धरान । अमेरिकाको वासिङ्टन राज्यका लागि नेपालका वाणिज्यदूत एसी (आङ्छिरिङ) शेर्पाले चुनावको मौन अवधिमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईलाई रकम सहयोग गरेको पुष्टि भएको छ । 

श्रम संस्कृति पार्टीमै कार्यरत मीना सिङ्घक लिम्बूले आइतबार सामाजिक सञ्जालमा १६ मिनेटभन्दा लामो भिडियो हालेपछि मौन अवधिमा रकम सहयोग गरेको पुष्टि भएको हो । होटल मेरिकनको छतमा बसेर अध्यक्ष राईलाई शेर्पाले नगद १४ लाख २९ हजार रुपैयाँ रकम सहयोग गरेका हुन् । उनीहरूको भेट फागुन २० गते भएको थियो ।

उक्त भिडियोमा सिङ्गकले क्याप्सन लेखेकी छन्, “श्रम संस्कृति पार्टी उत्तर अमेरिकाका संयोजक सेभेन समिटका फाउन्डर÷पर्वतारोही एसी शेर्पा (आङ्छिरिङ शेर्पा) ज्यू र उहाँको टिमको तर्फबाट श्रम संस्कृति पार्टी सचिवालय व्यवस्थापनको लागि १४ लाख २९ हजार सहयोग प्रदान गर्नुभएको थियो । संयोजकज्यू र सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दछौँ ।”

यहाँ प्रयोग भएको वाक्यबाट नै उक्त नगद पहिला नै वितरण गरिएको थियो भन्ने प्रष्ट पारेको छ । शेर्पाले पनि उक्त स्थानमा खिचेको तस्बिर फागुन २० गते सार्वजनिक गरेका थिए । यस विषयमा जिल्लास्थित निर्वाचन आयोगको कार्यालयमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले उजुरी दिएको थियो । मौन अवधिमा पार्टीलाई रकम सहयोग गरेको भनी उजुरी दिएको थियो । शेर्पा फागुन १८ गते धरान–१५ स्थित मेरिकन होटलमा बसेका थिए । 

उनी उक्त होटलमा बसेको जिल्लास्थित सुरक्षा निकायहरूले पुष्टि गरेका थिए । उजुरी दिएकोबारे नेकपाका निर्वाचन परिचालन कमिटीका संयोजक रहेका पूर्व सभासद् किरणकुमार राईले ब्लाष्टलाई समेत जानकारी गराएका थिए ।

यस विषयमा सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले आरोप लगाएको जस्तो गतिविधि नभएको भनी ब्लाष्टलाई बताएका थिए । तर हाल आएर उक्त विषय सामाजिक सञ्जालमार्फत् नै छरपस्ट भएको हो । यो समाचार तयार पार्दासम्म उक्त भिडियोमा १.८ रियाक्सन, १ सय ३५ वटा कमेन्ट र ९४ वटा सेयर भइसकेको छ । 

यसअघि प्रजिअ घिमिरेले घटनामा कोही पनि संलग्न नभएको बताएका थिए । स्रोतले भने तत्कालीन समयमा रकम सहयोग गरेको बताएको थियो । 

तत्कालीन समयमा सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा शेर्पा धरान आएको र पार्टीका नेताहरूसँग भेटघाट गरेको देखिएको थियो । शेर्पाको टोलीलाई पार्टीका नेतृ मीना सिङ्घकले श्रम संस्कृति पार्क घुमाएको भिडियोहरू सामाजिक सन्जालमा राखेकी थिइन् ।

शेर्पाले पनि आफ्नो फेसबुकमा राखेका थिए । उनको स्थायी घर सोलुखुम्बु हो । उनले सामाजिक सञ्जालमा मङ्गोलियनहरू एक हुनुपर्छ भन्दै कमेन्टसमेत लेखेको भेटिएको छ । उनलाई श्रम संस्कृति पार्टीले गत पुस २३ गते प्रवास संयोजकमा नियुक्त गरेको थियो ।