाको क्षीरेश्वरलगायत देशभरिका शिवालय एवम् त्रिवेणी धामहरूमा विशेष घुइँचो अनि मेला लाग्ने गर्दछ । पितामाता या पितामह या मातामह अर्थात् हजुरबुबा अनि हजुरआमा या सातपुस्ताभित्र जूठो बार्नु पर्ने जो कोहीको पनि जूठो बार्ने या बर्खी बार्ने क्रममा पूरा गर्नुपर्ने नियम पूरा गर्न नसकेमा या कुनै त्रुटि भएमा बाला चतुर्दशीको दिन पवित्र खोलामा तीनपटक डुबुल्की मारेर चोखो भई शतवीज छर्नाले र त्रयोदशीमा जाग्राम बसेर मृतात्माको नाममा दीप प्रज्वलन गर्नाले सम्पूर्ण दोषबाट मुक्ति पाउने जनविश्वास रहेको छ ।
यसरी दीप प्रज्वलन गर्न शिवालय या शक्तिपीठ नै पुग्न नसकेको खण्डमा मृतात्माको नाममा घरमै श्रद्धाकासाथ बत्ती प्रज्वलन गरेर, दुना या टपरीमा बत्तीलाई राखी माथिबाट ज्वाला निस्कने ठाउँ दिएर अर्काे दुना, टपरी या बोहतीले छोपेर खोलामा बगाउने चलन छ । यसरी सहजै बत्ती बगेको खण्डमा पितृले वैतर्नी तरेको र बत्ती सहजरूपमा नबगेको खण्डमा पितृले वैतर्नी नतरेको मान्यता पनि छ ।
सबैभन्दा रोचक प्रसङ्ग चाहिँ आजको दिन पशुपतिको विश्वरूप मन्दिरछेउको गणेशको मूर्तिसँग सम्बन्धित छ । उक्त गणेशको मूर्तिलाई कान नसुन्ने रूपको भगवानका प्रतीकका हिसाबले लिइन्छ । तसर्थ भक्तालुहरूले जोड जोडले चिच्याएर, कराएर, हल्लाएर उक्त मूर्तिलाई कान सुनाउन खोज्ने चलन र अथक प्रयासहरूले बालाचतुर्दर्शीको अन्त्यमा रोचक महŒव राख्दछ ।
बाला चतुर्दशी एउटा मित्रताको प्रसङ्ग पनि हो, बाला एकजना असुर हुन् भने उनका साथी ब्रिसलाई राजाले बालालाई मार्नका लागि पठाएका हुन्छन् । बाला ले आर्यघाटमा मृतकका आफन्तलाई तर्साउने र मृतकको शव खाइदिने गरेकाले जनताहरूले धेरै दुःख पाएका हुन्छन् । ब्रिसले आफ्नो साथी बालालाई छलले मार्न उचित ठान्दैन र मित्रताको न्यानो परिधिभित्र बालाले जस्तोसुकै असुर भए पनि आफ्नो साथी भएकाले हत्या गर्न नसक्ने भएकाले गएर श्लेष्मान्तक वनमा गएर आदिदेव शिवजीको तपश्या गर्दछन् । शिव ब्रिसको तपश्याले प्रसन्न भएर बालालाई असुरजुनीबाट मुक्त गरिदिन्छन् र ब्रिसलाई शतवीज छरेर आफ्नो साथी बालालाई पापबाट मुक्त गराउन आज्ञा दिन्छन् । यसरी शतवीज छर्ने चलन सुरु भएको र आजको यो दिन मित्रताको दृष्टान्तका रूपमा पनि उत्तिकै महŒवपूर्ण रहेको कुरा बाला र ब्रिसको यो कथाले प्रष्ट पारेको छ । –हाम्रो पात्रोबाट
































