इतिहास शिरोमणि बाबुराम आचार्यको १३६औँ जन्मजयन्तीका अवसरमा उनले नेपालको इतिहास, साहित्य र समालोचनाका क्षेत्रमा पुर्याएकाे योगदानको स्मरण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘बाबुराम आचार्य र नेपालको इतिहास विषयक प्रवचन’ कार्यक्रमका वक्ताले उहाँको योगदानका बारेमा चर्चा गरेका हुन् ।      

 प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदीले नेपाली साहित्य र समालोचनाको क्षेत्रमा पनि आचार्यको ठूलो योगदान रहेको उल्लेख गरे । विसं १९४८ देखि मोतिराम भट्टले सुरु गरेको समालोचनाको परम्परामा आचार्यको पनि योगदान रहेको उनले चर्चा गरे । नेपाली साहित्यमा इतिहास, समालोचना र यसका प्रवृत्तिको उजागर गर्ने काम गर्नुभएका आचार्य २०२० सालमा प्रज्ञा प्रतिष्ठानको आजीवन सदस्य बनेका थिए ।

 प्रतिष्ठानका पूर्वउपकुलपति डा जगमान गुरुङले नेपाल राष्ट्र र राष्ट्रियताका लागि उहाँबारे धेरै लेख्नु वा बोल्नु नपर्ने बताए । एक आदर्श वाक्यले पनि मान्छेलाई महान् बनाउने उनले उल्लेख गरे । राष्ट्रकवि माधवप्रसाद घिमिरे ‘नेपाली हामी रहुँला कहाँ नेपालै नरहे’ जस्ता वाक्य लेखेरै महान् हुनुभयो, सत्यमोहन जोशीले राष्ट्रिय फूल गुराँस र इरानको राष्ट्रिय फूल गुलाबलाई जोडेर लेखेकैले सत्यमोहन हुनुभएको हो”– पूर्वउपकुलपति डा गुरुङले भने ।

  बाबुराम आचार्यले पनि झ्यामोलुङ्मालाई सगरमाथा नामाकरण गरेकैले उनि पनि महान् भएका हुन् । लामाहरुले झ्यामोलुङ्मालाई बसिरहेकी चरी, लिम्बूले चोमो लुङ्मा चोमो, लुङढुङ्गा (अग्लो ढुङ्गा)नाम दिएका थिए । संस्कृत र नेपालीमा त्यसको नाम नभएकाले बाबुरामले झ्यामोलुङ्मालाई सगरमाथा भन्ने लेख लेखेर राष्ट्रको आवश्यकताको परिपूर्ति गरेका थिए । त्यसैले उहाँलाई इतिहासशिरोमणि उपाधि दिइएको हो । यसैगरी  बाबुरामले पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी लेख्नभएको उनको भनाइ थियो ।

 प्रा डा त्रिरत्न मानन्धरले बाबुराम आचार्यले नेपालका लागि जुन योगदान दिनुभयो, त्यो अतुलनीय रहेको बताए । एसियाली अनुसन्धान केन्द्रबाट प्रकाशित बाबुराम आचार्य र उनका कृति पुस्तकमा केही पत्रहरु प्रकाशित भएको र त्यसबाट पनि उहाँका कति कृति प्रकाशन गर्न बाँकी रहेको प्रष्ट हुन्छ । 

पूर्वराजदूत राजेश्वर आचार्यले इतिहासको ज्ञान खाली इतिहासको विषय पढ्नेसँग मात्रै सम्बन्ध नरहेको बताए । मान्छेलाई इतिहास, भूगोल, धर्म र संस्कृतिको ज्ञान चाहिने उनको भनाइ थियो । प्रा डा सुरेन्द्र केसीले पञ्चायतकालमा लेख्न नपाइने अवस्थामा पनि बाबुराम आचार्यले इतिहास लेखन र संशोधन गर्ने काम गरेकाे बताए।

 प्रा दिनेशराज पन्तले बाबुरामलाई राजा त्रिभुवनले नै इतिहासशिरोमणि उपाधि दिनुभएको उल्लेख गरे । प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले बाबुराम आचार्यका बारेमा विस्तृत र विहङ्गम छलफलका लागि कार्यक्रम आयोजना गरिएको बताए ।

 प्रतिष्ठानका महासचिव बाबुराम आचार्यले  विगत १३ वर्षदेखि बाबुरामको स्मृति दिवस मनाउँदै आइएको उल्लेख गर्दै यस प्रतिष्ठानले भन्दा नेपाल प्रज्ञा प्रतिष्ठानले  उनको बारेमा बढी काम गरेको बताए । सामाजिक शास्त्र विभाग प्रमुख डा कौशीला रिसालले बाबुराम आचार्यले पुर्याएको योगदानको चर्चा गर्दै राणाकालीन समयमा पनि निडरताका साथ इतिहास लेखनमा सक्रियता देखाएकोले इतिहासशिरोमणि भन्न पाइएको बताए ।