विराटनगर । सिटिजन्स बैङ्कको विराटनगर–४ स्थित कञ्चनबारी शाखा कार्यालयमा झण्डै पाँच करोड रुपैयाँ हिनामिना भएको खुलेको छ ।
बैङ्कका कर्मचारीहरूकै मिलेमतोमा ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएको तथ्य बाहिर आएको हो । बैङ्कले गरेको आन्तरिक छानबिनका क्रममा ठूलो रकम हिनामिना भएको पाइएपछि संलग्न कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदन दिइएको छ । पाँच जना कर्मचारीको संलग्नतामा अनियमितता भएको पुष्टि भएपछि बैङ्कले उनीहरूलाई निलम्बन गरिसकेको छ । घोटाला भएको रकम असुलउपर गर्न र दोषीलाई कानूनी कारबाही गर्न बैङ्कले प्रहरी गुहारेको हो ।
बैङ्क स्रोतका अनुसार निक्षेपकर्ताले ‘मुद्दती निक्षेप’ (फिक्स डिपोजिट) मा राखेको रकमलाई धितो मानी नक्कली कर्जा खडा गरेर कर्मचारीहरूले रकम हिनामिना गरेका हुन् । “बैङ्कले आन्तरिक छानबिन गर्दा कैफियत देखिएपछि कानूनी प्रक्रिया र रकम असुलीका लागि प्रहरीमा जाहेरी दिइएको हो”–स्रोतले भन्यो । बैङ्कले हिनामिनामा संलग्न अन्य कर्मचारीको नाम गोप्य राखे पनि मुख्य आरोपीका रूपमा कञ्चनबारी शाखामै कार्यरत विराटनगर निवासी रोजी कर्णेलको नाम सार्वजनिक गरेको छ । बैङ्कले उनीसहित पाँचै जनालाई निलम्बन गरी थप अनुसन्धानका लागि प्रहरीलाई विवरण बुझाएको छ ।
करिब दुई महिनाअघि नै बैङ्कको आन्तरिक लेखापरीक्षणका क्रममा यो घोटाला सतहमा आएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङकी एसपी कवित कट्वालले बैङ्कबाट निवेदन प्राप्त भएको पुष्टि गरे । “हामीकहाँ बैङ्कको निवेदन परेको छ, यसबारे अनुसन्धान भइरहेको छ । अनुसन्धानबाट थप तथ्यहरू खुल्दै जानेछन्”–एसपी कट्वालले भने ।
सिटिजन्स बैङ्कका गुनासो व्यवस्थापन अधिकारी रोशन मानन्धरले पनि बैङ्कको रकम हिनामिना भएको र दोषीमाथि कारबाहीका लागि प्रक्रिया अघि बढाइएको बताए ।
उनले भने, “हामीले अनुसन्धानका लागि प्रहरीमा लिखित जाहेरी दिएका छौँ, बाँकी कुरा प्रहरीको छानबिनबाटै स्पष्ट हुनेछ ।”
































