– बुद्धिनाथ तिम्सिना (कृषि इञ्जिनीयर, बेलका नगरपालिका, रामपुर उदयपुर)

बेलका नगरपालिकाले कृषि र पशुपालनमा केही गर्नुपर्छ भन्ने निक्र्यौल गरी पहिलो नगरसभाबाटै ‘कृषि जागरण कार्यक्रम’ घोषणा गरी ‘उत्पादनमा हाम्रो साथ बस्दिनँ म खाली हात’ भन्ने मूल नारा अगाडि सार्यो । त्यसपश्चात् हाम्रो पञ्चवर्षीय आवधिक योजना बन्यो । त्यो आवधिक योजनाले कृषि र पशुपंक्षीको विकास गर्ने भनेर १० वटा प्राथमिकताको क्षेत्र मध्ये कृषि र पशुपालनलाई १ नम्बरमा राखेको छ । 

बेलका नगरपालिकाको समग्र भूगोल, अवस्थिति, किसानको चाहानालाई मध्यनजर गर्दै किसानमैत्री ऐन, कानून, कार्यविधि निर्माण गर्ने काम बेलका नगरपालिकाले गरिसकेको छ । त्यसलाई व्यावहारिक तथा आधुनिक कृषि प्रचारको माध्यमबाट कृषिमा यान्त्रीकरणको विकास गर्दै आधुनिकीकरणको उच्चतम बिन्दुसम्म पुग्ने भन्ने लक्ष्यका साथ बेलका नगरपालिका अघि बढेको छ । भइरहेको जनश्रमलाई उपयोग गरी उच्चतम प्रयोग गर्ने भनेर हामीले कार्यक्रम सुरु गर्यौं । 

अहिले बेलका नगरपालिकामा एक वडा एक कृषि प्राविधिक हुनुहुन्छ । ‘कस्टम हायरिङ सिस्टम’मार्फत् बेलका नगरपालिकाले कृषकहरुलाई सुलभ मूल्यमा कृषि यन्त्र, उपकरण प्रयोग गर्न भाडामा उपलब्ध गराउँदै आएको छ ।

बेलका नगरपालिकाले दुई जना कृषि इञ्जिनीयर राखेर कृषिको यान्त्रीकरण र आधुनिकीकरणलाई प्रवद्र्धन गरिरहेको छ । एक वडा एक उत्पादनको अवधारणालाई अघि सारेर वडालाई समेत प्रमुख आकर्षण गराई नगरले कार्यक्रम गरिरहेको छ । 

कृषि प्रसारको अभियानमा ‘अनलाइन डिजिटल प्रणाली’बाट हरेक किसानको रेकर्ड राख्ने र किसानहरुमा हुने सेवा प्रवाहलाई समेत अनलाइन अभिलेखीकरण गर्ने काम भएको छ । यसबाट बेलका नगरपालिकाले धेरै किसानलाई प्रदान गरेको सेवा सुविधाको आँकलन गर्न समेत ‘उत्पादन नियन्त्रण प्रणाली’ भन्ने अनलाइन प्रविधिले सहयोग गरेको छ । 

विदेशबाट फर्किएका कृषि गर्न चाहाने ३१ जना किसानलाई स्वागत अभियानमार्फत् अनलाइन फारम भराएर तालिम प्रदान गरिएको छ । उनीहरुको आवश्यक्ताअनुसार व्यावसायिक योजनासहित उद्यमी बनाउनका लागि ४० हजार रकम सहयोग गरेका छौं । भकारो सुधारसम्बन्धी कार्यक्रममा उल्लेखीय सफलता मिलेको छ । हालसम्म ६०० भकारो सुधारको कार्यक्रम सञ्चालन भएको छ । ५०० भन्दा बढी स्थानमा स्यालो ट्युबेलको स्थापना गरिएको छ । फिल्डमा गएर हेर्दा पनि देखिन्छ । पहिले २२– २५ बिघाको अन्तरमा एउटा ट्युबेल र एउटा सिंचाइको अवस्था थियो । अहिले औसत रुपले हेर्ने हो भने ५–६ बिघाको अन्तरमा सिंचाइको कार्यक्रम सञ्चालन भएको छ । ट्युबेल राखिएको छ ।

पहाडी क्षेत्रमा ३५० मिटर टाढा सोलार लिफ्टिङ गरेका छौं । कृषि क्षेत्रका लागि चाहिने आधारभूत उत्पादन सामग्री, प्रविधिलाई किसानहरुको पहुँचमा पुर्याउने काम गरेका छौं । 

उत्पादन र उत्पादकत्व वृद्धिलाई पनि हामीले ध्यानमा राखेका छौं । किसानलाई उन्नत बिउ वितरणका कार्यक्रम ल्याएका छौं । उत्पादन नियन्त्रण प्रणालीका माध्यमबाट हामीले २६ सय किसानलाई धानको बिउ वितरण गर्यौं । विषादि वितरण गर्ने काम गर्यौं । किसानलाई आवश्यक्ता परेका बेला सही विषादि कुन हो भनेर पत्ता लगाउने काम पनि महत्वपूर्ण हुन्छ यो समयमा । 

बाली शिविरहरु वडावडामा सञ्चालन गरेका छौं । पाँच वटा वडामा सम्पन्न भइसकेको छ । यसले एग्रोभेटमा गएर कुन विषादि लिने भन्ने कुरामा किसानलाई सचेत बनाउँछ । कृषि प्राविधिकले स्याम्पल विषादि किसानलाई उपलब्ध गराउने काम गर्नुभएको छ । 

यो वर्ष बेलका नगरपालिकामा ५०० मेट्रिकटनको कोल्डस्टोर निर्माण हुँदैछ । खसीबाख्रा संकलन केन्द्र सञ्चालन गरिरहेका छौं । कृषि बजार निर्माण हुँदैछ । यो आर्थिक वर्षमा बेलका–९ भचुवामा आधुनिक कृषि बजारका केही कामहरु गर्छौं । 

किसानको नजिक रहेका सहकारीलगायतको समन्वयमा यन्त्र, उपकरण सहज रुपमा उपलब्ध गराउने उद्देश्यले ‘कस्टम हायरिङ सेन्टर’को विस्तार गर्दै केही रकम उपलब्ध गराएका छौं । कृषि यन्त्र मर्मत केन्द्र स्थापना गरेका छौं । 

पहिले गनेर हेर्दा ६–७ वटा कृषि फर्महरु भेटिन्थ्यो । ०७३– ७४ पछि कृषि र पशुपन्छीसँग सम्बन्धित ४ सयभन्दा बढी फर्महरु स्थापना भएका छन् । कृषक समूहहरु २० वटा जति थिए अहिले ३५८ वटा छन् । उहाँहरु कृषि क्षेत्रलाई संगठित गर्दै अघि बढ्नु भएको छ । बेलका नगरपालिकाबाट सेवाहरु लिइरहनु भएको छ । 

बेलका नगरपालिकाले कृषि तथा पशुपंछीलाई पहिलो नम्बरमा राखेर त्यहीअनुसार योजना तर्जुमा गर्ने, बजेट विनियोजन गर्ने, आवधिक योजनाले निर्दिष्ट गरेका योजनाअनुसार नै हामीले कार्यक्रम अगाडि बढाइरहेका छौं । 

आत्मनिर्भरताको अवस्था

बेलका नगरपालिकामा आगामी वर्ष आलुको बिउ र आलुमा आत्मनिर्भर बन्दैछ । हामीले उन्नत जातको बिउ लक्षित गरेर ४ ठाउँमा बिउ उत्पादनका लागि २ वर्षभन्दा अघिदेखि काम गरिरहेका छौं । यसले बेलका नगरपालिका भरिका किसानलाई आलुको बिउ खोज्न अरु ठाउँ जान पर्दैन । 

तरकारीमा आत्मनिर्भर भनिहाल्न सकिंदैन । सबै प्रकारका तरकारी बेलका नगरपालिकाले आफैं उत्पादन गर्न नसक्ला तर टमाटरलगायतका तरकारी बाहिरी बजारमा पनि पठाइरहेका छौं । बाहिरबाट पनि केही तरकारी आइरहेका छन् । वडा नं. २ तरकारी उत्पादनका दृष्टिले उर्वर छ । 

धान र मकै धेरै उत्पादन गरी किसानले बिक्री गरिरहनु भएको छ । किसानले भनेको समयमा सही मूल्य पाउन नसकेको अवस्था भने छ । यो नगरपालिकाको पनि चिन्ता र चुनौतीको विषय हो । कुनकुन बालीमा कति न्युनत्तम समर्थन मूल्य तोक्न सकिन्छ भन्ने कुरामा गृहकार्य थालेका छौं । 

किसानलाई बित्तीय सेवाको पहुँचमा पुर्याउने योजनामा छौं । नेपाल सरकारले किसानलाई दिन लागेको ऋण र अनुदान साना किसानको पहुँचमा पुर्याउनका लागि व्यावसायिक योजना निर्माण गर्ने, अनलाइनमार्फत् किसानले बिजनेस प्लान प्राप्त गर्नेसम्मको आधार तयार पारेका छौं ।

बेलका नगरपालिकामा जोन कार्यक्रम सञ्चालनमा छ । अदुवा बेसारको हकमा नगरमा धेरै राम्रो उत्पादन छ । 

कृषि क्षेत्रमा विनियोजित बजेटको विश्लेषण

बेलका नगरपालिकाले पहिलो नम्बरमै कृषि र पशुपन्छीको विकास गर्ने भनेकाले त्यसलाई हामीले बजेट निर्धारण गर्दा पनि सोहीअनुसार गरेका छौं । अघिल्लो वर्ष  कृषिमा मात्रै ४ करोड ६७ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । 

हाल केही रकम परिमार्जन गरेका छौं । दातृ संस्थाहरुलाई कार्यक्रम सहयोग इकाईका रुपमा एकै ठाउँमा राखेका छौं । उहाँहरुले गर्ने काममा दोहोरो नहुने गरी साझेदारी गरेका छौं । 

सशर्त अनुदान र दातृ संस्थालगायतको साझेदारीमा झण्डै १५ करोडसम्म कृषि क्षेत्रको विकास र प्रवद्र्धनमा लगानी भएको छ ।

प्रदेश र संघीय सरकारसँगको अपेक्षा

बेलका नगरपालिका जुन रुपले अघि बढ्न खोजिरहेको छ । त्यही अनुसारको विज्ञ, दक्ष जनशक्तिको ठूलो आवश्यक्ता छ । किनभने काम गर्ने क्षेत्र भनेको स्थानीय तह नै  हो । प्रदेशमा बसे पनि स्थानीय तहमा काम नगरेसम्म देखिंदैन । 

नेपालमा भएका विज्ञहरुले प्रोजेक्टिङ र पाइलटिङ गरेर हरेक प्रदेशमा ५– १० वटा कार्यक्रम सञ्चालन गर्न सकियोस् । उहाँहरुको उपस्थिति स्थानीय तहसम्म हुन सकोस् । स्थानीय तहमा भएका जनशक्तिसँग उहाँहरुको प्रत्यक्ष सरोकार होस् । स्थानीयले बनाएका योजनामा उहाँहरुले सहयोग गर्नुहोस् । उहाँहरुले उत्पादन तथा उत्पादकत्व वृद्धिको कार्यक्रममा सहयोग गर्नुहोस् । त्यसरी विज्ञ जनशक्तिको प्रभावसहित स्थानीय तहसम्म पुग्ने व्यवस्था भए हामी धेरै आभारी हुने थियौं । विकास पनि त्यसरी बढ्छ भन्ने लाग्छ । 

बेलका नगरपालिकासँग त्यति ठूलो आन्तरिक बजेट छैन । नेपालमा कृषिको गौरवको योजना बन्न सक्ने ठाउँ छ भने त्यो बेलका नगरपालिकासँग छ । ६ हजार बिघा खाली भूमियोग्य जमिन अतिक्रमणको सिकार भएको छ । 

बेलका नगरपालिकासँग यो अवसर भएकाले प्रदेश र संघीय सरकारले कृषि र पशुपन्छी क्षेत्रको आफ्नो गौरवको योजना बेलका नगरपालिकामा गरौं भन्ने आग्रह गर्छु । ६ हजार बिघामा अन्तर्राष्ट्रिय स्तरको कृषि तथा पशुपन्छी उत्पादन, प्रदर्शन र यान्त्रीकरण प्रवद्र्धनको हब बनाउन सकौं भन्ने अपेक्षा राख्दछु ।

belaka1

belaka2

belaka3

belaka4

belaka5

belaka6

belaka7