प्रधानमन्त्री केपी शर्मा ओली सरकार विश्वासको मतको प्रस्तावपछि अल्पमतमा परेपश्चात् आज दलहरूको भूमिका अहम् बन्दै गएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि तीन दिनभित्र सरकार गठनका लागि समर्थन लिन आह्वान गरिसकेको अवस्थामा दलहरूले आ–आफ्नो भूमिकालाई पक्कै पनि मनन् गरेको हुनुपर्छ ।

आजका दिनमा सरकारको जोडघटाउ वा एकले अर्कोलाई समर्थन र सहयोग नगर्ने अवस्थामा दलहरूले भूमिका निभाउनु हुँदैन । किनकि हामी यस्तो परिस्थितिमा छौं, जुन परिस्थिति विश्वले भोगिरहेको छ, हामी पनि त्यसको चपेटामा परेका छौं । कोरोना महामारीको यस्तो विषम परिस्थितिमा राजनीतिक दलहरूले सुझबुझका साथ सरकार गठन गर्नेतर्फ पाइला चाल्नुपर्छ ।

यो आजको आवश्यकता हो । सरकार गठनमा रुमल्लिने अवस्था सिर्जना भइरहेमा कोरोनाको दोस्रो लहरबाट हामी थप प्रताडित बन्दै जानेछौं, त्यसको दोष पनि दलहरूले लिनुपर्ने हुन्छ । राज्य संयन्त्र योबेला कोरोनालाई जित्नका लागि विभिन्न विकल्प तथा उपायहरूको खोजीमा लाग्नुपर्ने बेला हो । त्यसका लागि कामचलाउ बनिसकेको सरकार र राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गरिसकेको अवस्था छ । 

संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपतिले सरकार गठनका लागि जुन आह्वान गर्नुभएको छ, त्यसमा दलहरू पनि संवेदनशील बन्दै सरकार बनाउनेतिर ध्यान दिनुपर्छ । आजको दिनमा नेपाली काङ्ग्रेसले सरकारको नेतृत्व गरेर अगाडि बढ्ने गरी जुन तयारी भइरहेको छ, त्यसमा अन्य दलहरूको भूमिका पनि अपरिहार्य छ ।

किनकि बहुमतीय सरकार बन्न नसकेमा फेरि पनि धारा ७६ (३) अनुसार संसद्मा सबैभन्दा ठूलो दल रहेको नाताले पुनः केपी शर्मा ओलीले नै सरकार गठनका लागि दाबी गर्न सक्ने अवस्था आउँछ । त्यो बेलामा अल्पमतमा परेको केपी ओली सरकार फेरि पनि अल्पमतमा पर्ने सम्भावना बढ्छ र, ओली सरकारले जुन चुनावी एजेण्डा अगाडि सारिरहेको छ, अन्ततः त्यही अवस्थामा पुग्नुपर्ने हुनसक्छ ।

कोरोनाको यो महामारीका बीचमा चुनाव गरिनु आफैमा प्रत्युत्पादक हुन्छ । किनकि चुनावी खर्च एकातिर छ भने अर्कोतिर हामी कोरोनाबाट थप पीडित बन्नुपर्ने अवस्था आउन सक्छ । दलहरूको ध्यान चुनावतिर भन्दा पनि अहिले नागरिकहरूलाई खोप दिलाउनेतिर बढीभन्दा बढी ध्यान हुनुपर्छ ।

त्यसका लागि पनि दलहरू सरकार बनाएर नागरिकको जिउधनको सुरक्षामा खटिनुपर्छ । खोप ल्याउने वातावरण तयार गरिनुपर्छ । आजको आवश्यकता त्यो हो । अहिलेको गणितलाई अध्ययन गर्दा १२४ मत नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहबाट प्राप्त भएको थियो।

कम्तीमा अब बहुमत पु¥याउनका लागि १२ मतको आवश्यकता छ । यसका लागि जसपाको अर्को समूह जो तटस्थ बसेको थियो, उसलाई पनि सरकारमा ल्याउने वातावरण सिर्जना गरिनुपर्छ । सबै दलहरूले मिलिजुली सरकार गठन गरेर आजको समस्या समाधान गर्नेतर्फ ध्यान जानुपर्छ । 

राजनीतिमा सम्भावनाको खेल भइरहन्छ । जुनसुकै बेला पनि सम्भावना जीवित रहन्छ । त्यसैले आजको मितिमा सरकार गठन नहोला भन्न सकिँदैन । कि त बाबुराम भट्टराईले भनेजस्तो सामूहिक सरकार गठन गरेर कम्तीमा एकवर्ष पछि चुनाव गर्नेतर्फ पाइला चाल्नुपर्छ ।

अहिले एकले अर्कालाई निषेध गर्ने बेला होइन, यो बेला जतिसक्दो चाँडो सरकार गठन गर्ने र अहिलेको महामारीबाट जनतालाई जोगाउने अभिभारा महŒवपूर्ण हो ।

राष्ट्रपतिले पनि हिजोजस्तो आफ्नो भूमिकालाई ओली मनसुवाअनुसार सञ्चालन नगरी देशको सङ्कटको अवस्थालाई मध्यनजर गरेर अगाडि बढ्नु श्रेयष्कर हुन्छ । दलहरूलाई सरकार बनाउनका लागि जुन समयसीमा तोकिएको छ, त्यो कुनै न कुनै रूपमा ओली मनसुवाअनुसार चलेको प्रतीत हुन्छ ।

संवैधानिक व्यवस्थाअनुसार गठबन्धनको सरकार बनाउनका लागि समय दिनुपर्छ र दलहरू पनि जतिसक्दो चाँडो सरकार बनाउन उद्यत हुनुपर्छ । अहिलेको माग नै यही हो ।