पार्टीभित्र घात-अन्तरघात र छुरा चलाउने प्रवृत्तिले पार्टी निर्माण नहुने नेकपा एमालेकी केन्द्रीय सदस्य तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले बताएकी छन् । 

नेकपा एमाले सुनसरीको आठौं जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री चौधरीले सुनसरीका १२ वटै स्थानीय तहमा नेकपा एमालेको जित सुनिश्चित गर्न सर्वसम्मत नेतृत्व चयन गर्न शुभकामना दिइन् । उनले निर्वाचन पनि लोकतान्त्रिक विधि पद्धति भएकाले निर्वाचनपछि चयन हुने नेतृत्त्व र आकाङ्क्षीबीच कुनै तुष हुन नहुने बताइन् ।

आन्तरिक प्रतिस्पर्धामार्फत् पार्टी बलियो बन्ने मनोविज्ञान नेता कार्यकर्तामा विकास हुनुपर्ने मन्त्री चौधरीले बताइन् । नेकपा एमालेले झुलाघाट- चिवाभन्ज्याङ सङ्कल्प यात्रा, मिसन ग्रास रुट हुँदै मिसन-८४ अभियान सञ्चालन गरेकाले सबै नेता कार्यकर्ता पार्टी अभियानमा दृढतापूर्वक लाग्नुपर्ने बताइन् ।

मन्त्री चौधरीले सुनसरी जिल्लाले पार्टी निर्माणमा देशभरि सकारात्मक सन्देश दिनु पर्ने बताइन् । 

शनिबार इटहरीस्थित लायन्स क्लब परिसरमा भएको उद्घाटन सत्रको समुद्घाटन नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले गरेका छन् । अधिवेशनमा कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कार्की, पूर्व मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्यहरु भीम आचार्य, शेरधन राई, केन्द्रीय सदस्यहरु जगदीश कुसियत, लक्ष्मी गौतम, मन्जु भण्डारीलगायत प्रदेश सभा सदस्य, जनप्रतिनिधिहरुको सहभागिता रहेको छ । 

सुनसरी जिल्लाका १२ स्थानीय तहबाट एमाले सुनसरीको अधिवेशनका लागि ६ सय ७५ प्रतिनिधि चयन गरेको छ । आज जेठ ५ गते उद्घाटन सत्रको कार्यक्रम रहेको अधिवेशन आगामी ६ र ७ गतेसम्म चल्ने छ । अधिवेशनले पदाधिकारीसहित १ सय २५ जनाको कार्यसमिति चयन गर्ने छ । आजै ४ बजेपछि बन्दसत्रको कार्यक्रम सुरु हुनेछ एमाले सुनसरी सचिव पर्शुराम यादवले जानकारी दिए ।