धरान। तेह्रथुमको फेदाप गाउँपालिका–३ जलजलेमा लिम्बू संस्कृति झल्किने सङ्ग्रहालय, पार्क, होमस्टे, ट्रेड सेण्टर सहितको सांस्कृतिक ग्राम बनाइने भएको छ ।

लिम्बू समुदायभित्रको सिङ्गक थरको बाहुल्य रहेको जलजले, तक्मामा ‘याक्थुङ सिङ्गक फाउण्डेशन’ ले सांस्कृतिक ग्रामको अवधारणा ल्याएको हो । त्यसका लागि फाउण्डेशनले हालै ५ रोपनी जग्गाको व्यवस्थापन गरिसकेको छ ।

जम्मा ३० देखि ४० रोपनी क्षेत्रफलमा सांस्कृतिक ग्राम बनाउने योजना रहेको फाउण्डेशनकी अध्यक्ष मीना सिङ्गकले बताइन् । उनी भन्छिन्, ‘आफ्नो थातथलोमा वंश, संस्कार र संस्कृतिको प्रवद्र्धन तथा संरक्षणका लागि यस्तो अवधारणा ल्याएका हौं ।’

सिङ्गक समुदायको संस्कार, संस्कृति, भाषा, साहित्य र शिक्षाको विकासका लागि गठित फाउण्डेशनले ल्याएको यो अवधारणालाई धरान र विभिन्न ठाउँबाट सहयोग समेत प्रदान भइरहेको अध्यक्ष सिङ्गकले बताइन् । हाल व्यवस्थापन भएको पाँच रोपनी जग्गामध्ये आधा चाहिँ स्थानीय कारबारी परिवारले सहयोग स्वरूप प्रदान गरेका हुन् ।

बाँकी फाउण्डेशनले खरिद गरेको हो । सहयोग जुटाएर अन्य जग्गा समेत खरिद गरी त्यहाँ लिम्बू समुदायका ऐतिहासिक वस्तुहरू, संस्कार र संस्कृतिका सामग्रीहरू राखेर सङ्ग्रहालय निर्माण गरिनेछ भने त्यहाँ बन्ने पार्कमा पनि लिम्बू संस्कार र संस्कृतिको अवलोकन गर्न सकिनेछ । अध्यक्ष सिङ्गक भन्छिन्, ‘त्यहाँ बन्ने होमस्टे पूरै लिम्बू संस्कृतिमा आधारित हुनेछ । खानपिन र बसोबास पनि पुरानो लिम्बू गाउँको झल्को दिने गरी व्यवस्थापन गरिनेछ ।’

फाउण्डेशनको योजना अनुसार उक्त सांस्कृतिक ग्राममा मुन्धुमका कथा अनुसारका पात्र र गतिविधि झल्किने संरचना निर्माण गरिनेछ । त्यहाँका ढुङ्गामा पिता पुर्खाको नाम खोपिने अध्यक्ष सिङ्गकले बताइन् । गत साउनमा दर्ता भएको फाउण्डेशनले यसअघि कोरोना सङ्क्रमणका बेला दर्जनौंलाई राहत वितरण गरेको थियो भने हाल पनि धरान र आसपासका क्षेत्रमा आवश्यकता अनुसार विभिन्न सहयोग प्रदान गरिरहेको छ ।

अध्यक्ष सिङ्गक भन्छिन्, ‘लामो समयदेखि गरिब दुःखीका लागि सहयोग जुटाउने काम गरिरहेका छौं । अब आफ्नो संस्कार, संस्कृति र पुर्खाका लागि केही गरौं भनेर लागेका छौं । सबैको सहयोगको अपेक्षा छ ।’