धरान नगरको विकास २०३८÷०३९ सालतिर सुरु भएको हो भन्ने स्व. भूपालमानसिंह कार्कीको भनाइ थियो । धरान नगरमा नगरपिता बनेका हर्कराज साम्पाङ राईलाई केही पत्रिकाहरूले ‘भूईं मान्छे’ पनि लेखे । कारण उनले धरानको जमिनलाई ढोग्दै गरेका तस्बिरहरू पनि फेसबुकमा देखाइएको थियो । नेपाली काङ्ग्रेसका किशोर राईले १६ हजार ५९ र एमालेकी मञ्जु भण्डारी सुवेदीले १२ हजार ८ सय २५ को विरुद्धमा २० हजार ८ सय २१ मत ल्याई धरान नगरको नगरपिताको कुर्र्सीमा आसिन हुन सफल भए । धरानलाई २००८ सालदेखिको लालकिल्ला ठान्ने एमाले र गठबन्धनले जित्छौं भन्ने काङ्गे्रसजस्ता ठूला र पुराना राजनीतिक दलहरूका उम्मेदवारलाई चमत्कारी ढङ्गले पराजित गर्न सफल विद्रोही स्वभावका मेयर हर्कराज साम्पाङ राईको एउटा सपना पूरा भएको छ ।

चुनावी प्रचार अभियान चलिरहँदा अरू दलका उम्मेदवारहरू अनेक कार्यकर्ता र दलबलका साथ घरदैलो गरिरहेका बेला उनी भने एउटा झोला र केही पम्प्लेट च्यापेर पम्प्लेट वितरण गर्दै तीनचक्के टेम्पो लिएर एक्लै चोक–चोकमा भोट माग्दै हिँडेका थिए । उनको पछाडि कार्यकर्ताको न झुण्ड नै थियो, न त कुनै भीड नै थियो । अब उनको काँधमा धराने जनताका समस्याहरू पूरा गर्ने जिम्मेदारी, दायित्व र भूमिकाको गह्रौं भारी आइपरेको छ । धरानका जनता धरानमा शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, लोकसंस्कृति, खानेपानीको विकराल समस्या, सुकुम्बासी समस्या, बसपार्क, सर्दु र सेउती, खहरेखोला करिडोर, विजयपुरको बृहत्तर विकास, हवाई मैदान, सडक मर्मत र निर्माण, बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सब्जी मण्डी, सर्दु उत्तरको बस्ती, भेडेटारको मलमूत्र आदि समस्याहरू र चुनौतीहरू सम्पन्न तथा समाधान भएको हेर्न चाहन्छन् ।

मेयर हर्क साम्पाङको जन्म २०३९ साल फागुन १५ गते खोटाङ जिल्लाको खार्ताम्छामा भएको हो । उनले एसएलसी ब्रुहुँडाँडा मा. वि. खोटाङबाट पास गरेका हुन् । २०५५ सालमा धरान आएर महेन्द्र कलेजमा अध्ययन सुरु गरे । महेन्द्र कलेजबाट बी.ए. पास गरेर केही वर्ष रोजगारका लागि मलेशिया पनि गए । हालमा उनी धरानका विभिन्न सामाजिक संस्थाहरूमा आबद्ध छन् । समाचार पत्रले लेखेअनुसार न त उनले कसैलाई मासुभात खुवाए, न त कसैका मोटरसाइकलमा पेट्रोल नै हालिदिए । आफै एक्लै घरदैलो गरेर हिँडे । यसरी एक्लो मानिसलाई धरानका जनताले किन जिताए ? भन्दा यो दलहरूप्रतिको वितृष्णा हो । जसरी पञ्चायती व्यवस्थालाई घृणा गर्दथे । अहिले दलहरूप्रति पनि उस्तै स्वभाव देखिएको छ । त्यसको उदाहरण हर्कराज र वालेन धनगढीका मेयर गोपाल हमाल हुन । यस्तै मानसिकता वृद्धि हँुदै गएमा आगामी प्रदेश र संसद्को चुनावमा पनि दलहरूप्रति घृणा पैदा हुनसक्छ । २००८ सालमा राजा त्रिभुवन पिण्डेश्वरमा आउँदा धरानका सङ्घर्षशील केही युवाले ‘दिल्ली सम्झौता धोका हो’ भनी नारा लगाउँदै कालोझण्डा देखाए । यो धरानको विरोधी स्वभाव हो । अब मेयर हर्कराज साम्पाङ सामु धरानका चुनौती र समस्याहरू तथा काम देखाउने अवसर बारे छोटकरीमा व्याख्या गर्दछु ।

(१) खानेपानीः हालमा धरानमा यो पहिलो समस्या हो । धरानको खानेपानीमा कुल खर्च ५०%  ए.डी.बी.२०%  खानेपानी मन्त्रालय ३०%  धरान उपमहानगरपालिकाले व्यहोर्ने भनिएको थियो । हालमा पटक–पटक थप गरी धरानको खानेपानीमा १ अर्ब ७५ करोड खर्च भइसकेको छ । तर, धरान काकाकुल सहर नै छ । यतिबेर आएर खानेपानी बोर्डले पत्रकार सम्मेलनमा भन्छ, ‘डिजाइनिङ’ मा नै गल्ती भयो । अब धरानको खानेपानीको विकल्प भनेको सप्तकोसी नै हो । यसमा नयाँ मेयरले धेरै तारतम्य मिलाएर काम गर्न सक्नुपर्छ । धरानको जनसङ्ख्या हाल करिब २ लाख छ । उपभोक्ताका धारा २८ हजार ५ सय छन् । राणा प्रधानमन्त्री जुद्धसमशेरद्वारा फुस्रेमा पानी ट्याङ्की निर्माण गरी १९९५ सालमा धरानमा पानी ल्याए ।

(२) बसपार्क: धरानमा भरखर बसपार्क निर्माण सुरु भएको छ । यो निर्माण पूरा भएपछि बसपार्कसम्म पुग्न यात्रुहरूलाई सास्ती नहोस् भन्नका लागि नगर बसको व्यवस्था गर्न जरूरी छ । 

(३) सर्दु, सेउती, खहरेखोला, करिडोरः धरानको पूर्वमा सेउती, पश्चिममा सर्दु, बीचमा खहरे खोलाले धेरै विध्वंस मचाएको छ । यी तीनैको रोकथाम योजनाबद्ध ढङ्गले गरिनु पर्छ ।
धरान भनेर चिनिने पहिला विजयपुर नै हो । धार्मिक पर्यटन विकासको लागि विजयपुरमा रहेका मठमन्दिरहरू, पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा, पञ्चकन्या साथै विष्णुपादुकालगायतका मन्दिरहरूको स्तरोन्नतिका साथै पञ्चकन्याको जङ्गलमा ‘जू’ को स्थापना भएमा धरानमा ठूलो पर्यटन विकास हुने थियो । त्यसैले नयाँ मेयरले यसलाई पनि योजनामा राख्नु पर्दछ ।

(५) धरानमा हवाई मैदानः धरान–१७ मा रहेको हवाई मैदानलाई फराकिलो बनाएर हवाई मैदान बनाएमा स्वदेशीका साथै विदेशी नागरिकको पनि आवत–जावत सजिलो हुन्छ । यसका साथै भेडेटार, विष्णुपादुका, चिण्डेडाँडाजस्ता क्षेत्रतर्फ केवलकार चलाउनसकेमा धरान पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्छ । यसको लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ ।

(६) जनजाति सङ्ग्रहालयः धरान हात्तीसारमा बन्दै गरेको जनजाति सङ्ग्रहालयको निर्माण कार्य चाँडो सम्पन्न गरी पर्यटकहरूलाई खुल्ला गरिनु पर्छ ।

(७) सडक मर्मतः भत्किएका सडकहरू मर्मत, साँघुरा सडकहरूको स्तरोन्नति, धुले सडकहरू पिच गर्नुपर्ने हुन्छ । यी कार्यहरूको लागि वडासमितिलाई जिम्मा दिएर कार्य गर्न जरुरी छ ।

(८) शिक्षाको विकासः हालै इटहरी उपमहानगरपालिकाका प्रमुखले सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ सुरु गर्ने योजना बनाई पेश गर्न विद्यालयका प्रधानाध्यापकहरूलाई भनेका छन् । धरानमा पनि त्यसै गर्न आवश्यक छ । सामुदायिक विद्यालयहरूको स्तरोन्नति गर्न गोष्ठी, सेमिनार, अध्यापन अभ्यास गर्न जरुरी छ । धरानमा हालमा ५५  माध्यमिक विद्यालयहरू र आधारभूत विद्यालय २१ अनि बोर्डिङ स्कुलहरू १ सयको सङ्ख्यामा सञ्चालित छन् ।

(९) पर्यटन विकासः यसका लागि सबैभन्दा पहिला धरानको खानेपानीमा सुधार ल्याउन जरुरी छ । मठमन्दिर र सुविधाजनक होटलहरूको विकास गरी पर्यटन विकासका लागि एउटा गुरुयोजना बनाएर कार्य गर्नुपर्छ ।

(१०) बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानः यो प्रतिष्ठान पूर्व र मध्यक्षेत्रको गहना हो । यो हाल रोगले ग्रस्त छ । यसको बारेमा मेयर आफै जानिफकार छन् । यसलाई भ्रष्टाचारमुक्त, सुविधा सम्पन्न, स्तरोन्नति गर्न जरुरी छ । 

(११) सरकारी कार्यालयहरूः धरानबाट धेरै सरकारी कार्यालयहरू सरुवा भएर इटहरी, विराटनगर गएका छन् । अब क्षेत्रीयस्तरका कार्यालयहरू स्थापना हुँदा धरानलाई प्राथमिकतामा राख्न आवश्यक छ । यसका लागि दह्रोसँग सबै मिलेर लाग्नु पर्छ ।

(१२) सब्जी मन्डीः भानुचोकमा रहेको सब्जी मन्डी धेरै नै अव्यवस्थित छ । त्यहाँ धेरै भीड हुन्छ । बाटो साँघुरो छ । तर मोटर साइकल, अटोरिक्सा, टेम्पोले गर्दा हिड्नै गाह्रो भएको छ । यसलाई व्यवस्थित बनाउनु पर्छ ।

(१३) सर्दुखोला उत्तरका घरहरूः सरकारले कानेपोखरीमा सट्टाभर्ना जग्गा दिइसकेको छ । त्यहाँबाट घरहरू अविलम्ब हटाइनु पर्दछ ।

(१४) भेडेटारको मलमूत्रः भेडेटार पश्चिम भीरमा शौचालयहरू बनाइएका छन् । ती सबै हटाउनु पर्छ । त्यहाँ पिसाब फेर्न पनि प्रतिबन्ध लगाउनु पर्दछ ।

(१५) सुकुम्बासी समस्याः यो समस्या धेरै वर्षदेखि थाती छ । अविलम्ब वास्तविक सुकुम्बासीहरूको पहिचान गरी तिनलाई  लालपुर्जा वितरण गरी यो समस्या हल गर्नुपर्छ । यसरी कार्य गर्दा धरान उपमहानगरपालिकाको आय आर्जनको स्रोत पनि बढ्छ ।
अन्त्यमा, मेयर हर्कराज साम्पाङलाई आगामी दिनमा आइपर्ने समस्यामा राजनैतिक दलहरूलाई मिलाएर लैजान ठूलो चुनौती छ । धरान उपमहानगरपालिकामा पूर्व मेयर तिलक राई ए.डी.बी.को पक्षमा थिएनन् । पछि मेयर भएपछि बाध्य भएर पक्षमा लाग्नु प¥यो । हालका मेयर पनि विकासप्रेमी देखिएका छन् । विकासको क्रममा कसैले पनि अवरोध गर्नु हँुदैन । धरानका चेतनशील जनताले सबै दृश्य हेरिरहेका छन् । विकास विरोधीलाई आगामी प्रदेशसभा र संसद्को चुनावमा देखाइदिनेछन् । नेपालमा एउटा घटनाक्रम सुरु भयो । अब मिति गुज्रेका नेताहरूको औचित्य छैन । त्यो कुरा हर्क र वालेन तथा धनगढीका मेयर गोपाल हमालले सिद्ध गरिसकेका छन् । अब मेयर हर्क साम्पाङले कार्य सम्पादन गर्दा विज्ञहरूको एउटा सल्लाहकार समिति गठन गर्ने त्यसमा योजनाविद्, अर्थविद्, शिक्षाविद्, खेलकुद, जनस्वास्थ्य, पर्यटन, वातावरण, कलासंस्कृति, साहित्य, कृषि, पत्रकार, बुद्धिजीवी आदि समावेश गरी कार्य गर्न सुझाव पनि पेश गर्दछु ।