धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वास्थ्य, शिक्षाक्षेत्रको सागर मात्रै होइन, कमिसनतन्त्रको महासागर नै हो भन्दा अत्युक्ति नहोला । स्वास्थ्य र शिक्षा क्षेत्रमा जुन उचाइ छ, त्योभन्दा बढ्ता उचाइ कमिसनतन्त्र, भ्रष्टाचार, अनियमिततामा छ । पूर्वको रेफरल केन्द्रको रूपमा रहेको बीपीमा केही यस्ता सेवाहरू छन्, जुन सदैव रेफर हुने गरेका छन्, त्यो हो, सिटीस्क्यान सेवा । यो सेवामा किन यति धेरै रेफर हुन्छ, त्यो बुझिनसक्नुको गोलचक्कर छ, बीपीमा । बीपीमा आएका हरेक बिरामीहरू सिटीस्क्यान सेवाका लागि जहिल्यै विराटनगरको भर पर्नु परेको अवस्था छ । जब कि विशेषज्ञ सेवाका हिसाबले बीपी विराटनगरका सबै अस्पतालभन्दा अब्बल छ । विशेषज्ञ चिकित्सकहरूको कमी छैन यहाँ । पूर्वका अधिकांश भागबाट मात्रै हैन, भारत र प्रदेश २ का धेरै जिल्लाबाट सेवा लिनका लागि यहाँ आउनेको कमी छैन । उपचारका हिसाबले पनि अब्बल नै छ तर, यहाँको राजनीतिका कारण प्राविधिक क्षेत्रमा देखिएको भ्रष्टाचार, अनियमितता भने कुरा गरी साध्य छैन । प्रतिष्ठानमा भएका मेसिनहरू ल्याएको केही समयमै बिगार्ने अनि विराटनगरबाट कमिसन खाने गोलचक्कर नयाँ होइन । यसैका कारण यहाँको मेसिन अधिकांश समय बिग्रिएको हुन्छ, जसको प्रत्यक्ष फाइदा विराटनगरका अस्पतालहरूले लिऊन् ।

स्वास्थ्य र शिक्षाको महासागर बीपीमा सदैव आन्दोलन र धर्नाहरू हुँदै आएका छन् । सुधारको माग गर्दै हुने आन्दोलन केही समय चल्छ, त्यसपछि सामान्य मागपश्चात् अन्त्य हुन्छ । जसले गर्दा प्रतिष्ठान जुन स्तरमा सुधार हुनुपर्ने हो, त्यो स्तरमा सुधार हुन सकेको छैन । हरेक वर्ष महालेखा परीक्षकले बेरुजुका कुराहरूलाई बाहिर ल्याउँदा करोडौं करोड रुपैयाँ बेरुजु हुने बीपीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि हरेकपटक कागजात छानबिन गरिरहेको हुन्छ । भ्रष्टाचारको आरोपमा यहाँका पदाधिकारीहरू विरुद्ध विशेष अदालतमा मुद्दासमेत दायर भइरहेको अवस्था छ । यस्तो हुनुका पछाडि यहाँका पदाधिकारीहरूमा देखिएको निजी स्वार्थ र नैतिकताको खडेरीको परिणाम हो । त्यही नैतिकता र निजी स्वार्थका कारण नै सिटीस्क्यानजस्ता सेवाहरू बाहिरका अस्पतालबाट लिइरहनु परेको अवस्था छ । यो आफैमा लज्जास्पद विषय हो तर, यहाँका पदाधिकारीलाई त्यो सामान्य लाग्छ । किनकि उनीहरू कमिसनमा चुर्लुम्म डुबेका छन् । बिरामीलाई सहज रूपमा उपचार दिने विषय उनीहरूका लागि सामान्य बनिदिन्छन् । यो समस्या हालैको होइन । रोगकै रूपमा रहेको छ । बीपी प्रतिष्ठानले अन्य रोगको निदान गर्न सक्छ तर, भ्रष्टाचार र अनियमितताको निदानको सट्टा बढाउँछ मात्रै । सिटीस्क्यानको समस्या किन आइरहेको छ, यसको गम्भीर जवाफ खोज्ने बेला आउँदै छ ।

समस्या सिटीस्क्यानको मात्रै हैन, ल्यावका अन्य खालका सेवाप्रति पनि विश्वास गुम्दै गएको अवस्था छ । स्वास्थ्य सेवामा सोर्सफोर्स लाउनुपर्ने अवस्था छ । आफन्त नभएको हकमा उपचार नै नपाउने हो कि भन्ने त्रास लिएर बीपीमा उपचार गर्न जानुपर्ने अवस्था छ । सघन कक्षको अवस्था त्यस्तै छ, एउटा सामान्य शल्यक्रियाका लागि महिनौंसम्म कुर्नुपर्ने बाध्यता छ । यतिसम्म कि भिडियो एक्स–रे गर्नुपरेमा महिनौं पछाडि पालो पर्खिनुपर्ने अवस्था छ । तत्काल चाहिएको अवस्थामा बाहिरबाट गराएर ल्याउनुपर्ने बाध्यता छ । यस्ता कयौं समस्या बीपीको स्वास्थ्य सेवामा देखिँदै गएको छ । उता शैक्षिक सेवामा पनि नातावाद, कृपावाद झाङ्गिँदै गएको अवस्था छ । लाखौं खर्च गर्दा पनि पढ्न नपाउने र पढ्न पाइहालेमा पनि सोर्सफोर्सबाट जानुपर्ने अवस्था छ । यस्तो अवस्थाको अन्त्य नभएसम्म बीपीबाट आमजनताले कस्तो अपेक्षा गर्ने ? के एउटा सामान्य सेवा लिन विराटनगर पुग्नुपर्ने नै हो त ? यस्तो अवस्थालाई निर्मूल पार्नका लागि बीपीका पदाधिकारीहरूले कहिले सोच्लान् ? प्रश्न सामान्य छ, तर उत्तर गम्भीर छ । यसको खोजी पक्कै पनि हुनुपर्छ तर, यसलाई खोज्ने कसले ?