विजयपुर । नेपालकी फिल्म निर्देशक तथा निर्माता किरण खातिवडालाई भारतमा आयोजित ९ औँ अन्तर्राष्ट्रिय सन्ताल सम्मेलन–२०२६ मा सम्मान गरिएको छ ।
पश्चिम बंगालको दार्जिलिङ जिल्लाअन्तर्गत सिलिगुडी, बिधान नगरमा मार्च ७ र ८ मा सम्पन्न सम्मेलनको उद्घाटन समारोहमा खातिवडालाई ‘साधु रामचन्द मुर्मु – पं. रघुनाथ मुर्मु अवार्ड’ प्रदान गरिएको हो । भारतीय राजस्व लेखा सेवाका पूर्वअधिकारी उदयनाथ माझीले खातिवडालाई सम्मान प्रदान गरे । नेपालमा पहिलो आदिवासी सन्ताली फिचर फिल्म ‘बोनोडाल चेंज’ निर्माण तथा निर्देशन गरी सन्ताली संस्कृति, पहिचान तथा आदिवासी कथालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गरेको योगदानको कदर गर्दै खातिवडालाई सम्मान गरिएको आयोजकले जनाएको छ । सन्ताल काउन्सिल, नयाँ दिल्लीको सहकार्यमा आयोजित सम्मेलनमा विभिन्न देशका प्रतिनिधिहरूको सहभागिता थियो । सम्मेलनले सन्ताल समुदायको भाषा, संस्कृति, संगीत, कला तथा परम्पराको संरक्षण र प्रवर्द्धनका विषयमा छलफल गरेको थियो । भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले पठाएको सन्देशमा सन्ताल समुदायले भारतको सामाजिक तथा सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेको उल्लेख छ । सन्देशमा राष्ट्रपति मुर्मुले अन्तर्राष्ट्रिय सम्मेलनहरूले आदिवासी समुदायको सांस्कृतिक पहिचान संरक्षण र विश्वस्तरमा मान्यता दिलाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् ।
































