‘तपाइँ भलाद्मी र सज्जन भएको हुनाले मात्र म तपाइँलाई भेट्न यहाँ, यसरी आएको हो । भेट्न आउन तपाइँले दबावयुक्त आग्रह गरेको हुनाले मात्र र अब यो भेट मेरो लागि अन्तिम हुनेछ । यसपछि बाटोमा देख्दा पनि नबोल्नु भए हुन्छ । नबोल्नुस् नै । अँ, अनि फोन पनि नगर्नु होला, न त कुनै मेसेज नै पनि पठाउनु होला । फेसबुकमा मेसेजिङ पनि नगर्नु होला । यतिभन्दा पनि तपाइँले त्यस्ता कार्यहरू गर्नुभएमा, मसँग कुरा गर्न खोज्नु भएमा, पहिलो चरणमा म तपाइँ एक घटिया व्यक्ति हो भन्न बाध्य हुनेछु । अनि दोस्रो चरणमा मैले कानूनी उपचार खोज्नु पर्ने स्थिति आउन सक्छ, तपाइँबाट छुट्कारा पाउनका लागि ।’

रीताको यस्तो भनाइ मेरो लागि अपेक्षित थियो । रीताको मप्रति कुनै आकर्षण थिएन, केवल मेरो मात्र उनीप्रति अगाध आकर्षण थियो । बितेको चालीस वर्षमा मैले जति प्रयास गरे पनि रीतालाई भुल्न सकेको थिइनँ । तर, रीताले भने केहीछिन पहिले मैले उनलाई भुल्न आग्रह गरिन् । एक मिनेट पहिले उनले आग्रह गरेको भरमा अर्काे मिनेटमा मैले उनलाई भुल्नुपर्ने । यस्तो पनि हुन सक्छ ? कस्तो अचम्म १ चालीस वर्षमा गर्न नसकेको कुरा एक मिनेटमा गर्न सकिन्छ ? तर, रीताको तर्फबाट त्यस्तो मैले गर्न आवश्यक थियो । उनी हजुरआमा बनिसकेकी महिला आफ्नो पति र परिवारलाई बिर्सेर कसरी मेरो प्रौढ प्रेमिका बन्न सक्छिन् ? म भने उनीलाई प्रेमिकाको रूपमा हेर्न खोजिरहेको थिएँ । प्रेमिका बनाउन खोजिरहेको थिएँ । हुन पनि उमेरले मात्र रीतालाई प्रौढ तुल्याएको थियो तर, मेरो लागि त उही रीता थिइन्, कलेजको जमानाको रीता, सोह्र–सत्र वर्षे उमेरको रीता ।

मेरोअगाडि चालीस वर्ष पहिलेको रीता थिइन्, भौतिक होइन, भावनात्मक रूपमा । त्यो रीता जसलाई मैले आफू बीस वर्षको हुँदा, चालीस वर्ष पहिले वीरगञ्जको कलेजमा भेटेको थिएँ । मेरो एकोहोरो प्रेमको कथा त्यहाँबाट सुरु भएको थियो । मैले रीतालाई एकोहरो प्रेम गरेको थिएँ । मेरो एकोहोरो प्रेमको बारेमा रीतालाई केही पनि थाहा थिएन । कलेजमा हुँदा मैले रीतालाई प्रेम गरेको कहिले भन्न सकिनँ पनि । त्यही कुरा भन्न मैले उनलाई रेष्टुरेन्टमा बोलाएको थिएँ । चालीस वर्षपछि आमने सामने भएर भेट्दै थिएँ । म कस्तो मान्छे १ र कति अचम्मको मान्छे १

‘उभेर नै कुरा गर्ने ? रेष्टुरेन्टमा कुरा गर्दा हुँदैन ? के मलाई एक घण्टा जति समय दिन सक्नुहुन्न ? ममाथि विश्वास गर्नुहुन्न ? मैले कुनै किसिमको अभद्र व्यवहार गरौँला त तपाइँसँग ? यस्तो लाग्छ तपाइँलाई ?’

मेरा यस्ता अनेक प्रश्नहरूले रीतालाई द्रवित हुन दबाव दिनेजस्तो लाग्यो र भयो पनि त्यस्तो नै ।

‘रेष्टुरेन्टमा एक घण्टाभन्दा बढी बस्न सक्दिनँ ।’ रुखो किसिमले दिइएको रीताको उत्तरले मलाई सुखद् स्थितिमा पु¥यायो ।

हो, साँच्चै मैले नै रीतालाई दबाव दिएर नयाँ सडकमा बोलाएको थिएँ । काठमाडौँको ट्राफिक जाममा दुःख दिएको थिएँ । नारायणथानबाट ट्याक्सीमा आउन पनि रीतालाई एक घण्टा लागेको थियो ।

‘पटक–पटक फेसबुकमा मेसेज पठाएर, फोनसमेत गरेको हुनाले म यहाँ आएकी हुँ । एक किसिमले, भनौँ न, बाध्य भएर र अँ, मलाई तपाइँसँग भेट्न कुनै किसिमको दिलचस्पी छैन । फेरि पनि दोहो¥याउँछु, म केवल तपाइँको पटक–पटकको आग्रहले गर्दा आएको हँु ।’ रीताका प्रतिक्रियाहरू कडा हुँदै गइहेका थिए । तर, मेरो स्थिति भने शान्त तलाउको पानीजस्तो थियो ।

मैले भनेँ, ‘चालीस वर्षपछि हाम्रो भेटघाट हुँदैछ । यति नजिकबाट म तपाइँलाई चालीस वर्षपछि हेर्दैछु वा हेर्न पाउँदैछु । तर, आश्चर्य १ यो पचास पचपन्नको उमेरमा पनि तपाइँ यति राम्री लागिरहनुभएको छ । सोह्र–सत्र वर्ष उमेरमा कति राम्री हुनुहुँदो हो ? तर, मैले कहिले पनि तपाइँलाई ज्यादै नजिकबाट हेर्न पाइनँ । तपाइँ यति राम्री भएर नै होला म तपाइँको पछाडि लट्टुजस्तो नाचेको । कति ठूलो गुरुत्वाकर्षण भएको तपाइँको रूप थियो, जसले हरपल मलाई तानिरह्यो । कति अधिक शक्तिशाली चुम्बक थियो त्यो रूप........ तर, होइन म यहाँ आफ्नो भनाइ सच्याउन चाहन्छु है । रूप नै सबै थोक होइन, आकर्षित गर्ने अरू पनि थुप्रै कुराहरू हुन्छन् ।’

‘यस्तै उटपट्याङ कुराहरू गर्न बोलाउनुभएको मलाई यहाँ ? तपाइँका कुराहरू मलाई अर्थहीन लागिरहेको छ ।’ रीताको यो भनाइले ममाथि कुनै पनि किसिमको असर गरेन ।

‘होइन रीताजी, कृपया मलाई भन्न दिनुहोस्, मैले यी कुराहरू चालीस वर्ष पहिले, तपाइँलाई भेट्दा भन्नुपर्ने थियो । म कति कायर है, रीताजी ? म ज्यादै भलाद्मी थिएँ, अहिले पनि छु । तर, ज्यादै भलाद्मी हुनु ज्यादै कायर हुनु पनि हो, है ?’ मैले शान्त स्वरमा भनेँ ।

समोसा र चिया हाम्रो टेबलमाथि आइसकेको थियो । रेष्टुरेन्ट पनि ग्राहकहरूबाट भरिभराउ नै थियो । कुनै बेला मतिर हेर्ने र कुनै बेला रेष्टुरेन्टलाई हर्ने रीताको उद्देश्य पछाडि के थियो मैले बुझ्न सकिनँ र मैले त्यस्तो किन गरेको भनेर प्रश्न पनि गरिनँ ।

न्यूरोडको ज्यादै व्यस्त त्यो रेष्टुरेन्टमा आधाघण्टा बितिसकेको थियो । हामीले समोसा र चिया खाइसकेका पनि थियौँ ।

‘मैले तपाइँलाई एक घण्टा समय दिन्छु भनेकी थिएँ । दिएको समय बित्न थाल्यो ।’ रीताको यो भनाइले मलाई झस्क्यायो । मैले केवल पाँच मिनेट बितेको होला भन्ने अनुमान गरेको थिएँ ।

‘मलाई किन बोलाउनुभएको थियो, यहाँ, हँ ऋषिजी, भन्नुहोस् ? कृपया विषयवस्तुमा आउनुहोस् । समय बर्बाद नगर्नुहोस् । मलाई घर पुग्न हतार पनि छ । छोरी ज्वाइँ आउँदै छन्, साँझ हामीलाई भेट्न ।’ रीताको भनाइले मलाई झस्क्यायो ।

मैले भनेँ, ‘भेट्नुको कुनै ठूलो उद्देश्य थिएन । यतिकै तपाइँसँग कुरा गर्न मन लागेको थियो । साँच्चै भनौँ, तपाइँलाई नजिकबाट, ज्यादै नजिकबाट हेर्न मन लागेको थियो । त्यो आज पूरा भयो । तर, तपाइँलाई तपाइँको मनको छेउमा पुगेर पनि हेर्ने विचार छ ।’

रीताले भनिन्, ‘तपाइँ कस्तो अचम्मको मान्छे ?’ के भन्नुभएको मैले बुझ्न सकिरहेको छैन । र बुझ्न आवश्यक पनि छैन ।’

‘मोटरलाई पछाडि दौडाउन सकेजस्तो समयलाई पनि पछाडि दौडाउन सकिन्छ, रीताजी ? सकिने हुँदो हो त म समयलाई पछाडि दौडाउने थिएँ । चालीस वर्ष पछाडि लगेर त्यो, हाम्रो, कलेजको समयमा पु¥याउने थिएँ । समयलाई पछाडि दौडाउन सकिन्छ होला रीताजी, मैले सोचे जस्तो ?’ मेरो भनाइ रीताले बुझिन वा बुझिनन् मैले थाहा पाउन सकिनँ ।

‘एक घण्टा समाप्त भयो । म अब हिँड्छु है । म तपाइँसँग भेट्न नआए तपाइँले सुसाइट गर्छु भनी मलाई नधम्क्याएको भए म आउने थिइनँ, बुझ्नु भयो । मेरो कारणबाट कोही मर्न नपरोस् भनेर म यहाँ आएको । मैले एक पटक भेट्दैमा कसैले गर्न भनी आँटेको आत्महत्या गर्दैन, उसको ज्यान जोगिन्छ, त्यस्तो सोचेर म यहाँ आएको हो ।’

रीताले थपिन्, ‘मलाई भेट्ने इच्छा जाहेर नगर्नु होला र फोन पनि नगर्नु होला, अब । बुझ्नुभयो । मलाई पूर्णतया बिर्सिदिनू, कृपया । नत्र मैले अघि भने जस्तो, मैले बाध्य भएर प्रहरीलाई खबर गर्नु पर्ला ।’

मप्रति रीताले रुखो व्यवहार प्रदर्शित गर्ने मेरो लागि अपेक्षित थियो । त्यसकारण उनको त्यस्तो व्यवहारले मलाई विचलित तुल्याएन । सन्तुलित र शान्त भावमा मैले भनेँ, ‘रीताजी, मैले कसरी भुल्ने तपाइँलाई ? यसरी भुल्न के सम्भव छ ? के त्यस्तो हुनसक्छ ? मैले मेरो जवानीको समयको स्मरण गर्दा तपाइँको छायाँ मेरो आँखामा चल्न थाल्छ । जब वीरगञ्जको त्यो कलेजलाई हेर्छु, जहाँ हामीले पढेका थियौँ, तपाइँ मेरो मनको कुनाकुनाबाट निस्केर बाहिर आएजस्तो लाग्छ । मैले मेरो जीवनी लेख्ने हो भने र त्यो जीवनीमा तपाइँको चर्चा नगर्ने हो भने मेरो त्यो जीवनी पूर्णतया अधुरो रहनेछ, झूठो हुनेछ । अझै भनौँ, त्यो सहर जहाँ मैले तपाइँलाई दैखेँ, त्यो सहरलाई नियालेर हेर्दा, सहरका ती गल्लीहरूमा तपाइँका छायाँहरू दौडन थाल्छन्, जहाँ मैले तपाइँलाई पछ्याएको थिएँ । त्यो समय जुन समयमा म तपाइँको लागि पागल भएको थिएँ, त्यो समय सम्झिँदा मेरो मन अहिले पनि रोमाञ्चित हुन्छ । यो स्थितिमा तपाइँ मलाई सजिलै बिर्सन भन्नुहुन्छ । के त्यस्तो हुनसक्छ ? के सम्भव छ ? कृपया भन्नुस् । मेरो मनमस्तिक तपाइँको यादले यस्तो गरी रङ्गीएको छ, जस्तोः कुनै बलियो रङले कुनै कपडा रङ्गीएको होस् । कपडा च्यातिएर गए पनि त्यो कपडाको रङ जाँदैन । त्यस्तै स्थिति मेरो पनि छ । तपाइँ बैङ्क हो । यो बैङ्कमा मैले हजारौं यादहरू जम्मा गरेको छु । यस्तो गर्नुस्, रीताजी । मेरो ठाउँमा तपाइँ आफूलाई राखेर हेर्नुहोस् अनि थाहा पाउनुहुनेछ । के तपाइँले कसैलाई म जति गहिरो प्रेम गर्नुभएको छ ? के कहिले कसैको एकोहोरो प्रेममा पर्नुभएको छ ? छैन । अनि कसरी तपाइँलाई थाहा हुन्छ मेरो स्थिति ?’

‘म हिँडेँ । तपाइँजस्तोको अर्थहीन गन्थन सुन्ने मसँग फुर्सद छैन, इच्छा त झन् पट्टकै छैन । मैले तपाइँलाई समझदार र भलाद्मी ठानेकी थिएँ तर, तपाइँ केवल एक सभ्य गुन्डा मात्र हुनु हुँदो रहेछ, बुझ्नुभयो ।’ यति भन्दै रीता मेचबाट उठिन् ।

‘रीताजी, एउटा प्रश्न गर्छु । कृपया अन्यथा नठान्नु होला र जवाफ दिनुहोला, कृपया ।’ मैले हतारिँदै भनेँ ।

रीताबाट कुनै जवाफ आएन ।

‘प्रेमको आधार केवल सेक्स हो ? दुई विपरीत लिङ्गबीच सेक्स विना सम्बन्ध हुन सक्दैन ? स्त्री र पुरुषबीच हुने मित्रताको आधारसम्बन्धी परम्परागत मान्यतालाई के तोड्न सकिँदैन ?’ मैले निर्धक्क भएर भनेँ ।

‘मलाई किन रेष्टुरेन्टमा बोलाएको ? किन आउन बाध्य पारेको ? त्यस्तो हो भने ?’ यति भन्दा रीताका आँखाहरू राता–राता भएका थिए । तेजिलो उनको मुहारमा क्रोधको उग्र छायाँ थियो ।

मेचबाट उठेर बाहिर जाँदा रीताले केही पनि बोलिनन् । म उनको पछि केवल लुरु–लुरु हिँडेँ । सडकमा आएपछि उनी मसँग नबोलेर नै ट्याक्सी समात्न हिँडिन् । एकछिनमै काठमाडाँैको अति व्यस्त न्युरोडमा हराइन् ।

रीतासँग भेटेको एक हप्तापछि एउटा अनौठो घटना भयो । रीताले मलाई त्यही रेष्टुरेन्टमा पुनः भेट्न बोलाइन् र म जसरी पनि त्यो रेष्टुरेन्टमा आउनुपर्छ भन्ने बलियो आग्रह पनि उनले पठाएको फेसबुक मेसेजमा गरिन् ।

त्यही रेष्टुरेन्टमा हाम्रो भेटघाट भयो । लामो कुराकानी पनि भयो । यो पछिल्लो भेटमा रीताले एउटा सर्त पनि राखिन्, ‘हाम्रो सम्बन्ध केवल दुई पुरुषहरूबीच हुने सम्बन्धजस्तो हुनेछ ।’

मैले सहमति जनाएँ । मैले भनेँ, ‘मलाई चाहिएको पनि त्यही हो ।’

मैले थपेँ पनि, ‘स्त्री–पुरुषबीचको सम्बन्धको आधारशिला केवल सेक्स होइन ।’       

(समकालीन साहित्य)