नेपालीहरूका चाडपर्व नजिकिँंदै गए पनि पहिलेको तुलनामा बजारको चहल–पहल उल्लेखनीय रुपमा बढेको देखिँंदैन । देशमा पछिल्लो समय बढेको आर्थिक मन्दीले पनि यस पटकका चाडपर्वलाई असर गर्ने देखिन्छ । तर, नेपाली बजारमा चहल–पहल बढ्न नसके पनि चाडपर्वका लागि किनमेल गर्न नेपाली उपभोक्ताहरू सीमाक्षेत्रका भारतीय बजारमा भने भीड लाग्न थालेको छ । सीमानजिकैका अधिकांश नेपालीहरूको किनमेल गर्ने स्थल त जहिले पनि भारतीय बजार नै हो । तर, चाडपर्वका बेला सीमाबाट निकै टाढा रहेका नेपालीहरूसमेत नेपाली बजार छाडेर किनमेल गर्न भारतीय बजार पुग्ने गर्छन् । नजिकैको नेपाली बजार सुनसान हुँदा सीमावर्ती भारतीय बजारमा नेपाली उपभोक्ताको भीड लाग्नुको कारण के हो ? स्थानीयदेखि सङ्घीय सरकारसम्मले चिन्तन गर्नु आवश्यक छ । किनभने त्यसै पनि हरेक वर्ष नेपाली उत्पादनको निर्यात घट्दो र आयात बढ्दो छ । कतिपय भन्सार कार्यालयको तथ्याङ्कमा निर्यात शून्य देखिएको अवस्था छ । यसले दैनिक उपभोग्य वस्तुमा हामी परनिर्भर भइरहेको प्रष्ट पार्छ । एकातिर नेपाललाई कृषिप्रधान देश भनेर नेताहरूले भाषण गरिरहने र अर्कातिर बर्सेनि धान, चामल, गहुँ, मकै जस्ता खाद्यान्न आयात बढिरहने लज्जापूर्ण अवस्था छ ।

कृषिप्रधान देश भनिए पनि देशका वास्तविक कृषकलाई राज्यले प्रोत्साहन गर्न सकेको छैन । वास्तविक किसान आफ्ना उत्पादनले बजार नपाएर, चुर्लुम्म ऋणमा डुबेर वैदेशिक रोजगारीको खोजीमा खाडीतर्फ लागिरहँदा किसानका नाममा राज्यले छुट्याएका अनुदान नेता र कर्मचारीसँग सेटिङ मिलाउने दलका कार्यकर्ताले पाइरहेका छन् । नक्कली कृषकले अनुदान कुम्ल्याएर मोजमस्ती गरिरहँदा सक्कली कृषक आँशु चुहाउँदै पसिना बगाउन परदेशिनु परेको छ । यस्तो अवस्थामा देश कसरी खाद्यान्नमा आत्मनिर्भर बन्न सक्छ ? नीति निर्माण तहमा बसेकाले सोच्नु पर्दैन ? तर, उनीहरूलाई यतातिर ध्यान छैन, किनभने उनीहरूमध्ये धेरैजसो आफै यस्तो धन्दामा संलग्न छन् । इमान्दारिता देखाउने थोरै नेता र कर्मचारी अल्पमतमा छन् । उनीहरूका कुरा कतै सुनिंदैन । अनि निर्यात कसरी बढोस् ?

सरकारको गलत नीतिका कारण पनि नेपालीहरूले आफ्नो पाखो बारीमा दुःख गर्नुभन्दा खाडीको चर्को घाममा पसिना बगाउनु उचित ठान्न थालेका छन् । गाउँमा बारी बाँझै राखेर परदेशिने क्रम दैनिक बढ्दो छ । अनि हामी धनियाँ, लसुन, प्याज जस्ता मसलासम्म भारत र विभिन्न देशबाट आयात गर्न बाध्य छौं । सबैकुरा बाहिरैबाट आयात गरिने भएपछि उपभोक्ताहरू आफै उतै गएर किन्नु कुन ठूलो कुरा हो र १ तर, समस्या त्यतिमात्र होइन, व्यापारीहरूका भनाइमा राज्यले स्वदेशी उत्पादनमा लगाएको कर नीति नै गलत छ । उपभोक्ताहरू चाडपर्वका समयमा भारतीय बजारतिर आकर्षित हुनुको प्रमुख कारण सरकारको कर नीति पनि रहेको व्यापारी व्यवसायीहरूको भनाइ छ । भारतमा नेपालभन्दा सस्तो दाममा सामान पाइने लोभले सीमावर्ती भारतीय बजारमा पुग्ने नेपालीहरू उल्टै ठगिने गरेका छन् । भारतीय व्यापारीहरूले सामान किनेर नेपाली रुपैयाँ बुझाउनेहरूलाई अतिरिक्त पैसासमेत असुल्ने गरेको उपभोक्ताहरूको अनुभव छ । उनीहरूले नेपाली रुपैयाँलाई भारतीय रुपैयाँमा रूपान्तरण गर्दा सटही गरेको छुट्टै पैसा लिने गरेका छन् । त्यतिमात्र होइन, उपभोक्ताले गुणस्तरहीन र मिसावटयुक्त सामान पाएर ठगिने गरेको गुनासो आउने गरेको छ । तर, पनि सचेतना नहुँदा उपभोक्ताहरूको सीमावर्ती बजारमा भीड लागिरहेको छ । आर्थिक मन्दीमा रुमल्लिइरहेको नेपाललाई झन् धरासायी बनाउने कारण यस्तै यस्तै त हुन् । त्यसर्थ राज्यले किसानदेखि व्यापारी व्यवसायीहरूसम्म अनि समग्र देशकै हित हुने गरी नीति निर्माण गर्नु आवश्यक छ । नीति निर्माण तहमै रहेकाहरू इमान्दार हुन नसक्दा देशले भोग्नुपरेको आर्थिक सङ्कट झन् बढ्दै जाने निश्चित छ ।