बेलबारी / इलाम रोङ गाउँपालिका–४ प्युरेका भीमबहादुर मगर तीन वर्षअघिसम्म २८ रोपनी जग्गा र एउटा घरका मालिक थिए । धनीपुर्जाका आधारमा २८ रोपनी जग्गा अझै उनकै नाममा छ । तर, पहिरोले उनी अहिले सुकुम्बासी भएका छन् । सबै जग्गा र घर पहिरोसँगै बग्यो । अहिले उनी अर्काको घरमा शरण लिएर बसेका छन् ।
३ वर्षअघि मोरङको लेटाङ नगरपालिका–१ स्थित अँधेरी खोलामा आएको पहिरोले २ घर पुरिए । जसमा एक जनाको ज्यानसमेत गएको लेटाङ–१ का वडाध्यक्ष विष्णु मगरले बताए । त्यसैगरी मोरङको केराबारी गाउँपालिका–२ स्थित गत साउनमा गएको पहिरोले ३ घर विस्थापित हुन पुगे, जसमा एक महिलाको पहिरोले पुरेर मृत्यु भएको केराबारी गाउँपालिकाकी उपाध्यक्ष शान्तीकुमारी लिम्बू बताउँछिन् ।
उपाध्यक्ष लिम्बूका अनुसार केराबारीस्थित चुरे क्षेत्रका थुप्रै खेतीयोग्य जमिन बर्सेनि पहिरोले बगाउने गरेको छ । वैशाखमा सोही गाउँपालिकाको चुरे क्षेत्र अनुगमनमा जाने क्रममा आफ्नै गाडी पहिरोले पुरेको उनी बताउँछिन् । ‘धन्न गाडी रोकेर सबै बाहिर निस्किएको समयमा पहिरो गयो र मात्र हामी बाँच्न सफल भयौँ’–उपाध्यक्ष लिम्बूले भनिन् ।
नेपालमा पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३७ वटा जिल्लाहरूमा फैलिएको र कुल भू–भागको १२.७८ प्रतिशत चुरे क्षेत्रमा पर्दछ । तर, लगातारको चुरे दोहनका कारण पूर्वी नेपालका सयौं बस्ती पहिरोको चपेटामा छन् ।
स्थानीय तहहरूले आफ्नो भरपर्दो आम्दानीको स्रोतका रूपमा लिएको खोला, नदी ठेक्का पनि एक हो । जसको दीर्घकालीन र प्रत्यक्ष असर चुरे पहाडमा पर्छ । बर्सेनि वर्षाको समयमा पहिरो जाँदा गाउँ नै विस्थापित हुनुपर्ने बाध्यता बन्दै आएको छ । चुरे दोहनका कारण पहिरोको मात्र होइन, जमिन भासिने समस्या पनि उत्तिकै छ । सामान्यतया पूर्णरूपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरू यही चुरे क्षेत्र भई तराईतर्फ बग्ने हुँदा प्राकृतिक रूपले यो क्षेत्र अत्यन्तै संवेदनशील रहेको छ ।
सरकारले केही वर्षअघि मात्र राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति नै बनाएको छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति अन्तर्गत मोरङको सुन्दरहरैंचास्थित कार्यक्रम कार्यान्वयन इकाई रहेको छ । यस प्रकारका इकाई देशभरमा ५ स्थानमा रहेका छन् । सुन्दरहरैंचामा रहेको यस कार्यालयको इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा र उदयपुर गरी ७ जिल्ला कार्यक्षेत्र रहेको छ । तर, चुरे नियन्त्रणको लागि छुट्टै ऐन कानून नभएको कारण व्यवस्थापनमा कठिनाइ देखिन्छ ।
विकासका नाममा जथाभावी खनिएका सडक र त्यही सडकले छियाछिया बनेको पहाड चुरे दोहनको प्रमुख कारण हुनसक्छ । त्यसैले जिम्मेवार निकाय समयमै सचेत नबने चुरे सकिएर खेतीयोग्य तराईका जमिन बगरमा परिणत नहोला भन्न सकिँदैन ।