कात्तिक मसान्तसम्ममा प्रदेश १ मा सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या ९ सय २६ जना पुग्नु भनेको त्रासदीपूर्ण अवस्था हो । सवारी दुर्घटनामा घाइते भएर अङ्गभङ्ग हुनेहरूको सङ्ख्या त झन् कति हो कति । यो बीचमा कोरोना महामारीका कारण लकडाउन पनि भएको छ । तर, दुर्घटना भने बढेको बढ्यै छ । यसै भन्छ, प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कले । सवारी दुर्घटनालाई दैवीप्रकोप वा प्रकृतिक विपत्ति मानिन्न । मानवीय त्रुटीबाट उत्पन्न दुर्घटना मानिन्छ । मानवीय त्रुटीले हुने यस्ता दुर्घटना दिनदिनै बढ्नु र मान्छेको ज्यान जानुलाई सामान्य भन्न सकिन्न । सडकमा हुने यस्ता सवारी दुर्घटना किन बर्सेनि बढिरहेका छन् भनेर सोधीखोजी गरेमा त्यसको जवाफ भने सरल तरिकाले आउँछ । जुन परम्परागत हुन् । चालकको लापरबाही, मादक पदार्थ सेवन, तीव्र गति, पैदल यात्रुको गल्ती आदिले सवारी दुर्घटना हुने र मान्छेको ज्यान जाने गरेको बताइँदै आएको छ । त्यसो भए चालकलाई लापरबाहीका साथ सवारी साधन कुदाउने अधिकार कसले दिन्छ ? उसलाई लापरबाही गरेबापत कारबाहीको दायरामा ल्याउने कुनै माध्यम छैन ? सवारी साधन चलाउँदा चालकलाई लापरबाही गर्न कसले र किन प्रेरित गर्दैछ ? समाज, समाजशात्र, मनोविज्ञान र मनोसामाजिक विज्ञानसँग जोडिएका यी प्रश्नका जवाफ खोज्नु अबको आवश्यकता हो ट्राफिक प्रहरीको ।

अचेल मापसे गरेर सवारी साधन चलाउनेलाई ट्राफिक प्रहरीले ठाउँको ठाउँमै कारबाही गर्दै आएको छ । जरिबाना तिराउँदै आएको छ । मापसे गरेर सवारी चलाउँदा कुनै पनि बेला दुर्घटना हुन्छ भनेर चालकलाई पनि थाहा नभएको होइन । तर, मापसे गरेर सवारी साधन चलाउन छाड्दैनन् । मापसे धेरै गर्नु सवारी साधन चलाउने चालकका लागि मात्र घातक नभएर उसकै ज्यानको स्वास्थ्यका लागि पनि घातक हो । तथापी अति मापसे संस्कृति नेपाली समाजमा किन दिनदिनै मौलायो ? मापसे गरेर सवारी चलाउन कसले हौसला दिन्छ ? यी सामान्य प्रश्नको जवाफ भने जटिल छन् । यी जटिल जवाफ खोज्नसके सवारी दुर्घटनामा कमी ल्याउन सकिन्छ । त्यस्तै केके न काम बिते जतिकै तीव्र गतिमा सवारी चलाउने, सडक भने साँघुरो, सवारी चाप भने अत्यधिक, यो अवस्था सिर्जना हुँदा पनि सवारी दुर्घटना बढेको र मान्छेको ज्यान किरा फट्याङ्ग्रा जति पनि नमान्ने सोच कसरी आयो ? यो प्रश्नको जवाफ पनि समाजशास्त्रीय  र मनोसामाजिक विज्ञानको तथ्य र धारणाको आधारमा खोजिनु जरुरी छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको पछिल्लो तीनवर्ष (चालु आर्थिक वर्षको कात्तिकसम्म) को तथ्याङ्क केलाउँदा प्रदेश नम्बर १ मा मात्र ८ हजार ३ सय ४० सवारीसाधन दुर्घटना भएका छन् । तीमध्ये आर्थिक वर्ष २०७६/०७७ मा ३ सय ३२ जना, आर्थिक वर्ष २०७७/०७८ मा ४ सय ४४ जना र चालु आर्थिक वर्षको चार महिनामा १ सय ५० जनाले ज्यान गुमाएका छन् । सवारी साधन आधुनिक समाजका लागि अति आवश्यकीय वस्तुमा परिसकेका छन् । मान्छेको काम गर्ने क्षमतालाई बढाउने माध्यम बनेका छन् । हिँडेर लामो समय लाग्ने ठाउँमा छोटो समयमा आराम साथ पु¥याउने, विभिन्न सामान ओसार–पसार गर्ने काम सवारी साधनकै माध्यमबाट गरिन्छ । सवारी साधन सबै मेसिन हुन् ।

एकजना चालकको विवेक, सीप, क्षमताको भरमा कुनै पनि सवारी साधन सडकमा गुडिरहेको हुन्छ । तर, मेसिनको भरोसा शतप्रतिशत हुँदैन । यी कुरा चालकलाई पनि राम्ररी थाहा नभएको होइन । तर, ढुक्क भएर वा आवेशमा आएर वा नजानेर सवारी साधन चलाउँदा दुर्घटना हुने र मान्छेको ज्यान जाने, अङ्गभङ्ग हुने, गम्भीर रूपमा अङ्गभङ्ग भएर जीवनभर अपाङ्ग भएर बाँच्नु पर्ने त छँदैछ । दुईपाङ्ग्रे सवारी चालक होस् कि तीनपाङ्ग्रे वा चारभन्दा बढी पाङ्ग्रेको चालक, चालक त आखिर मान्छे नै हो । मान्छेले नै त्रुटी गर्छ । तर, त्रुटी बढ्नु राम्रो सङ्केत होइन । यस्ता मानवीय त्रुटी किन बढिरहेका छन् भनेर अलग्गै खोज अनुसन्धान गरेर त्यसको नतिजा निकाल्नु अबको आवश्यकता हो । चालकको लापरबाहीले सवारी दुर्घटना भए, मापसेका कारण दुर्घटना भए, तीव्र गतिले कुदाउँदा सवारी दुर्घटना भएको भनेर मात्र यो समाज, सरकार, ट्राफिक प्रहरी उम्किने अवस्था छैन । दुर्घटनाका प्राविधिक पक्षलाई मात्र अनुसन्धानको पाटो नबनाएर समाजशस्त्रीय, मानवशास्त्रीय, मनोसामाजिक र व्यक्तित्व मनोविज्ञानको आधारमा अध्ययन अनुसन्धान हुनु जरुरी छ ।