यतिबेला गाउँदेखि सहरसम्म चुनावी माहोल तातेको छ । चुनावको माहोल जमेसँगै मतदाता फकाउन राजनीतिक दलका नेताहरू विभिन्न गतिविधि गरिरहेका छन् । उम्मेदवारहरू विभिन्न आश्वासनसहित घरदैलोमा पुगेर भोट फकाइरहेका छन् । आफूले जितेमा विकासको मूल फुटाउने वाचासहित मतदातालाई विश्वस्त तुल्याउन नगरदेखि वडासम्मका बेग्लाबेग्लै प्रतिबद्धतापत्र वितरण गरिरहेका छन् । यो त निर्वाचनका बेला सबै राजनीतिक दलले मतदातालाई प्रभाव पार्न गर्ने नियमित र सामान्य क्रियाकलाप नै भयो । पछिल्लो समय भने निर्वाचनका बेला आश्वासन पत्र मात्र होइन, नगदसमेत वितरण गरेर भोट खरिद हुने गरेको चर्चा परिचर्चा चल्छ । यसपटकको निर्वाचनमा समेत विभिन्न नेता, कार्यकर्ता बस्ती–बस्तीमा पुगेर मतदातालाई पैसा वितरण गरिरहेको चर्चा सुरु भएको छ । यो चर्चा निर्वाचनको अघिल्लो दिनसम्म झनै बढ्ने निश्चित छ । हरेक निर्वाचनमा यस्तै हुने गरेको छ । कतिपय ठाउँमा चाहिँ दैनिक भोजभतेर गरेर मतदाता फकाउने गरिएको चर्चा छ ।

यो बेला बजारमा रक्सी र मासुको खपत बढेको खबर सार्वजनिक भइरहेका छन् । मदिरा व्यवसायीहरूको तथ्याङ्कअनुसार अरू बेलाको तुलनामा वैशाख दोस्रो सातादेखि १५ प्रतिशतले मदिराको बिक्री बढेको छ । तथ्याङ्कअनुसार सुनसरीका धरान, इटहरी, इनरुवा, कोसी ब्यारेज र अन्य साना बजारहरूमा मदिराको खपत बढेको छ । मदिराको खपत एक्कासि बढ्नु र गाउँदेखि सहरसम्म विभिन्न भोज भतेर आयोजना हुनुको मुख्य कारण अहिलेको निर्वाचनको माहोल नै हो । एकातिर दिनभर चुनावी अभियानमा खटेर फर्किएका नेता, कार्यकर्ताको पार्टी चल्ने र अर्कातिर मतदाता फकाउन भोज खुवाउने प्रचलनले मतदातासँग रहेको अमूल्य मतको अधिकार मदिरा र मासुमा साटिने सम्भावना बढेको छ ।  चुनावहरू भड्किला र खर्चिला भएको सर्वत्र गुनासो बढिरहेको बेला निर्वाचन आयोगले केही नियन्त्रण गर्ने प्रयास त गरेको छ तर, गोप्य रूपमा हुने भोट खरिद बिक्री र भोज भतेर आयोगले पत्तै पाउँदैन । त्यसैले यसलाई नियन्त्रण गर्न पनि सहज छैन ।

चुनावका बेला मदिरा, मासु र पैसामा भोट साट्ने प्रवृत्तिले अमूल्य मतलाई मूल्यहीन मात्र बनाएको छैन, यसले हाम्रो निर्वाचन प्रणालीको खिल्लीसमेत उडाएको छ । यस्तो प्रवृत्तिलाई नियन्त्रण गर्न मतदाता आफै सचेत हुनुको विकल्प छैन । मतदाताहरूले यसरी आफ्नो अमूल्य मत साट्दै जाने हो भने हरेक निर्वाचनमा नेताहरूले एक पटक मतदातालाई खर्च गर्ने अनि पाँच वर्ष आफूले कमाउधन्दा चलाउने क्रम दोहोरिनेछ । पहिल्यै भोट बिक्री गरिसकेपछि उनीहरूले जति बदमासी गरे पनि बोल्ने ठाउँ रहँदैन । अनि मतदाता पाँच वर्ष निधारमा हात राखेर दुःख मनाउन गर्न विवश हुन्छन् । यो प्रवृत्तिको अन्त्य हुनु जरुरी छ । त्यसका लागि मतदाता जागरुक हुनैपर्छ । मतदाताले मदिरा, मासु र पैसामा भोट नबेच्ने अनि सही उम्मेदवारलाई मात्र भोट हाल्ने बानी बसाल्ने हो भने भोलिका दिनमा कुनै पनि उम्मेदवारले गलत काम गर्ने आँट गर्न सोच्नै पर्छ । नेताहरूलाई सचेत बनाउने आफ्नो अमूल्य मतले मात्र सम्भव छ । त्यसैले विभिन्न आश्वासन र लोभलालचमा नपरी मतदाताले आफ्नो विवेक प्रयोग गर्ने समय हो यो । यसपटकको चुनावमा मतदाताले गल्ती नगरुन्, सद्विवेक प्रयोग गरुन् अनि स्वच्छ र विकासप्रेमी उम्मेदवारलाई जिताउन सकुन् ।