223

विजयपुर । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईको बलमिच्याइँले उनका समर्थक र धरान–२० विष्णुपादुकाका स्थानीयबीच झडप भएको छ ।

शनिबार नगर प्रमुख राई सुरक्षाकर्मीसहित आफ्ना समर्थकको भीड लिएर धरान–२० स्थित ज्यामिरे पुगेका थिए । उनले ज्यामिरेबासीको मागलाई बेवास्ता गरी आफ्ना समर्थकको भीड लिएर आन्दोलन गर्न जानु बलमिच्याइँ भएको बुद्धिजीवीहरूले बताएका छन् ।

धरान–२० का पूर्व अध्यक्ष मणिराम राईले स्थानीयको मागलाई बेवास्ता गरी बलमिच्याइँ गर्दा द्वन्द्वको परिस्थिति बनेको बताए । उनले भने, ‘पानीको विषयमा सम्झाउँदा सामान्यरूपमा लिनुभयो । भञ्ज्याङमा नै लिखित सम्झौता गर्न अनुरोध गरेका थियौँ । मेयरले नटेरेपश्चात् झडप हुन खोज्यो । मेयरलाई जनताले आक्रोस पोखे ।’ उनले नगर प्रमुख राईले विष्णुपादुकावासीलाई हेपेकाले सङ्घर्ष गर्न बाध्य भएको बताए । उनले भने, ‘मेयरसँग कुरा गर्छौं, श्रमदातालाई तपाईंहरू नबोल्नुहोस् भन्दा आक्रोसित बनेकाले द्वन्द्व भयो’ उनले थपे, ‘सावधानी नअपनाएको भए मेयरलाई नै पनि हातपात हुने सम्भावना थियो ।’

समन्वय तथा सहमतिका लागि विष्णुपादुकावासीले अनुरोध गरिरहँदा नगर प्रमुख राईले समूह नै लिएर गई द्वन्द्व उत्पन्न गराउनुलाई बलमिच्याइँ गरेको बुद्धिजीवीहरूले बताएका छन् । बुद्धिजीवी डा. राजेन्द्र शर्माले भने, ‘खानेपानी सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड तथा नेपालको प्रचलित ऐनअनुसार स्रोतको सबैभन्दा नजिकका मानिसको हक हुन्छ ।’

उनले नगरप्रमुख राईले खानेपानी अधिकार उल्लङ्घन गरेको बताउँदै भने, ‘विद्यमान कानून, अन्तर्राष्ट्रिय प्रचलन र नागरिकको हक उल्लङ्घन हो । मेयर सा’पले भीड लिएर हमला गर्नु हुँदैनथ्योे । त्यो गलत भएको छ ।’ शनिबार दुई पक्षको झडपमा एक जना सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी मानप्रसाद राईले जानकारी दिए ।

धरान–२० विष्णुपादुकावासीले धरान नगर प्रमुख राईलाई यसअघि खानेपानी निर्माणस्थलमा नै पुगेर समन्वय गरेर मात्र खानेपानीको पाइप बिछ्याउन अनुरोध गरेका थिए । त्यसपश्चात् जेठ २ गते धरान उपमहानगरपालिकामै आएर लिखित माग गरेका थिए । प्राकृतिक स्रोत साधन संरक्षण समितिका अध्यक्ष पदम लिम्बू र सचिव जीवन राईले ध्यानाकर्षण पत्र बुझाउँदै २० नम्बरवडावासीको पनि खानेपानी समस्या समाधान गर्न माग गरेका थिए । उनीहरूले धरान–२० का स्थानीयले कोकाहाको खानेपानी सहमति नभई पाइप नबिछ्याउन माग गरेका थिए ।

शुक्रबार प्राकृतिक स्रोत साधन संरक्षण समितिसँगको सामान्य विवादमा नगर प्रमुख राईका समर्थकद्वारा धरानवासीको चरित्रहत्या गर्ने गरी सामाजिक सञ्जालमा प्रचार गरिएको थियो । त्यसपश्चात् प्राकृतिक स्रोत साधन संरक्षण समिति अध्यक्ष पदम लिम्बू र सचिव जीवन राईले विज्ञप्ति नै जारी गरी सामाजिक सञ्जाललगायतको कुरा अवगत गराउँदै माफी माग्न अनुरोध गरेका थिए ।

विज्ञप्तिमा ‘स्थानीय जनतालाई पाखे, गाउँले आदि शब्दबाट निरीह बनाएको र सामाजिक सद्भाव भड्काउने, विभिन्न जातजाति मिलेर बसेको समुदायमाथि साम्प्रदायिक दङ्गा भड्काउनेजस्ता अनैतिक क्रियाकलाप भएको तथा हाल सरोकारवालासँग समन्वय र सम्झौता नै नगरी आफूखुसी श्रमदान गरी पाइप लाइन जडान गरेको’ उल्लेख गरिएको थियो । स्थानीयले कोकाहा–२ परियोजनाका नाममा भएका सम्पूर्ण कार्यहरू स्थगित गर्न माग गरेका थिए । उक्त मागलाई बेवास्ता गर्दै समन्वय र सहमति नै नगरी शनिबार भीड लिएर नगर प्रमुख राई धरान–२० स्थित ज्यामिरे पुगेका थिए । समन्वय नगरी त्यहाँ जाँदा झडप भएको थियो ।

माफीपश्चात् लिखित सहमति
झडपपश्चात् उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले धरान–२० विष्णुपादुकावासीसँग माफी मागेपश्चात् लिखित सहमति भएको छ ।

शनिबार कोकाहामा पाइप बिछ्याउने क्रममा स्थानीयवासी र नगर प्रमुख राईका समर्थकबीच झडपको स्थिति बनेको थियो । त्यसपश्चात् लिखितरुपमा सहमति गरिएको छ । स्थानीयको मागअनुसार स्वारा क्षेत्रमा खानेपानी व्यवस्थापन गर्न कोकाहाबाट पम्पमार्फत् लिफ्ट गरेर रिजर्भ ट्याङ्कीसम्म पानी पुर्याउने लिखित सहमति भएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा वडा २० लाई प्राथमिकतामा राखेर ५ करोड बजेट विनियोजनको लागि पहल गर्ने पनि सहमति भएको छ । नगर प्रमुख राईले प्रतिबद्धता जनाएपश्चात् श्रमदान सुचारू गर्न स्थानीयले सहमति जनाएका हुन् । पूर्वअध्यक्षसमेत मणिराम राईले नगर प्रमुख राईले माफी मागेको बताए । उनले भने, ‘उहाँले घटनाको विषय र सामाजिक सञ्जालको विकृतिको विषयमा खेद प्रकट गर्नुभयो ।’ छलफलमा नगर प्रमुख राईले सामाजिक सञ्जालमा आफूले चरित्रहत्या नगरेको बताएका थिए । पूर्वअध्यक्ष राईले भने, ‘मैले होइन भन्नु भो । वास्तवमा उहाँले नै गरेको हो । उहाँको हेपाहा प्रवृत्ति हो ।’ सहमति पत्रमा नगर प्रमुख राई, धरान–२० का वडाध्यक्ष पदम लिम्बू, इलाका प्रहरी कार्यालय धरानका डिएसपी मानप्रसाद राईले हस्ताक्षर गरेका छन् ।

त्यस्तै स्थानीयवासीको तर्फबाट पूर्वअध्यक्ष मणिराम राई, वडासदस्य देवेन्द्र राई, स्थानीयवासी सम्फर तामाङ, विजय तामाङ, कर्ण तामाङ, रामबहादुर राई, रमा विकले हस्ताक्षर गरेका छन् । यस्तै नगर प्रमुख राईका समर्थक रामबहादुर राई, सुमन श्रेष्ठ, श्रीप्रसाद राई, नगर प्रहरी प्रमुख विष्णु कोइरालाले हस्ताक्षर गरेका छन् । नगर प्रमुख राईले सहमति कार्यान्वयन गर्ने बताएका थिए ।