विषय प्रवेशः

नेपाल अनुपम प्राकृतिक सौन्दर्य र प्राचीन धर्म संस्कृतिको देश हो । विश्वको सर्वोच्च हिमशृङ्खलाको टाकुरा सगरमाथाद्वारा सुशोभित हाम्रो देश नेपाल मानव सभ्यता र धर्म संस्कृतिको एक प्रमुख उद्गम स्थल नै भएको छ ।

यहाँका हिमाली, लेख, पाखा, उपत्यका बेँसी फाँटमा बस्ने हाम्रा पितृपुर्खाहरूले प्राचीनकालदेखि नै अनेक परम्परा, मान्यता तथा धारणा र विश्वास आत्मसात गरी समय समयमा विविध प्रकारका र थिति रीतिहरू चलाएर जीवनलाई सरस, सुन्दर र सारपूर्ण बनाएर गए । आजका हाम्रा सांस्कृतिक वैभव र परम्पराहरू ती हाम्रा पितृपुर्खाहरूले नै हामीलाई छोडेर गएका नासो हुन् ।

त्यसलाई समय अनुकूल विकसित पार्दै त्यसमा सुनमा सुगन्ध झैं अनेकन विशेषताहरू थपिदिए । तीमध्ये वैशाख कृष्ण औंसी तिथिमा पर्ने वैशाख शुक्लपक्षको तृतीया अर्थात् अक्षय तृतीया पनि एम हो ।

यस वर्ष नेपाल संवत् ११४१ अनुसार वछलाथ्व तृतीया वैशाख ३१ गते शुक्रबारका दिन अक्षय तृतीया पर्दछ । यो समय ऋतुराज वसन्त ऋतुले वासन्ती छटा देखाई प्रकृतिमा सुन्दर मनोहर वातावरणको सिर्जना गरेको हुन्छ ।

अक्षय तृतीयाः

वैशाख शुक्ल तृतीया तिथिमा पर्ने उत्सव चाडलाई अक्षय तृतीया भनिन्छ । यो दिन दान गरेको धर्मघडा, पुण्य गरेको वा परोपकार गरेको खण्डमा त्यसको पुण्य गरेको वा परोपकार गरेको खण्डमा त्यसको पुण्य सञ्चय भई धर्म कमाइन्छ भन्ने विश्वास रहेको छ । ‘अक्षय’ भनेको ‘नाश नहुनु’ हो ।

त्यसैले यो दिन गरेको पुण्यकर्म जन्मजन्मान्तरसम्म नष्ट नभई पुण्य कर्मको फल प्राप्त हुन्छ भन्ने उल्लेख रहेको छ । यो समय ज्यादै गर्मी बेलाको समय भएकोले सख्खरपानी पिएर शीतल गरिन्छ । त्यसैले यो दिन जौको सातु बनाएर चाकु, घिउ, चिनी, दही आदि मिलाएर दान दिने चलन रहेको छ । यसरी नै घरघरमा सातु्सर्वत खाने र अरूलाई पनि खुवाउने गर्दछन् । 

सर्वतले भरिएको घडा, छाता, जुत्ता, लठ्ठी, पङ्खा दान गरेमा अक्षयफल प्राप्त हुन्छ । यसको अर्को प्रतीकात्मक पक्ष के हो भने गर्मी मौसममा दान गरिने यी वस्तुले जीवित मान्छेलाई त प्रत्यक्ष फाइदा पुग्छ भने स्वर्ग भएका पितृका नामले अर्पण गरिने यी वस्तु पितृले पाउँछन् भन्ने जनविश्वास छ । दान गरिएका यी दातव्य वस्तुले दाताको पुण्य सञ्चित भई अक्षय प्राप्त हुन्छ । यो दिन परोपकार गर्ने दिनको रूपमा अत्यन्त प्रचलित शुभ र महŒवपूर्ण मानिन्छ । 

पौराणिक आख्यानअनुसार यस दिन सत्ययुग समाप्त भई त्रेतायुग सुरु भएको दिन हो । शिव र पार्वतीको विवाह भएको दिन हो । दीपङ्कर बुद्धको जन्मदिन पनि यसै दिन भएकोले नेवार सम्प्रदायले यो दिन पञ्चदान गर्ने परम्परा रहेको छ । जाडो मौसममा जान नसकिने हिमाल, पहाडमाथि रहेको भगवान शिवको देवालय जलकुण्ड, तीर्थस्थलहरूको ढोका खुल्ने दिन पनि यही अक्षय तृतीयाको दिन हो । 

बागमती प्रदेशस्थित रसुवा जिल्लाको उत्तरी भेग करिब ४,३७० मिटरको उचाइमा रहेको हिमाली क्षेत्रमा पर्ने विशाल जलकुण्डताल त्रिशूली नदीको उद्गमस्थल गोसाईंकुण्ड नेपालको अति प्रसिद्ध तीर्थस्थल हो । यो भगवान शिवको कुण्ड हो ।

प्राकृतिक सौन्दर्यको अनुपम देन गोसाईंकुण्डमा भगवान शिवले पनि रमणीय शीतल जलकुण्ड देखेर अत्यन्त खुशी हुँदै कैलाशतर्फ जान बिर्सेर यसै कुण्डमा प्रवेश गरी धेरै कालसम्म कुण्डमा नै शयन गरिरहनुभएको नेपाल महात्म्य हिमवत्खण्डमा उल्लेख भएको पाइन्छ ।

पौराणिक मान्यताअनुसार शिवको बासस्थान कैलाश र देवी पार्वतीको माइतीघर हिमालय पर्वतको यस गोसाईंकुण्डमा यसै अक्षय तृतीयाको दिन ठूलो मेला लाग्दछ । उल्लेख भएअनुसार गोसाईंकुण्डमा डुबुल्की मार्दा आज पनि उक्त जलभित्र शिवपार्वतीको दर्शन हुने जन विश्वास रहेको छ । नेवार सम्प्रदायका जातिले गोसाईंकुण्डलाई शिलुतीर्थको नामले उच्चारण गर्ने गर्दछन् । 

उपसंहारः

हरेक चाडपर्व, उत्सव एवम् सांस्कृतिक परम्पराहरू देशका राष्ट्रिय पहिचान हुन् । यस्ता कुराहरूको अन्त्य हुनु भनेको राष्ट्रिय पहिचान गुम्नु हो । राष्ट्रिय पहिचानको जगेर्नाका लागि पनि चाडपर्व एवम् सांस्कृतिक परम्पराको प्रवद्र्धन र सम्बद्र्धन गर्नु हाम्रो नैतिक दायित्व हो ।

(कर्माचार्य धरानका सौरभ नामक पुस्तकका लेखक तथा धार्मिक, सांस्कृतिक सामग्रीका खोजमूलक स्तम्भकार हुन् ।)