नेकपा एमाले सुनसरीको आठौं जिल्ला अधिवेशन गुटरहित र सकेसम्म सर्वसम्मत नेतृत्व चयनको राग अलापी रहेका नेताबीचमै मञ्चमा 'वाक युद्ध' को सङ्केत देखिएको छ ।

नेकपा एमाले सुनसरीको आठौं जिल्ला अधिवेशनको शनिबार इटहरीमा जारी उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै स्थायी कमिटी सदस्य शेरधन राईले गुट निर्माण नगर्न र सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिए । उनले नेताहरुलाई 'रेफ्री' को भूमिकामा बस्न र हैसियतभन्दा तल झरेर अनावश्यक चलखेल नगर्न निर्देशन दिए । उनले साझा समझदारी र सर्वसम्मत नेतृत्व चयन गर्न नसक्ने अवस्थामा मात्रै लोकतान्त्रिक विधिबाट निर्वाचन हुनुपर्ने बताए । 

लगत्तै मञ्चमा आमन्त्रण गरिएका एमालेका स्थायी कमिटी सदस्य तथा प्रतिनिधि सभा सांसद भीम आचार्यले सम्बोधनको सुरुमै 'पार्टीमा हड्डी खियाउने एउटा, अर्कोले निर्देशन दिन्छ ।' भन्दै अभिव्यक्ति दिए । 

नेता आचार्यले समेत सर्वसम्मत नेतृत्व चयनमा जोड दिए । यद्यपि उनले एउटै पार्टी, एउटै नेतृत्वमा गुटउपगुट नहुने जिकिर गरे । उनले 'पार्टीलाई राम्रो बनाउन म नेतृत्व गर्छु, मेरो आकाङ्क्षा छ' भन्नु गुटउपगुट नहुने बताए । 

नेता आचार्यले जिल्ला अधिवेशन सफलताको शुभकामना दिए ।