कोरोना महामारीको दोस्रो लहर चलिरहँदा बजारमा खाद्यान्न, तरकारी, फलफूलजस्ता दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि र कालोबजारी भइरहेकै छ । पछिल्लो समय औषधिमा पनि कालोबजारी भइरहेको पाइएको छ, त्यो पनि कोरोना सङ्क्रमितका लागि अत्यावश्यक औषधिको । यो कोरोना सङ्क्रमितको स्वास्थ्यमा खेलवाड हो । मानव जीवनमाथि नै खेलवाड हो । गम्भीर लक्षण भएका कोरोना सङ्क्रमितको उपचारका लागि अस्पतालले ‘रेम्डेसिभिर’ नामको औषधि ल्याउन बिरामीका आफन्तलाई खबर गर्छ । त्यसपछि बिरामीको परिवार कालाबजारियाहरूको फन्दामा पर्छ । नेपालमा यो औषधिको अभाव भएपछि भारतबाट तस्करी हुने गरेको पहिलो लहरको कोरोना महामारीदेखि नै हो । भारतमा प्रतिभाइल भारु २ हजार ८ सयदेखि ४ हजार ५ सयसम्म पर्ने यो औषधि नेपालमा कालोधन्दा चलाउने गिरोहहरूले १५ देखि २५ हजार रुपैयाँसम्म लिएर बिरामीका आफन्तलाई बेच्ने गरेका छन् । एउटा बिरामीलाई ६ भाइल इञ्जेक्सनमार्फत् दिनुपर्ने हुनाले बिरामीको परिवारले लाखौं खर्च गर्नुपर्ने अवस्था छ । बजारमा सजिलै नपाइने हुनाले बिरामीका परिवार तिनै दलाल, गिरोहसँग महँगो मूल्यमा किन्न बाध्य छन् । सरकारले यस्तो बदमासी गर्नेहरूलाई कडा कारबाही गर्न नसक्दा औषधिमा कालोबजारी मौलाएको छ ।

‘रेम्डेसिभिर’ भारतबाट तस्करी गरेर नेपाल ल्याई महँगोमा बेच्ने र पीडित सर्वसाधारणलाई चर्को आर्थिक भार बोकाउने धन्दा सरकारले नियन्त्रण गर्न सकेको छैन । कतिपय यस्तो अवैध गतिविधि गर्नेलाई राजनीतिक दलका नेताहरूले नै जोगाउने गरेका छन् । त्यसकारण पनि गिरोह सञ्चालन गर्नेहरूको मनोबल बढेको देखिन्छ । भारतबाट ल्याएर महँगोमा बेच्ने मात्र होइन, नक्कली ‘रेम्डेसिभिर’ नै बनाएर धन्दा चलाउने समूहका दुई जना विराटनगरमा पक्राउ परेको घटनाले पनि कालोबजारी गर्नेहरूको मनोबल बढेको बुझ्न सकिन्छ । गत मङ्सिर ८ मा प्रहरीले विराटनगर–१३ सैनिक टोलका ३६ वर्षीय नरेश यादवलाई तस्करीको १० भाइल रेम्डेसिभरसहित पक्राउ गरेको थियो । प्रहरीले उनलाई कारबाहीका लागि औषधि व्यवस्था विभाग विराटनगरमा बुझाए पनि राजनीतिक दलका नेता र सांसद्हरू समेत उनलाई जोगाउन लागिपरेका थिए । त्यसपछि उनलाई हाजिर जमानतमा छाडिएको थियो । हो, यसरी बद्मासी गर्नेलाई संरक्षण गरिएपछि उनीहरूको मनोबल बढ्छ र त्यसको मूल्य समाजले चुकाउनु पर्छ । अहिले भइरहेको पनि त्यही हो ।

कोरोना जस्तो जटिल सङ्क्रमणको अहिलेसम्म औषधि उपलब्ध छैन । हाल प्रयोग भइरहेका औषधिहरूले बिरामीलाई केही राम्रो गर्ने हो । कतिपय यस्ता औषधि अहिले पनि परीक्षणकै रूपमा प्रयोग भइरहेका छन् । यस्तो अवस्थामा औषधि नै नक्कली बनाएर बेच्नु गम्भीर अपराध हो । यस्ता व्यक्तिहरूलाई कडा कारबाही हुनु आवश्यक छ । विराटनगरमा पक्राउ परेका दुई व्यक्ति फार्मेसीमा औषधि बिक्री गर्ने मात्र हुन् । प्रहरीकै भनाइमा पनि यो धन्दामा ठूलो गिरोह नै सक्रिय छ । यस्तो अवैध धन्दामा ठूलै व्यापारिक घरानाहरू पनि संलग्न हुन सक्छन् भन्ने कुरा अघिल्लो वर्षका घटनाक्रमले पनि प्रष्ट पारिसकेकै छन् । वर्तमानमै पनि कोरोना विरुद्धको भ्याक्सिन खरिदमा कमिसनको खेलमा कस्ता कस्ता व्यक्ति संलग्न छन् भन्ने धेरै कुरा सार्वजनिक भइसकेको छ । संसारै खतरामा परेको यस्तो अवस्थामा पनि कमिसन र नाफाखोरीमा लाग्नु अपराध हो । यस्तो अपराधमा संलग्न जोसुकै भए पनि कारबाही गरिनुपर्छ । राजनीतिक, आर्थिक हिसाब–किताब गरेर अपराधीलाई उन्मुक्ति दिँंदै जाने हो भने देश झन् झन् जटिल अवस्थामा पुग्ने निश्चित छ । अतःऔषधिजस्तो अत्यावश्यकीय कुरामा कालोबजारी गर्ने, नक्कली उत्पादन गरेर बिरामीको जीवनमा खेलवाड गर्नेहरूलाई कुनै हालतमा संरक्षण होइन, कडा कारबाही होस् । यसको सञ्जाल पहिल्याएर कानूनी दायरामा ल्याइयोस् । साथै यस्तो धन्दा गर्नेहरूलाई संरक्षण गर्नेहरूलाई पनि कानूनी कठघरामा उभ्याइयोस् ।