विजयपुर । सुनसरी क्षेत्र नं. १ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य हर्कराज राईले आफ्नो पार्टीको श्रम अभियान कार्यक्रममा धरान खानेपानी व्यवस्थापन बोर्डको गाडी र खानेपानी ढिलो पुगेपछि आक्रोश व्यक्त गर्दै खानेपानीको पाइप नै चुँडाइदिने धम्की दिएका छन् । स्रोतसाधन ढिलो पुगेपश्चात् धम्की आएको बोर्डका अध्यक्ष अइन्द्रविक्रम बेघाले खुलासा गरेका छन् ।
शनिबार सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा राईले आफ्नो पार्टीको कार्यक्रममा बोर्डको गाडी, खानेपानीलगायतका स्रोत–साधन ढिलो पुगेको खुलासा नगरे पनि आक्रोश व्यक्त गरेको देखिन्छ । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका राईले ट्याङ्कीबाट खानेपानीको पाइप चुँडाइदिने चेतावनी दिएका छन् । “पाइप चुँडाएर निःशुल्क बाँड्न लगाउँछु । नगरपालिकामा घेराउ कार्यक्रम हुन्छ, त्यसको नेतृत्व श्रम संस्कृतिले गर्छ । कार्यवाहकलाई त्यो याद होस्” उनले भने, “खानेपानीको पाइप श्रमदाताको हो । यो ट्याङ्कीमा लगाउँदैनौँ । पाइप छुट्याएर त्यतिकै खाऊ भन्दिन्छु । फ्रिमा खुवाइदिन्छौँ । नालामा बगाउँछौँ ।” राईले आफूले पाइप चुँडाएपछि बोर्डले कसरी पानी वितरण गर्छ भन्ने प्रश्न पनि गरेका छन् ।
उनले भने, “यो त श्रमदाताको सम्पत्ति होइन र ? निशानेको पाइप चुँडाइदिन्छु । स्वस्तिका ट्याङ्कीमा हाल्न पाउँदैन । नगरपालिकाले त्यसतर्फ निर्णय गर्न बाध्य नबनाओस् ।” आइतबार बोर्डका अध्यक्षसमेत रहेका धरानका कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले बोर्डको मासिक आय–व्यय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोर्डकोे गाडी, खानेपानीलगायतका स्रोत ढिलो पुगेपश्चात् राईले धम्की दिएको बताए । उनका अनुसार राईले अघिल्लो दिन फोन गरेर श्रमदान कार्यक्रममा गाडी, खानेपानीलगायतका स्रोत–साधन पठाउन आग्रह गरेका थिए । “माननीयज्यूले अघिल्लो दिन फोन गर्नुभएको थियो । खानेपानी बोर्डको स्रोत–साधन पार्टीको कार्यक्रममा प्रयोग गर्न मिल्दैन होला । त्यही पनि एउटा पत्र पठाउनु न भनेको थिएँ” अध्यक्ष बेघाले भने, “भोलिपल्ट बिहान पनि अभियानका दुई–तीन जनाले फोन गरेका थिए । अफिसियल गाडी पार्टीको अभियानमा भाँडावर्तन बोक्न प्रयोग गर्नु हुँदैन ।”
यस्तै राजीनामा दिएर श्रम संस्कृति पार्टीमा प्रवेश गरेका धरान–४ का अध्यक्ष धनबहादुर राईले पनि पार्टीको कार्यक्रममा बोर्डको गाडी र स्रोत–साधन नपठाएको भन्दै धम्की दिएको भिडियो सार्वजनिक भएको छ । भिडियोमा उनले “घेराउ गर्न नपरोस्” भन्ने अभिव्यक्ति दिएका छन् । बोर्डका अध्यक्ष बेघाका अनुसार आफू अध्यक्ष हुँदा पनि निवर्तमान प्रमुख राईले श्रमदानको नाममा बोर्डका गाडी, कर्मचारीलगायत स्रोत–साधन प्रयोग गरेका थिए । उनले कार्यकारी निर्देशक राजु पोखरेललाई सोध्दै भने, “गाडी, कर्मचारीलगायत अन्य स्रोत–साधन लानुभएको होइन, राजुजी ?” जवाफमा पोखरेलले स्वीकार गरे । अध्यक्ष बेघाका अनुसार पार्टीको कार्यक्रममा खाना पकाउन पानी पठाइदिन आग्रह गरिएको थियो ।
उनले भने, “पानी पनि पठायौँ । उहाँको दिनभरि गाडी राख्ने कुरा थियो, त्यो भएन । खानेपानीका लागि भएकाले प्रश्न उठ्दाउठ्दै पनि सहयोग गरियो, तर उल्टो गाली खानुप¥यो ।” बुद्धिजीवी डा. राजेन्द्र शर्माले निवर्तमान प्रमुख राईको ठूलो जिम्मेवारी भएको बताउँदै सानातिना कुरामा अल्झिन नहुने बताए । उनले श्रम अभियानबाट आएको भन्दै ‘पाइप चुँडाइदिन्छु’ भनेर प्रस्तुत हुनु गलत भएको बताए । उनले भने, “उहाँमा कूटनीतिक ज्ञानको अभाव छ ।” खानेपानी परियोजनामा श्रमदानको ठूलो हिस्सा भए पनि बोर्डको पनि लगानी देखिएको बताउँदै डा. शर्माले भने, “नेपालका समस्यामा बोल्नुपर्छ । सानातिना कुरा त्यसरी प्रस्तुत हुनु गलत मात्र होइन, दुःखद् पनि हो ।”
पत्रकारहरूले खानेपानी परियोजना पार्टीगत रूपमा चलाउन मिल्छ कि मिल्दैन भन्ने प्रश्न गर्दा अध्यक्ष बेघाले नमिल्ने प्रतक्रिया दिए । उनले भने, “खानेपानी अभियान पार्टीगत ढङ्गले चलाउन हुन्छ कि हुँदैन । चलाउनेहरूले बुझ्दा राम्रो हुन्छ ।” उनले खानेपानीका परियोजना सञ्चालन गर्न अनुमति लिनुपर्ने पनि स्पष्ट पारे । “अनुमति लिएर गर्दा राम्रो हुन्थ्यो । त्यो गरिएको छैन । स्रोत–साधन चाहिँ माग्नुभयो” –उनले भने । बेघाका अनुसार धरान खानेपानी व्यवस्थापन बोर्डको अनुमति विना कसैले पनि बोर्डको क्षेत्राधिकारभित्र काम गर्न नहुने नियम छ । “बोर्डलाई नसोधी हाम्रो क्षेत्राधिकारमा पर्ने काम नगर्दा राम्रो । स्वीकृति नलिई काम गर्न मिल्दैन”–उनले भने ।
निवर्तमान प्रमुख राई जिम्मेवार व्यक्ति भए पनि धम्कीपूर्ण भाषा प्रयोग गरेर जनतालाई उत्तेजित बनाउने काम गरेको भन्दै उनले त्यस्तो नगर्न अनुरोध गरे । “कसैले पनि बोर्डको पाइप काट्ने वा चुँडाउने काम गर्नु हुँदैन । त्यसको परिणाम राम्रो आउँदैन”– उनले भने । बेघाका अनुसार कोकाहा खानेपानी परियोजनामा बोर्डको पनि स्रोत–साधन प्रयोग भएको छ । उनले भने, “दाता र आम जनताको लगानीमा मात्र होइन, बोर्डका कर्मचारी, स्रोत–साधन, गाडी र बजेट पनि प्रयोग भएको छ ।” बोर्डको फागुनमा १ करोड ४१ लाख ४० हजार ३ सय ३१ रुपैयाँ आम्दानी देखिएको छ । पहिलेको मौज्दात १ करोड ८२ लाख ११ हजार ६ सय ८२ रहेको थियो । १ करोड ५२ लाख ३७ हजार ७ सय ५ व्यय रहेको छ । बैङ्क मौज्दात १ करोड ७१ लाख १४ हजार ३ सय ८ रहेको छ । खानेपानी २ करोड ४२ लाख ५० हजार लिटर दैनिक उत्पादन भइरहेको छ । कोशी प्रदेश सरकारको ४ करोड लगानीमा निर्माण भएका दुईवटा वेलबाट दैनिक करिब २५ लाख लिटर खानेपानी उत्पादन भइरहेको छ ।
यसले धरानमा खानेपानी समस्या समाधानमा केही राहत पुगेको बताइएको छ । विर्तमान राईले आफू बोर्ड अध्यक्ष हुँदा करिब ९ करोडमाथि लगानीमा निर्माण गरेका ६ वटा योजनाबाट साढे १६ लाख लिटर पानी उत्पादन भइरहेको छ । अरू पानी पुराना परियोजनाबाटै उत्पादन भइरहेको बोर्डले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । धरानमा ४ करोड लिटर दैनिक माग रहेको बोर्डले जनाएको छ ।
































