कोरोना महामारीका कारण अरू समय भीडभाड हुने सहर बजार ठप्प छन् । कलकारखाना, उद्योगधन्दा, होटल व्यवसायदेखि अधिकांश कार्यालयहरू अहिले बन्द अवस्थामा छन् । सहरी क्षेत्रमा दैनिक रोजगारी गरिखाने वर्ग बेरोजगार बनेपछि गाँस, बासको समेत समस्या हुन थालेको छ । तर, यो बेला गाउँमा भने किसानहरू खेतीपातीको काममा व्यस्त छन् ।

उनीहरूलाई निषेधाज्ञाले खासै छोएको छैन । सहरमा निषेधाज्ञा सुरु भएपछि धेरैजना आफ्नो गाउँ फर्किएका छन् । उनीहरू पनि कृषिमा सक्रिय बनेका छन् । यसपटक मात्र होइन, अघिल्लो वर्षको लकडाउनमा पनि विदेशबाट फर्किएका र सहरबाट फर्किएका धेरैले गाउँमा कृषिकर्म गरिरहेका छन् । सुखको खोजीमा सहर पसेकामध्ये धेरैलाई चेत पनि भएको छ कि दुःख पर्दा आफ्नै गाउँघर चाहिने रहेछ ।

गाउँमा लहलहाउँदो धान फल्ने खेत, तरकारी र अन्न टन्न फल्ने बारी बाँझै राखेर सहरमा मजदुरी गर्न झरेका वा खाडीमा पसिना बगाउन विदेशिएकाहरू समस्या परेपछि आफ्नै गाउँ फर्किएका छन् । उनीहरूले गाउँ फर्किएर गरेको कृषिकर्म प्रशंसनीय छ ।

फेरि पनि महामारी शान्त भएपछि सहर पस्ने सोच त्यागेर गाउँमै पसिना बगाउने सोच पलाए देश र आफ्ना लागि समेत त्योभन्दा उत्तम केही हुँदैन । सहरमा कोरोना महामारीले समस्यामाथि समस्या थपेका बेला निराश भएर बस्नुभन्दा गाउँमा स्वास्थ्य सुरक्षा अपनाउँदै कृषिकर्ममा लाग्नु अहिलेको अवस्थामा सबै हिसाबले बुद्धिमानी हुन्छ ।

यस्तो कार्यलाई स्थानीय तह र विभिन्न तहका सरकारहरूले पनि प्रोत्साहन गर्नसके कृषिप्रधान देश भन्ने नाराले समेत सार्थकता पाउनेछ । सरकारले कृषिका नाममा हालसम्म छुट्याएका बजेटको अधिकांश हिस्सा दुरुपयोग हुने गरेको सबैलाई प्रष्ट नै छ । दुःख गर्ने वास्तविक किसानले सरकारको सहयोग, अनुदान पाउन मुस्किल छ ।

बरु कागजी प्रक्रिया मिलाउन जान्ने, नेता, कार्यकर्ता र कर्मचारीसँग मिलेमतो गर्न सक्नेले मात्र अनुदान र सरकारको कार्यक्रम पाउने गरेका छन् । त्यसकारण पनि गाउँमा बसेर कृषिकर्म गर्नेहरू निराश र हतास देखिन्छन् । वास्तविक कृषकलाई प्रोत्साहन दिनसके यस्तो सङ्कटका बेला कृषि देशको आम्दानीको महत्वपूर्ण स्रोत हुन सक्छ ।

कोरोना महामारीले उद्योगधन्दा ठप्प हुँदा धेरैको रोजीरोटी गुमेको छ तर, यस्तो बेला कृषिमा भने धेरै काम गर्न सकिन्छ । कृषिकर्म गर्न उद्योगधन्दा जसरी एकै ठाउँमा धेरैजना भेला नभई पनि गर्न सकिन्छ । सामाजिक दूरीमा रहेर पनि कृषिकर्म गर्न सकिने हुँदा अहिलेको समयमा बेरोजगार भएकाहरूलाई समेत कृषिमा लगाउन सरकारले कार्यक्रम ल्याउनु उचित हुन्छ ।

यो समयमा गाउँ तथा कृषि विकासका काम गर्न सकिन्छ । समस्या भयो भनेर चिन्तामा बस्ने होइन, यसलाई अवसरका रूपमा लिएर अघि बढ्न आवश्यक छ । यही बेला विभिन्न तहका सरकारले नीति बनाएर कृषिको विकास गर्नका लागि अवसर पनि आएको छ ।

गाउँका घरहरू आफैमा टाढा, खुल्ला ठाउँमा हुने हुँदा र जनघनत्व पनि कम हुने भएकोले कोरोना जस्ता सङ्क्रमणबाट सहरको तुलनामा जोखिम कम हुन्छ । सहरमा भने आपसमा जोडिएका घर, भीडभाडजस्ता कारणले जोखिम बढी छ । सहरबाट गाउँ फर्किनेहरूका कारण पनि कोरोनाको जोखिम गाउँसम्म फैलिन सक्छ भन्नेतर्फ ध्यान दिएर सतर्कता अपनाउँदै कृषिमा लाग्नु आवश्यक छ ।

कृषि पेशालाई हेला गर्नेहरूले समस्याका बेला कृषिको महत्व बुझ्न थाल्नुलाई सकारात्मक रूपमा लिनुपर्छ । अब कृषिलाई हेला होइन, महŒवका साथ सहयोग गर्नु आवश्यक छ । अझ नेपालजस्तो कृषिमा आश्रित बहुसङ्ख्यक जनसङ्ख्या भएको देशमा कृषिलाई बेवास्ता गर्नु आफैमाथि बेवास्ता गर्नुसरह हो । त्यसैले पनि अबको विकल्प कृषिमा लगानी र कृषकलाई प्रोत्साहन नै हो ।