दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएसँगै संसारभर तरङ्ग छाएको छ । गत मङ्गलबार नयाँ भेरियन्ट पुष्टि भएको थियो । उक्त भेरियन्टलाई विश्व स्वास्थ्य सङ्गठनले ‘ओमिक्रोन’ नाम दिएको छ । नयाँ भेरियन्ट देखिएसँगै विश्वव्यापी रूपमा त्रास बढेको छ । कोरोना भाइरसका विभिन्न भेरियन्टका कारण गरिएको पटक–पटकको लकडाउनले मान्छेहरूको आयस्रोत घटाएको छ । देशहरूको अर्थतन्त्र धरासायी बनाएको छ । त्यतिमात्र होइन, कोरोनाका कारण अकालमै धेरैले ज्यान गुमाएका छन् । आफन्त गुमाउनेहरूका पीडा उत्तिकै छन् । संसारमै अपूरणीय क्षति पु¥याएको छ कोरोनाले । यस्तो अवस्थामा फेरि नयाँ भेटियन्ट देखा पर्नुले संसारमै त्रास बढ्नु स्वभाविक पनि हो । यसलाई त्रासका रूपमा मात्र भन्दा पनि सतर्कताका रूपमा लिनु उपयुक्त हुन्छ । अफ्रिकी मुलुकमा ‘ओमिक्रोन’ देखा परेसँगै नेपालले आइतबारबाटै अफ्रिकी मुलुकबाट आउने यात्रुहरूलाई अर्को व्यवस्था नभएसम्मका लागि रोक लगाउने निर्णय गरेको छ । नेपालले मात्र होइन अमेरिका, इजरायल, श्रीलङ्का, नेदरल्यान्ड्स र बेलायतले पनि नयाँ भेरियन्ट देखिएका अफ्रिकी मुलुकसँगको हवाई सम्पर्कमा रोक लगाएका छन् । यसरी रोक लगाउने मुलुकको सङ्ख्या क्रमशः बढिरहेको छ । महामारी फैलिन नदिनका लागि बेलैमा सतर्कता अपनाउनु किन जरुरी छ भन्ने कुरा कोरोनाका अघिल्ला भेरियन्टले पाठ सिकाइसकेको छ । जहाँ बढी मात्रामा सतर्कता अपनाइयो, त्यहाँ सङ्क्रमण र मृत्युदर कम हुनु र लापरबाही गरिने ठाउँमा सङ्क्रमण र मृत्युदर बढी देखिएका घटना विश्वसामु प्रष्ट छ । अघिल्लो घटनाक्रमबाट पाठ सिकेर पनि अबका दिनमा सचेत बन्नुको विकल्प छैन । यो सचेतता जनस्तरबाटै हुनु आवश्यक छ । सरकारले कहिले नियम लागू गर्ला र पालना गर्ने भन्ने मानसिकताबाट होइन, अहिलेदेखि नै स्वविवेकले सचेतना अपनाउनु जरुरी छ ।

विगतमा नागरिकस्तरमा सचेतना फैलिन नसक्दा कोरोना फैलिएको बिर्सन हुन्न । स्वास्थ्यजस्तो संवेदनशील कुरामा सरकारले वा स्थानीय तह, प्रशासनले लागू गर्ने नियमले मात्र काम गर्न सक्दैन । हरेक व्यक्तिले सचेतना अपनाएर स्वास्थ्यका मापदण्ड पालना गरे धेरै हदसम्म महामारी नियन्त्रण गर्न सकिन्छ । तर, आम नागरिकले बेवास्ता गरे नियम कानूनले मात्र नियन्त्रण गर्न कठिन हुन्छ । त्यस हिसाबले नियम बनाउनुभन्दा पहिला सचेतना फैलाउनु जरुरी छ । यो त महामारी नियन्त्रणका लागि प्राथमिक कुरा भयो । महामारी फैलिन नदिनका लागि सरकारको गहन दायित्व त छँदैछ । सबैभन्दा महŒवपूर्ण कुरा अहिलेसम्म कोरोना नियन्त्रणका लागि प्रभावकारी उपाय भनेको खोप हो । सबै नागरिकले खोप लगाए पनि धेरै हदसम्म सुरक्षित भएको महसुस गर्न सकिन्छ । तर, अहिलेसम्म धेरै नागरिकले खोप लगाउन पाएका छैनन् । सरकारले चैतभित्र सबै नागरिकलाई खोप लगाउने वाचा गरेको छ तर, कोरोनाका नयाँ नयाँ भेरियन्टहरू पुष्टि भइरहँदा अघिल्ला भेरियन्टलाई लक्षित गरेर बनाइएका खोपहरू कति प्रभावकारी हुन सक्लान् ? प्रश्न पनि उठ्न थालेको छ । स्वास्थ्य क्षेत्रका विज्ञहरूले खोप नलगाउनेभन्दा लगाउनेहरू सुरक्षित रहने बताइसकेका छन् । त्यसकारण पनि सबै नागरिकलाई खोप लगाउनु आवश्यक छ । खोपका लागि सरकारले चैतसम्म पर्खाउने भन्दा कसरी चाँडो सबै नागरिकमा खोप पु¥याउन सकिन्छ भन्ने तर्फ ध्यान पुर्याउनु जरुरी छ ।

कोरोनाको नयाँ भेरियन्ट देखा परिसकेको अवस्थामा अहिले नै सरकारदेखि आम नागरिकसम्म सतर्क र सचेत बनेर रोकथाममा लाग्नु जरुरी छ । अहिले लापरबाही गरेर भविष्यमा महामारी फैलिइसकेपछि पछुताउनुभन्दा बेलैमा सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, भीडभाड नगर्ने, खोप लगाउनेजस्ता कुरामा ध्यान दिनु आवश्यक छ । व्यक्ति व्यक्ति मिलेर परिवार, परिवारहरू मिलेर समाज, समाजहरू मिलेर देश र देशहरू मिलेर विश्व बन्ने हो । कोरोनाजस्ता महामारी नियन्त्रण गर्न पनि व्यक्ति व्यक्तिबाटै सुरु गर्नसके विश्वभर नियन्त्रण गर्न सकिन्छ । बेलैमा सचेत बनौं, कोरोनाका अघिल्ला महामारी जसरी ओमिक्रोन फैलिन नपाओस् ।