बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गरिमा मात्रै होइन, यो धरानको रक्तसञ्चार पनि हो । स्थापनाकालदेखि हालसम्म विभिन्न खालका विवाद, आन्दोलनबाट प्रताडित बन्दै आएको छ । प्राज्ञिक क्षेत्रमा बीपीको नाम जुन स्तरमा उचो छ, स्वास्थ्य सेवामा पनि अब्बल नै छ । हालै प्रकाशित एउटा तथ्यले सबैभन्दा बढी उपचार गर्ने अस्पताल बनेको तथ्य सार्वजनिक भएको छ । तर, यहाँको व्यवस्थापन चाहिँ खस्किएको देखिन्छ । योग्य तथा दक्ष व्यक्ति नियुक्त नहुँदाको परिणाम हो । राजनीतिक नियुक्तिका कारण पनि जुन प्रशासनिक चुस्तता दिनुपर्ने हो, त्यो दिन नसकेको यथार्थ घाम जत्तिकै छर्लङ्ग छ । अहिले फेरि बीपी एक प्रकारको विवादको चौघेरामा पर्दै गएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपतिसमेत भइसकेकी प्रा.डा. सङ्गीता भण्डारीले बीपी प्रतिष्ठानलाई विवादमा मुछ्ने प्रयास गरेकी छन् । उनले आफ्नो पदीय हैसियतभन्दा बाहिर रहेर गर्ने गतिविधिले बीपीमा सुधिँ्रदै गएको व्यवस्थापनमाथि दबाव सिर्जना गरेकी छन् । उनको कार्यले एउटा व्यक्ति मात्रै समस्यामा पर्दैन, सिङ्गो संस्था नै विवादमा परेको छ । त्यसको प्रा.डा. भण्डारीले हेक्का राख्नुपथ्र्यो ।

बीपी प्रतिष्ठानको गरिमामा आँच पु¥याउने कार्य कहीँकतै भित्रैबाट त भइरहेको छैन भन्ने प्रश्न बारम्बार आउँछ । बीपी विवाद र आन्दोलनले थिलथिलो भइसकेको छ । जुन ट्रयाकमा सञ्चालन हुनुपर्ने थियो, त्योअनुरूप हुन सकेको छैन । यस्ता विविध समस्याबाट माथि उठ्ने क्रममा रहँदा चिकित्सकहरूले विवाद झिक्ने र संस्थालाई धरासायी बनाउने प्रयास गरिनु राम्रो काम होइन । उनी आफू बिदामा रहेका बेला विभिन्न चिकित्सक तथा कर्मचारी प्रशासनलाई दबाव दिने कार्य ठीक हो कि होइन भन्ने विषय आफैले मनन् गर्नुपर्छ । किनकि हरेक व्यक्ति कुनै न कुनै नैतिकताको आडमा बाँचेको हुन्छ । त्यो नैतिकतालाई प्रा.डा. भण्डारीले पनि मनन् गरिदिने हो भने समस्या त्यसै समाधान भएर जान्छ । हिजो राजनीतिक दलहरूले बीपी प्रशासनसँग जुन छलफल गरेका छन्, त्यो भण्डारीकै कारणबाट सिर्जित समस्याबाट आएको हो । त्यो वातावरण नबनाउने अवस्था सिर्जना त्यहीँभित्रैबाट हुन जरुरी छ । किनकि ऐन, विधिअनुसार चिकित्सकहरू चल्नुपर्छ । ऐन विधिलाई म मान्दिन भन्न पाइँदैन । त्यो भन्नु भनेको कानूनी राज्यको उपहास गर्नु हो । अर्कोतिर वशुधैव कुटुम्बकम् मान्यतालाई पनि भुल्नु हुँदैन ।

बीपी कुनै न कुनै समस्याबाट हिजोबाट गुज्रिँदै आएको छ । अब पनि यस्तो अवस्था आउन नदिऊँ । बीपी विशुद्ध चिकित्सकीय मूल्य र मान्यताबाट अगाडि बढ्ने वातावरण सिर्जना गरौँ । यसलाई प्राज्ञिक थलो, उपचार गर्ने थलो बनाऔँ । हिजोका दिनमा छिमेकी देश भारत, बङ्गलादेशबाट विद्यार्थीहरू पढ्न आउने वातावरण पुनः सिर्जना गरौँ । यसो हुनसकेमा बीपीले आफ्नो मुहार मात्रै फेर्दैन, धरानको मुहार पनि फेर्नेछ । त्यसका अलावा आर्थिक चलखेल बढ्नेछ । कुनै समय धरानले कुल गार्हस्थ्य उत्पादनमा झण्डै तीन प्रतिशत भूमिका खेल्थ्यो । त्यसमा बीपीको पनि महŒवपूर्ण भूमिका हुन्थ्यो । आज हरेक दिन घट्दो अवस्थामा छ । यहाँ हुने आन्दोलन, विवाद तथा अन्य खालका समस्याकै कारण त्यो भइरहेको छ । यसलाई पूर्णतः बन्द नगरेसम्म धरान र बीपीको हित हुँदैन । राजनीतिक दलहरूले पनि कुनै एउटा व्यक्तिको समस्यालाई मात्रै हेरेर हुँदैन । समग्र बीपीको हित हुने गरी काम गरून् । यहाँका चिकित्सक तथा प्रशासनिक क्षेत्रमा रहेका अधिकारीहरूले पनि समग्र संस्थाको हितमा काम गरून् । अहिलेको आवश्यकता हो त्यो । यही आवश्यकतालाई मनन् गरेर सबै अगाडि बढून् ।