कोभिड १९ बाट परिवारका वयोवृद्ध हजुरबुबादेखि नातिसम्म सबै एक साथ संक्रमित भए । परिवारको कसैलाई पनि छोडेन कोरोनाले । आमा–बुबा, छोरो–छोरी, हजुरबुबा, हजुरआमा र नाति नातिनी सबैलाई पोजेटिभ बनाई छाड्यो कोरोनाले ।

वराहक्षेत्र वडा नं. २ बस्ने यातायात व्यवसायी ५३ वर्षीय युवराज भट्टराई एक महिना अघि काठमाडौंबाट घर फर्किए । केटाकेटीको परीक्षा समाप्त भएपछि घर आएको भोलिपल्ट घरका मुली उनलाई हलुका जिउ दुख्यो । शरीर कटकटी खायो । बिहानदेखि लगातार सबैलाई उस्तै तरिकाले जिउ दुख्ने र कटकटी खाने हुन थाल्यो । जिउ दुखे पनि ज्वरो भने आएन ।

कोरोनाको शंका लागेर विराटनगरस्थित अस्पतालमा पिसीआर चेक गराए ।  ५३ वर्षीय युवराज उनकी ५२ वर्षकी श्रीमती, १९ र २२ वर्षका छोराछोरी र ८६ वर्षका पिता काशीनाथ भट्टराई र ६९ वर्षकी आमा घरका सबै ६ जनाको रिपोर्ट पोजेटिभ आयो । 

कोरोना भएपछि पहिला त सबै निकै डराए । के गर्ने कसो गर्ने ? सबै बिरामी भएका छन् । ‘औषधि उपचार कसले ? अनि कसलाई र कसरी गर्ने ? केही सोच्न सकेनौं ।’ युवराजले भने, ‘काठमाडौंमा हुँदा स्वास्थ्य मापदण्ड सबै पालना गरेको थिएँ, सामाजिक दूरी, नियमित साबुनपानीले हात धुने र मास्क पनि अनिवार्य लगाउने गरेको थिएँ, तर पैसाको लेनदेनमा सावधान नहँुदा पो कारोना स¥यो कि ?’ 

कोभिड संक्रमित भएपछि समाजिक सञ्जालमार्फत् गाउँटोल, छरछिमेक र आफन्त सबैलाई जानकारी गराए । तत्कालै वडा अध्यक्ष हरिकृष्ण भट्टराईले फोन गरे । उनी लगायत चतरा प्राथमिक सेन्टरका डाक्टर अनिल गिरी घरमा आएर हौसला दिए । इष्टमित्र साथीभाइले सञ्जालमा स्वास्थ्य लाभको कामना गरे । 

‘सबैको साथ सहयोग र सपोर्टले धेरै हौसला आयो, तर कताकता डर पनि लागिरहेको थियो, विश्व कोरोनाले आक्रान्त छ, अहिले औषधि पनि उपलब्ध छैन, कोरोनाको त्रास लागि नै रह्यो ।’ युवराजले भने, ‘तर परिवारलाई आइलागेको ठूलो संकटको समयमा कोरोना महामारीसँग लड्नुको अर्को विकल्प नभएपछि परिवारका सबै जना एकजुट भएर लड्ने निश्चित गर्यौं ।’ 

युवराज भन्छन्, ‘त्यसपछि घरमा बसेर चिकित्सकले दिएको औषधिहरु नियमित सेवन गर्न थाल्यौं, दिनमा धेरै पटक साबुन पानीले लगातार हात धुने, एक आपसमा व्यक्तिगत दुरी बनाएर बस्यौं । खानामा झोल पदार्थ बढी प्रयोग ग¥यौं, यहाँसम्म कि आफन्तले ल्याइदिएको स्याउ, अंगुरलाई उसिनेर खायौं ।’ 

‘यस बीचमा हामीले सबैभन्दा महत्वपूर्ण कुरा के ग¥यौं भने, नकारात्मक सन्देश दिने सबै प्रकारको टिभी, इन्टरनेट, रेडियोजस्ता सबै उपकरण बन्द ग¥यौं । यहाँसम्मकी साथीभाइ, इष्टमित्रको आउने फोनबाट समेत टाढा रह्यौं ।’ 

‘साउनमा बुबा ८७ वर्षमा प्रवेश गर्दै हुनुहुन्छ, उहाँलाई शरीरको बायाँ भागमा पक्षघात भएको छ । उपचारले केही हदसम्म ठीक भएपनि शारिरीक काम गर्न धेरै गाह्रो छ ।  आमालाई घुँडा दुख्ने समस्या छ । यता हामी दम्पति र दुई सन्तान घरका सबै कोरोना संक्रमित छौं । छरछिमेकको सहयोग लिउँ, महामारी अझ फैलिने डर । 

यो सबै विपरीत परिस्थिति तथा विषम् संकटपूर्ण घडीमा कोरोनालाई जित्ने हामीसँग एउटै मात्र मूलमन्त्र थियो– त्यो हो निको हुने हाम्रो प्रबल इच्छाशक्ति र स्वास्थ्य मापदण्ड अपनाएर डाक्टरको सल्लाह अनुसारको औषधिको सेवन गर्नु ।’ युवराजले भने ।  

‘भन्न छुटाउन नहुने अर्को कुरा, आमाबुबा शरीरले वृद्ध हुनुहुन्छ, तर उहाँहरुमा जिउने गजब्बको हौसला छ । यति ठूलो महामारीमा समेत जीवन प्रति सकारात्मक रहनुभयो । उहाँहरुले सधै कोरोना रुघाखोकी जस्तै हो, निको हुन्छ भनेर सोच्नु भयो । तर योसँगै चिकित्सले भनेअनुसार औषधि खाने तथा कोरोना गाइडलाइनलाई कडाइका साथ पालन पनि गर्नुभयोे ।’  

केही समयपछि नगरपालिकामा फेरि कोरोनाको ¥यापिड एन्टिजेन टेस्ट गराउँदा भट्टराई परिवारमा कोरोना नेगेटिभ आयो । 

‘हामीले कोभिडको एक खोप पनि लिएका छौं, करिब १५ दिनमा म निको भएँ र पछि अरु पनि स्वस्थ हँुदै गए । अहिले परिवारका हामी सबै जना पूरै जाती भएका छौं,’ खुसी व्यक्त गर्दै युवराज भन्छन्, ‘हाम्रो अदम्य इच्छाशक्तिले अन्ततः कोरोना भाइरसलाइ हराई छाड्यौं ।’ 

उनी अगाडि थप्छन्, ‘हामी त निको भयौं, तर कोभिड महामारी अझै जिवित छ, यसलाई हराउन सबैले कोरोना गाइडलाइनलाई मान्नुको अर्को विकल्प छैन । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु बुद्धिमत्ता हो । हामीे कोरोना रिकभर भएर पनि गाइडलाइन लाई पूर्णरुपमा पालन गरिरहेका छौं ।’ 

आफ्नो बचाउ गर्दागर्दै पनि कसैगरी संक्रमण भइहाल्यो भने पनि कत्ति पनि नडराई सम्पूर्ण आत्मविश्वासका साथ औषधी खाने र यसबाट बच्ने नियम मान्ने हो भने कोभिड १९ माथि जित सम्भव भएको युवराजको सन्देश छ । उनी भन्छन्, ‘तर कुनै पनि हालतमा रोग भने नलुकाउनुहोस्, खुलस्त भएर सबैलाई जानकारी गराउनुहोस् । आफू पनि बच्नुहोस्, अरुलाई पनि बचाउनुहोस् ।