धनकुटा/ धनकुटा नगरपालिका वडा नं. ७ घर भएका पूर्णप्रसाद गुरागाँईको फागुण ४ गते ७४ वर्षमा उमेरमा दुःखद निधन भएको छ । उनलाई लामो समय देखी दमको रोगले च्यापेका थियो ।
उनको आज (आइतबार) १२ औं पुन्य तिथिमा हिन्दु परम्परानुसार आफ्नै निवास धनकुटा–७ हुलाकटोलमा सुद्धिकार्य हुँदैछ । उनको निधनसंगै यहाँका जेष्ठ नागरिकहरु भने बिलौना पोखिरहेका छन् । उनीहरु भन्छन्‘बसीबियालो गरी गफगाफ गरी दिन कटाउने, घाम ताप्ने चौतारी थियो, गुरागाँईको घर, अब त्यो चौतारी कसरी थाम्ने भन्ने हामीलाई चिन्ता लागी रहेकोछ ।’ अहिले उनीहरु यसरी गुरागाँईको दुःखद निधन प्रति विलौना पोखिरहेका छन् ।
उमेरले केही कान्छा भए पनि सवै भन्दा नजिकका साथीको रुपमा रहेका नेपाली कांग्रेसका नेता आनन्द सन्तोषी राईले भने, ‘गुरागाँईको निधनले धनकुटा वजारमा रहेका जेष्ठ नागरिकहरुलाई अभिभावक गुमाएको पिडा भैरहेको छ ।’
उनी भन्छन्, ‘मेरो सवै भन्दा नजिका साथी थिए उनी । उनीसंग मेरो धेरै उठवस भयो, उनले सरकारी सेवामा धेरै काम गरे । उनी व्रम्हण समाज र विश्व हिन्दु महासंघ धनकुटाका कोषाध्यक्ष समेत रहेका थिए । गुरागाँईको घर जेष्ठ नागरिकहरुको लागी विश्राम गरेर आराम गर्ने चौतारी थियो । त्यो चौतारी अब कसरी थाम्ने भन्ने हामीलाई लागी रहेको नेता राईले भने । धनकुटा–३ घर भएकी महिला स्वयसेविका सावित्रा वाग्लेले भनिन्, ‘आफू जहिले काम विशेषले वजारमा यताउता गर्दा वुढापाकाहरु गुरागाँईका वरीपरी गफ गरेर वस्थे । अब त्यो दृश्य देख्न नपाईने भयो भन्दै उनले थपिन, ‘स्वर्गीय गुरागाँईको स्मरण शक्ति अत्यन्तै तेज रहेको थियो । एक पटक फोन गरेपछि जीबन भर नम्वर नविर्सने खाल्को उनको दिमाग थियो ।’
उनले एक पटक देखेको र बोलेको मान्छे बर्षौ पछि भेट हुँदा पनि नबिर्सने स्वभाव थियो । त्यसैगरी नेपाली कांग्रेसकी नेतृ टिका भण्डारीले भनिन, ‘स्वर्गीय गुरागाईं सामाजिक व्यक्तित्व, सकारात्मक सोँचका धनी, आफू शारिरिक रुपमा अशक्त भए पनि सधै उर्जाशिल र मानसिक रुपमा सक्षम रहेका थिए ।’
उनको जन्म २००४ भाद्र ३१ गतेका दिन धनकुटाको कचिडेमा भएको थियो । बि.स. २०२३ सालमा जिल्ला अस्पताल धनकुटामा भान्सेको जागिरबाट उनले सरकारी सेवा शुरु गरेका थिए । उनले केही समय भान्सेका जागिर खाएपछि बहिदार, मुखिया, खरिदार, लेखापाल हुँदै २०६२ सालमा अधिकृतको जागीरबाट सेवानिवृत्त भएका थिए । उनले ३६ बर्षसम्म स्वास्थ सेवामा काम गरेका थिए । उनले वि.सं.२०३२ सालमा साविकको धनकुटा–३ कचिडेबाट धनकुटा–७ हुलाकटोलमा आएर बसोवास थालेका थिए ।
उनले केही समय जागिरसंगै घर भाडामा वसेका थिए भने वि.सं.२०३५ सालमा धनकुटा बजारमा घर बनाइ परिवारसंग आफ्नै घरमा बस्न थालेका थिए । जन्मदै अपाङ्गता भएका उनले बाल्यकालमा गरिबीको कारण खासै पढ्न पाएन्न । खुट्टा छोटो तथा बाङ्गो भएको कारण गह्रौं काम गर्न नसक्ने अवश्था थियो ।
पछि जागिरको शिलशिलामा वि.सं.२०५५ साल काठमाडौ जाँदा लडेर खुट्टा भाँचिएको थियो । त्यसपछि उनी बैसाखीको साहाराले सामान्य भित्र बाहिर गरे पनि लामो समय देखी ह्लिचियर प्रयोग गर्दै आएका थिए । मृत्यु बरण हुनु पुर्वसम्म उनी ह्विलचियर मै जीवनयापन गरिरहेका थिए । उनी कसैको सहारा विना हिड्न सक्दैनथे । उनको एक श्रीमती, एक छोरा-बुहारी, दुई छोरी र दुई नातिहरु छन् ।