नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोख्रेलले अबको नेकपा एमाले जनताको जीवनसँग गासिएको हुनुपर्ने बताएका छन् । 

वरिष्ठ उपाध्यक्ष पोख्रेलले अबको एमाले इतिहासका गौरवगाथा गाएर बाँच्न नसक्ने बताए । उनले जनताका सरोकार र वर्तमानको जीवन परिवर्तनमा ल्याउन एमालेले भूमिका खेल्नुपर्ने बताए । 

नेकपा एमाले सुनसरीको आठौं जिल्ला अधिवेशनको शनिबार इटहरीमा उद्घाटन सत्रको उद्घाटनपछि शुभकामना मन्तव्य व्यक्त गर्दै नेता पोख्रेलले एमाले जनतामा जानुपर्ने बताए ।

'दीनहीन जनताका मुद्दा एमालेले बोक्नु पर्छ, आगामी दिनको कामको योजना, भ्रष्टाचार विरुद्ध, सामाजिक अपराधविरुद्ध अनियमितताविरुद्ध एमालेले आवाज उठाउनुपर्छ,' नेता पोख्रेलले भने, 'पार्टी कमिटीले विकास निर्माणको योजना बनाउनु पर्छ, जसले जनाताको जीवन परिवर्तन गर्न सक्दैन मिसन ८४ पूरा हुन सक्दैन ।' 

'सर्वसम्मत लोकतान्त्रिक विधि नै हो'

जिल्ला अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न जोड दिंदै नेता पोख्रेलले  चुनावमात्र लोकतान्त्रिक विधि होइन तर आकाङ्क्षीलाई प्रतिस्पर्धा गर्ने छुट रहेको बताए । 

'अध्यक्ष बनाउनु भनेको राजा बनाउनु होइन, ३ वर्षकालागी हो, पालो आउँछ,' नेता पोख्रेलले भने, 'एमालेभित्र प्रतिस्पर्धा गर्न ताउरमाउर गर्ने तर नतिजालाई स्वीकार गर्ने र प्राप्त गरेको परिणाम पछि नाकनाकनिकनिक नगर्नुस । प्रतिस्पर्धा रौसेर गर्ने तर प्रतिस्पर्धाको परिणाम नस्वीकर्ने कहींकहीं पार्टीभित्र रोग छ ।' 

 नेता पोख्रेलले नेतृत्व नपाउने साथीको जिम्मा लिनआफू तयार भएको बताए । उनले पद नपाउनेको बिल्लिबाठ नहुने उद्घोष गरे । 

'सर्वसम्मतले आउने चुनौतीको सहज सामना गर्न सकिन्छ, पार्टीको नीति नेतृत्वमा विवाद छैन भने तलका कुरा सल्लाह गरेर मिलाए हुन्छ,' नेता पोख्रेलले भने, 'केन्द्रका मान्छे खेलाडी बन्न आएका होइनौं, खेलाडीले कुइनो र छिर्के लाए पनि बात लाग्दैन, रेफ्रीले त्यसो गर्न पाउँदैन । हामी नीतिगत कुरा राख्छौं । फैसला गर्ने अधिकार प्रतिनिधिहरुको हो । सुनसरीमा एमाले बचाउने र जिताउने तपाइँहरु हो । नेताहरुले आँखा झिम्क्याउँदैनन् नेतृत्व तपाईंहरु चयन गर्नुस् ।' 

मिसन-८४ बारे बोल्दै नेता पोख्रेलले एमालेसित भविष्य बनाउने मार्गचित्र रहेको बताए । उनले एमालेसँग ठोस कार्यक्रम रहेको बताए । सुनसरीको एमाले अधिवेशन मिसन-८४ सँग गासिएकाले पार्टी एकतालाई जोड दिए ।

एमालेभित्र '३ अ' का समस्या रहेको बताए । एमाले हार्नुका समस्या बारे बताउदै उनले असमझदारी, असहयोग र अन्तर्घात भएको बताए । पार्टीभित्रै आफ्ना उम्मेदवारलाई कमजोर बनाउने प्रयास भएको बताए । उनले यी तीनै समस्यालाई केलाउनुपर्ने बताए । 

नेता पोख्रेलले '३ अ' का समस्यामा असमझदारी भए सम्झाउने बुझाउने, असहयोग गर्नेलाई आत्मालोचना गराउने र अन्तर्घात गर्नेलाई कारबाही गर्ने पार्टीको नीति रहेको बताए ।