बुद्धको २५६६ औं जन्मजयन्तीकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी भ्रमण गरेका छन् । बुद्धको जन्मस्थलमा आई प्रधानमन्त्रीले विश्वलाई के सन्देश प्रवाह गर्न चाहन्छन् ? नेपालसँगको प्रगाढ सम्बन्ध रहेको देखाउन चाहन्छन् कि चीनको तुलनामा भारतको प्रभाव विस्तार गर्न चाहन्छन् ? प्रधानमन्त्री मोदीको रणनीति के हो ? यस्ता आम जिज्ञासा उत्पन्न हुन थालेको छ । यसको प्रमुख कारण चाहिँ भारतीय मिडियाहरूले गरेको प्रचार शैलीलाई लिइन्छ । प्रधानमन्त्री मोदी अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थलमा अवतरण नगरेको विषयलाई भारतीय मिडियाले यसरी प्रचार गरे कि जुन विषयमा कुनै सत्यता थिएन र छैन । चीनको कम्पनीले निर्माण गरेकै कारणले प्रधानमन्त्री मोदीले गौतम बुद्ध विमानस्थलमा अवतरण नगरेको विषयलाई भारतीय मिडियाले उछाले । यसको भित्री पाटो भने अलग्गै छ । नेपालले चार वर्षयतादेखि सिधै हवाई मार्गको लागि कुरा उठाउँदा पनि भारतले त्यसलाई ‘ओके’ भनेको अवस्था छैन । यसकारण नै प्रधानमन्त्री मोदी उक्त विमानस्थलमा नउत्रिएको नेपालका अधिकारीहरूले प्रष्ट पारेको अवस्था छ ।

विषय एकातिर भए पनि भारतीय मिडियाहरूले जुन प्रचारको शैली अपनाएका छन्, त्यसले अन्ततोगत्वा भारतलाई नै हानि गर्छ । भारतीय मिडियाप्रतिको विश्वास उडेर जान्छ । त्यसो त भारतीय मिडिया कस्तो छ भन्ने विषयमा धेरथोर सबै जानकार छन् । रह्यो, धार्मिक भ्रमण । बुद्धभूमिमा प्रधानमन्त्री मोदीको भ्रमण आफैमा एउटा सुनौलो अवसर हो । विश्वको फेरि एकपटक ध्यानाकर्षण हुनेछ, त्यसको फाइदा नेपालले नै लिनेछ । बुद्ध धर्मका अनुयायी मात्रै हैन, बुद्ध धर्मको दर्शन र यसको खोज, उत्खनन् गर्न चाहनेहरू एकपटक पुनः नेपालको बुद्ध भूमिमा आउनेछन् । जसरी हिजो विदेशीहरू एकमात्रै द्वार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत् आउँथे । अब विदेशीका लागि जो सिधै बुद्ध भूमिमा ओर्लन चाहन्छन्, उनीहरूका लागि सहज हुनेछ । काठमाडौँको सम्पदा हेर्न आउनेहरू जस्तै बुद्धसँग सम्बन्धित सम्पदा हेर्नेहरू सिधै त्यहाँ आइपुग्नेछन् । त्यसकारण भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई आम नेपालीले सकारात्मक रूपमा लिनुपर्छ ।

नेपाल र भारतबीच १९४७ देखि नै एक खालको दौत्य सम्बन्ध छ । आर्थिक, सांस्कृतिक सम्बन्ध छ । वैवाहिक सम्बन्ध छ । नेपाल र भारतबीच बेला–बेला हुने तिक्तता र रिक्ततालाई पनि मोदीको भ्रमणले पूर्ति गर्नेमा विश्वास गर्न सकिन्छ । मोदी भ्रमणको थुप्रै आयामहरू हुन सक्छन् । विशुद्ध धार्मिक भ्रमण पनि हुनसक्छ । त्यसबाहेक ‘हिडन इन्ट्रेस्ट’ पनि हुन सक्छन् । किनकि भारतको बुझाइमा नेपालमा चीनको प्रभाव बाक्लिएको भन्ने छ । चीनको प्रभाव बढ्दो देखेकै कारणले पनि भू–राजनीतिको कोणबाट पनि मोदीको भ्रमण हुन सक्छ । नेपालमा जसरी भारतको भू–राजनीति हिजोदेखि नै कायम थियो । त्यसलाई अक्षुण राख्न चाहन्छ । भारतले चीनको प्रभावलाई रोक्न अनेकन ‘प्रोपोगान्डा’ गर्छ । त्यो भारतीय मिडियामार्फत् हरेक पटक देखिँदै आएको छ । यसपटक पनि त्यो देखिएको छ । सोमबारको भ्रमणलाई भारतीय मिडियाले जसरी प्रचार गरेका छन्, त्यो मिथ्या प्रचार हो । यस्ता प्रचारका पछाडि लाग्नुको अर्थ छैन ।