धरान । धरान–१६ मा सम्पन्न पेटसम्बन्धी निःशुल्क शिविरमा एक सय ३० जना बिरामी लाभान्वित भएका छन् ।

सटी मन्टेश्वरी परिसरमा शनिबार भएको शिविरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका असिस्टेन्ट प्रोफेसर डा. सन्दीपराज बज्राचार्यले जाँच गरेका थिए । शिविरमा पेट, ग्यास्ट्रिक, प्याङ्क्रियाज, ठूलो आन्द्रा, पेटको क्यान्सर, दिसाबाट रगत जानेसम्बन्धी रोगको जाँच गरिएको आयोजक नेवार एकता समाज धरान–१६ ले जनाएको छ । शिविरमा उच्च रक्तचाप, मधुमेह (सुगर) को पनि जाँच गरिएको थियो भने बिरामीहरूलाई आवश्यकताअनुसारको औषधिसमेत वितरण गरिएको नेवा पत्रकार राष्ट्रिय दबू सुनसरीका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए ।

डा. बज्राचार्यका अनुसार शिविर भनेपछि सबै खालका बिरामी आउने गरेको प्रवृत्ति पाइए पनि यहाँ चाहिँ पेटकै बिरामीहरू धेरै आएका थिए । उनले अस्पतालसम्मको पहुँच नपुगेका बिरामीहरूलाई गाउँघरमै सेवा गर्न पाउँदा खुसी लागेको बताए । उनले आफू धरानबासी नै भएको र धरानबासीलाई सेवा दिन पाउँदा खुसी लागेको बताए ।

उनले आफू सामाजिक सेवामा सक्रिय भई बिरामीलाई गाउँघरमै सेवा दिन इच्छुक रहेको पनि बताए । कार्यक्रमको उद्घाटन धरान–१६ का अध्यक्ष मुरारी भट्टराईले गरेका थिए । उनले धरान –१६ का बासिन्दालाई चिकित्सकीय सेवा लिनका लागि आग्रह गरे ।

यस्तै नेवार एकता समाजका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले समाजले नेवार समुदायका लागि मात्रै नभई सबै जातजातिहरूलाई सेवा दिने उद्देश्यले शिविर राखिएको बताए । उनले सामाजिक सद्भाव र एकता कायम गर्नका लागि समाज सदैव लागिरहने बताए । समाजकी १६ नम्बर अध्यक्ष सुशीला श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।