बर्सेनि महामारीको रूपमा केही न केही नाम गरेका सङ्क्रमणहरूले सताउँदै गर्न थालेको छ । परारसाल र पोहोरसम्ममा कोभिडले धेरैको ज्यान लियो, अर्बौंको खर्च गरायो । तर, आउने सम्भावित सङ्क्रमणलाई नियन्त्रण गर्न न त तीनै तहको सरकारको ध्यान गयो, न नेपाली जनता नै त्यसतर्फ सचेत भए । २०७६ सालमा फैलिएको डेङ्गीले विभिन्न जिल्लाका गरी ६ जनाको ज्यान लिएको थियो र २०७७ र ०७८  सालमा कोभिडका कारण धेरैको ज्यान गयो । ०७९ सालमा डेङ्गी फेरि जनताको काल बनेर आइरहेको छ । आजको दिनसम्म आइपुग्दा डेङ्गीले सङ्क्रमित हुनेहरूको सङ्ख्या ०७६ को भन्दा ५ हजार बढी अर्थात् २२ हजार पुगिसकेको छ । प्रदेश १ मा मात्रै ५ सय ९१ सङ्क्रमित भइसकेका छन् । तर, अहिलेसम्म कहीँ कतैबाट यसको रोकथाम र नियन्त्रणका लागि पहल भएको छैन ।

एकपल्ट पल्केको काल फेरिफेरि पनि पल्किन सक्छ भन्ने कुरालाई हामी धेरैले ध्यान दिन सकेका छैनौं । ०७६ को डेङ्गी नियन्त्रण गर्न केन्द्रदेखि स्थानीय सरकार चलायनमा भएको थियो । स्थानीय सरकारको पहलमा वडा सरकारहरू परिचालित भएपछि घर–घरमा डेङ्गीविरुद्धको सचेतना अभियान सञ्चालन मात्रै भएन, लामखुट्टेको बासस्थान खोजी खोजी मट्टितेल र धुवाँ छर्ने काम भएको थियो । घर, आँगन, गल्लीहरूमा खुल्ला रूपमा राखिएका पानीका भाँडा, ट्याङ्कीहरूलाई छोप्न अनुरोध गरियो र डेङ्गी नियन्त्रणले सार्थकता पाएको थियो । यो पटक पनि विगत झैं अभियान सञ्चालन गर्ने बेला आइसकेको छ, मच्छड त हो नि भनेर नहेपौं, बरु टोल–टोलमा गठन भएका टोल विकास संस्थाहरू सक्रिय भई आफ्ना टोलबासीहरूको साथ लिई मच्छडको बासस्थान नष्ट गर्न र लार्भा पार्ने पानीलाई मट्टितेल वा कीटनाशक औषधि छर्कन अब ढिला नगरौं । यसका लागि नगर, गाउँ र वडा सरकारले पनि आफ्ना टोल विकास संस्थाहरूलाई यथाशीघ्र परिचालन गर्ने अग्रसरता देखाऔं ।

जुनसुकै तहको सरकार भए पनि त्यो सरकारको दायित्व नागरिकको स्वास्थ्यको ख्याल राख्नु पनि हो भन्ने कुरा बुझ्न जरुरी छ । बेलैमा सचेतना कार्यक्रम टोल–टोलमा सञ्चालन गरौं र यो वर्ष मात्रै हैन, आउने वर्षहरूमा पनि के गर्दा मच्छड नियन्त्रण हुन्छ भन्ने कुरामा नगर र गाउँवासीहरूलाई अभिमुखीकरण गरौं । सम्बन्धित स्थानीय सरकारले आफ्नो क्षेत्रमा रहेका पोखरी, पानी जम्नेलगायतका मच्छडले लार्भा पार्ने सम्भावित स्थानहरूमा कीटनाशक वा मट्टितेल छर्किेने अभियान सुरु गरौं र डेङ्गीलगायत भविष्यमा मच्छडबाट निम्तिने अन्य खतराहरूलाई टार्न आजैबाट अभियान सुरु गरौं ।