धरान । धरानमा ‘इतर कविता’ माथि शनिबार विमर्श गरिएको छ । टिप्पणीकारहरूले विमर्शका क्रममा इतर कविता भनिए पनि अहिलेको मूलधारको कविता रहेको बताए ।

प्रा.डा. टङ्कप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र धरान, महेन्द्र क्याम्पसको नेपाली विभागले आयोजना गरेको विमर्शमा इतर कविता राज्यसत्ताबाट हेपिएका, पिल्सिएकाहरूको आवाज भनिए पनि अहिलेको सन्दर्भमा यो नै मूलधारको कविता रहेको टिप्पणीकारले बताए । ‘अहिलेको कविताको मूलधार नै यही हो’ टिप्पणीकार डा. दीपक न्यौपानेले भने, ‘यो उत्तरआधुनिकतावादको देन हो ।’ इतरको अर्थ राज्यसत्ताबाट बाहिर पारिएकाहरू भन्ने लाग्दछ । तर, अहिले पहिचानवादी आन्दोलन चलिरहेको सन्दर्भमा भने यही नै मूलधारको रूपमा आइरहेको छ ।

पराजित पोमुले सम्पादन गरेको इतर कवितामा १२ भाषाका ३ सय ५० जति कविता छन् । प्रा.डा. टङ्कप्रसाद न्यौपानेले नेपालमा बोलिने सबै भाषालाई नेपालेली भाषाको संज्ञा दिएका छन् । विगतदेखि नै नेपालमा बोलिने सबै भाषा तथा भाषिकाहरूलाई नेपालेली भनेर अभियान चलाइरहेका छन् । उनी भन्छन्, ‘नेपालमा भएका जातिहरूको भाषा नेपालेली भाषा हो । यहाँ भएको एउटा भाषालाई नेपाली भाषा भनेर चिनियो । मन परेर पनि चिनियो, मन नपरेर पनि चिनियो । खस भाषा र नेपाली भाषा एकै होइनन् ।’ उनले नेपालमा बोलिने लिम्बू, तामाङ, गुरुङ, याक्खा, मैथिली, थारूलगायतका भाषा नेपाली नै रहेको बताए । ‘लिम्बू, याक्खा, मैथिली अन्य देशका ओरिजिन हुन् र नेपालकै ओरिजिन हुन्’ उनले भने, ‘समान हैसियतको कुरा छ भने नेपालेली भनौँ । भाषाको सम्मान पनि भयो ।’

टिप्पणीकार डा. न्यौपानेले पनि नेपालेली भन्दा अन्यथा नलाग्ने प्रतिक्रिया दिए । उनले इतर कविता सङ्ग्रहमा प्रकाशित कविताहरूले उत्तरआधुनिक चेतनाबाट प्रतिबिम्बित गर्ने काम गरेको बताए । प्रमुख टिप्पणीकार कवि बम देवानले सङ्ग्रहको आवरणले नै सामाजिक र भौतिक रूपमा समानता हुनुपर्ने आवाज उठाएको बताए । ‘किताबको गेटअपले नै समानता र समावेशितालाई उठाएको छ । किताब समातेको छ । कलमले तीर हानेको देखिएको छ । यो समानताको आवाज नै हो’–उनले भने । कवितामा आफ्ना मिथक, पहिचान र सभ्यताका कुराहरू आएको उनले बताए ।

अर्का टिप्पणीकार उप–प्राध्यापक राजेश विद्रोहीले सह–अस्तित्व र पहिचानको आन्दोलन विश्वभरि नै चलिरहेको सन्दर्भमा इतर कविताले पनि त्यसलाई अगुवाइ गरेको बताए । ‘नेपाली साहित्यमा विकसित भएको पहिचानवादी आन्दोलन इतर कविताको प्रमुख आन्दोलनको रूपमा आएको छ’ उनले भने, ‘जुनसुकै समाजमा वर्चश्व समुदायले आफ्नो संस्कार, भाषालाई नै प्रमुखता दिन्छ । अन्य भाषा र संस्कृतिलाई दमन गर्छ । यो जुनसुकै देशमा पनि हुन्छ ।’

उनले सत्ताको आडमा दमनमा परेका आवाजलाई इतर आवाजको रूपमा नेपालमा ५० को दशकबाट सुरु भएको बताए । त्यही अभियान अनुरूप अहिले विश्वको जहाँ जहाँ नेपालीहरू पुगेका छन्, त्यहीँबाट पहिचानको आवाजलाई बुलन्द बनाउने क्रममा यो इतर कविता सङ्ग्रह आएको बताए । उप–प्राध्यापक डा. सुभाषचन्द्र न्यौपानेले सञ्चालन गरेको कार्यक्रमको सभापतित्व डा. रमेश घिमिरेले गरेका थिए । कार्यक्रममा प्रा.डा. गोविन्द तुम्बाहाङ, प्रा.डा. गोपाल भण्डारीलगायतको उपस्थिति रहेको थियो ।