विराटनगर । विराटनगर भन्सार कार्यालयबाट जाँचपास भएर निस्किएको करिब ११ लाख रुपैयाँ बराबरको सामान बोकेको भारतीय नम्बर प्लेटको ट्याक्टरलाई राजस्व अनुसन्धान कार्यालय इटहरीले नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान थालेको छ । 

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानी विराटनगरले बीआर ३८ इ ७४२५ नम्बरको भारतीय ट्याक्टरलाई विराटनगर–१३ स्थित टेलिकम कार्यालय अगाडिबाट नियन्त्रणमा लिएको हो । इन्स्पेक्टर कविन राईको नेतृत्वमा खटिएको टोलीले चालकसहित ट्याक्टरलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी कोपिला चुडालका अनुसार भन्सारमा घोषणा गरिएको भन्दा बढी मूल्यको सामान ट्याक्टरमा लोड भएको सूचना प्राप्त भएपछि प्रहरीले निगरानी बढाएर उक्त ट्याक्टरलाई नियन्त्रणमा लिएर राजस्व अनुसन्धानमा थप अनुसन्धानका लागि पठाएको बताइन् ।

ट्याक्टरमा तुलसी गोल्ड पोलिस्टन थ्रेड, फिनिस लेदर, लेदर केमिकल र कटोक फेब्रिक्स जस्ता विभिन्न प्रकारका सामानहरू लोड गरिएका थिए । भन्सार कार्यालयमा यी सामानहरूको कुल मूल्य १० लाख ९६ हजार ३ सय ७१ रुपैयाँ मात्र घोषणा गरिएको थियो । यो मालवस्तुको जाँचपास विराटनगर भन्सार कार्यालयका नायव सुब्बा निरमाया वनले गरेको खुलेको छ । प्रहरीले ट्याक्टरका चालक भारत बिहार राज्यको अररिया जिल्ला जोगबनीका ३८ वर्षीय रोशन यादवलाई पनि नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानले यस घटनामा भन्सार एजेन्टका सहयोगी अकबर अलीको संलग्नता हुनसक्ने आशङ्का गरेको छ । यद्यपि अलीले आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै आफूलाई फसाउन खोजिएको प्रतिक्रिया दिएका छन् ।

“मैले सामान आयात गरेबापत ५ लाख ५० हजार रुपैयाँ राजस्व तिरेको छु” उनले भने, “मलाई दुःख दिने नियत मात्रै हो ।” राजस्व अनुसन्धान कार्यालय इटहरीका सूचना अधिकारी विदुर गौतमले प्रहरीले बुझाएको ट्याक्टर र त्यसमा लोड गरिएका सामानहरूमाथि विस्तृत अनुसन्धान सुरु गरिएको पुष्टि गरे । “हामी ट्याक्टरमा लोड गरिएका सामानहरू खोलेर त्यसको वास्तविक मूल्य र घोषणा गरिएको मूल्यबीचको भिन्नता केलाउने प्रक्रियामा छौँ” गौतमले भने, “विस्तृत अनुसन्धानपछि मात्रै राजस्व छली भए÷नभएको र कति रकम बराबरको छली भएको हो भन्ने कुरा यकिन हुनेछ ।”

टिआर ट्रेडर्समाथि पनि अनुसन्धान

राजस्व अनुसन्धान कार्यालय इटहरीले विराटनगर–६ मा अवस्थित टिआर ट्रेडर्समाथि पनि राजस्व छलीको आशङ्कामा अनुसन्धान सुरु गरेको छ ।

मोरङ प्रहरीले प्रवीण चोपडाद्वारा सञ्चालित उक्त ट्रेडर्समा बुधबार साँझ छापा मारेको थियो । विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेपछि राजस्वको टोलीले उक्त फर्मका सम्पूर्ण कागजातहरू नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको हो । सूचना अधिकारी गौतमले भने, “हामीले टिआर ट्रेडर्सको सामान खरिद र बिक्रीसँग सम्बन्धित सम्पूर्ण कागजातहरू लिएर अनुसन्धान सुरु गरेका छौँ । थप विवरण अनुसन्धानपछि नै खुल्नेछ ।” विराटनगर भन्सार क्षेत्रमा राजस्व छलीका घटनाहरू बेलाबेलामा सार्वजनिक हुने गरेका छन् । न्यून विजकीकरण, घोषणा नगरिएका सामानहरूको पैठारी र भन्सार कर्मचारी तथा एजेन्टहरूको मिलोमतोमा यस्ता गतिविधिहरू हुने गरेको पाइन्छ । यसले देशको अर्थतन्त्रमा ठूलो नोक्सानी पु¥याइरहेको छ ।

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ ले यस्ता वस्तुलाई गम्भीर अपराध मानेको छ र दोषीहरूलाई कडा कारबाहीको व्यवस्था गरेको छ । पछिल्ला यी दुई घटनाले राजस्व अनुसन्धान कार्यालय र प्रहरी प्रशासन राजस्व छली नियन्त्रणका लागि सक्रिय रहेको देखाउँछ । तर यस्ता घटनाहरूको पुनरावृत्तिले भन्सार प्रणालीमा थप सुधार र निगरानीको आवश्यकतालाई पनि उजागर गर्दछ । भन्सार जाँचपास प्रक्रियालाई थप पारदर्शी र प्रविधिमैत्री बनाउँदै दोषीहरूलाई कडा कारबाही गरी निरुत्साहित गरेर अगाडि बढेको विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले बताए ।