नेकपा एमालेभित्र गुटउपगुट सिर्जना हुनमा पार्टी नेतृत्व नै जिम्मेवार रहेको नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।

नेकपा एमाले सुनसरीको आठौं जिल्ला अधिवेशनको शनिबार इटहरीमा जारी उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै एमाले नेता राईले पार्टीको मूल मर्म जनताको बहुदलीय जनवाद नबुझ्दा, नमान्दा, मर्मको आत्मसात नगर्दा मान्छेहरुमा अल्मल हुने कता हो क्याको भन्ने अन्योलता सिर्जना भएको बताए । 

'वैचारिक चुरो र मूलधार बोकेर हिड्ने मुख्य कुरा हो, पार्टीले तय गरेका लक्ष्यलाई बोकेर आत्मसमीक्षा गर्दै पार्टीलाई एकढिक्का बनाउन आवश्यक छ,' नेता राईले भने,'पार्टीभित्र हामी आफैंले गर्दा गुटउपगुट सिर्जना भए हामी मम गर्दैनौं ।'

नेकपा एमालेको असाध्यै बलियो नेतृत्व रहेको र सही नीति र नेतृत्व भएका कारण नै आम जनतामा पार्टी लोकप्रिय भएको बताए । 

'केन्द्रीय नेता रेफ्री हुन् खेलाडी होइनन्'

एमाले सुनसरीको जिल्ला अधिवेशनलाई गुटउपगुटभन्दा पर राखेर आफ्नो हैसियत अनुसार पार्टी नेताले भूमिका निर्वाह गर्नुपर्ने नेता राईले बताए । 

'रेफ्रीमा रुपमा हामी रहने छौं, खेलाडीका रुपमा होइन आफ्नो मर्यादामा रहेर सर्वसम्मतको सहमतिको प्रयास र पहल गर्ने छौं,' नेता राईले भने, 'सहमतिको वातावरण मिलाउँछौ, भएन भने स्वस्थ ढ्ङ्गले गुटबन्दी र प्यानल खडा नगरी लोकतान्त्रिक विधिबाट अगाडि बढ्छौं।' 

कम्युनिष्ट पार्टी कार्यकर्ताको विवेकले टिकेको पार्टी हो भन्दै नेता राईले कसैको प्रभाव र दवावमा नपरी आजको चुनौती सामना गर्न, मिसन ८४ को लक्ष्य पूरा गर्न छलफल र अन्य जिम्मेवार भूमिका निर्वाह गर्न सक्ने भन्ने अपेक्षा लिए ।

नेता राईले पार्टी केन्द्रले आफूलाई पठाएर सुनसरी जिल्ला इन्चार्जका रुपमा आएको बताए । उनले आफू कार्यक्षेत्र मागेर नआएको स्पष्ट पारे ।

'म आफू सुनसरी कार्यक्षेत्र मागेर आएको होइन, यहाँ वाइह्यात कुरा सुनिरहेको छु । यहाँका अन्तरविरोधको हल गर्ने प्रयास गरिरहेको छु । पार्टीको मूल निर्णय र निर्देशनलाई मैले सहजीकरण गर्ने हैसियतमा आएको हुँ,' नेता राईले भने, 'यो अधिवेशनलाई प्रभावित गर्ने होइन, सुनेका हल्ला पार्टी र व्यक्तिका लागि नै प्रत्युत्पादक हुने छ ।' 

नेता राईले पार्टीको मूलधार बुझेको पार्टीलाई नीति र विधिमा हिडाउने, हावाहुरीमा तौलातौल हुन नसक्ने नेतृत्व सुनसरीमा आवश्यक रहेको बताए ।