विजयपुर । नेपालको सर्वाधिक धावकधाविका सहभागी हुने धरान १० के रन, नेवा च्यारिटी २०७९ को एघारौँ संस्करणमा ‘चिप टाइमिङ सिस्टम’ प्रयोग गरिने भएको छ ।

धरान रन समूहका अध्यक्ष रमु राईका अनुसार प्रतियोगितामा समयको व्यवस्थापनका लागि ‘चिप टाइमिङ सिस्टम’ प्रयोगमा ल्याइने भएको हो । धरान रन समूहले पत्रकार सम्मेलन गर्दै आगामी फागुन १३ गते हुने प्रतियोगिताको ११ औं संस्करणमा ‘चिप टाइमिङ सिस्टम’ प्रयोग गरिने जानकारी दिएको छ ।

धरान रन समूहका अध्यक्ष रमु राईले धावकधाविकाको समय व्यवस्थापनका लागि ‘चिप टाइमिङ सिस्टम’ प्रयोग गर्न लागिएको बताए । ‘चिप टाइमिङ सिस्टम’ धावकधाविकाको ‘बिब्स् चेष्ट नम्बर’ मा लगाइनेछ । सिस्टमले समय निश्चित गर्ने अध्यक्ष राईले बताए । उनले भने, ‘विगतमा आधाबाट दौडने, पूरा नदौडी आउने गरेको पनि पाइयो । ‘चिप टाइमिङ सिस्टम’ ले त्यसलाई व्यवस्थापन गर्नेछ ।’

प्रतियोगितामा सहभागी हुनका लागि यस वर्षदेखि अनलाइन फाराम भर्नु पर्नेछ । अनलाइन फाराम शुक्रबारदेखि खुल्ला गरिएको छ । अण्डर १३ का लागि आवेदन शुल्क ३ सय रुपैयाँ लाग्नेछ भने अन्यलाई ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।

अध्यक्ष राईका अनुसार प्रतियोगितामा १६ वर्षदेखि ३९ वर्षभित्रका खुल्ला दौडतर्फ महिला र पुरुष समूहका प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ६०, ४० र ३० हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै १३ वर्षमुनिका प्रथम, द्वितीय र तृतीय हुने पुरुष तथा महिला धावकधाविकाले क्रमशः ७, ५ र ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

१३ देखि १६ वर्ष समूहका प्रथम, द्वितीय र तृतीय हुने धावकधाविकाले क्रमशः ७, ६ र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ४० वर्षमाथि भेट्रान दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ७, ५ र ३ हजार नै प्राप्त गर्ने आयोजकले जनाएको छ । स्थानीय धावकधाविकालाई पनि प्रोत्साहन स्वरूप आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी सबैलाई टिसर्ट दिइनेछ ।