धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डेन्टलतर्फको टेन्डर (ठेक्का) आह्वानमा ठेक्का हाल्ने आपूर्तिकर्ताले ठेक्का पार्नुअघि नै ‘५० लाखको सामान आपूर्ति’ गरेपछि दन्तचिकित्सामा सामान अभाव चुलिएको छ ।
डेन्टलका लागि दैनिक आवश्यकीय सामान र मेसिनरी सामानका लागि करिब १८ करोडको ठेक्का खुलेको थियो । उक्त ठेक्कामा धरानका व्यापारी चेतन अग्रवालका विभिन्न कम्पनीले मात्रै ‘सामान आपूर्ति गर्ने भनी’ ठेक्का हालेको पाइएपछि बीपीले ठेक्का रद्द गर्न बाध्य भएको छ । ठेक्का पार्नुअघि नै ५० लाख बराबरको सामान आपूर्ति गरेको समेत पाइएको छ । ठेक्का पार्नुअघि नै के कति कारणबाट उक्त सामान आपूर्ति गरिएको हो भन्ने प्रमाणित आधार आपूर्तिकर्ता गर्ग इम्पेक्सले पेश गर्न नसके पछि ठेक्का रद्द गरिएको छ ।
ठेक्कामा ई–बिड गर्ने कम्पनीले गरेको फटाइँका कारणले गर्दा डेन्टलमा दैनिक आवश्यकीय वस्तुको अभाव सुरु भएको हो । दैनिक आवश्यक पर्ने डेन्टल प्लास्टर, एक्स–रेलगायतका सामानहरू अभाव सुरु भएको एक महिना जति भएको छ । यसबारे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रशासनले पनि विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ । अस्पताल निर्देशक डा. जगतनारायण प्रसादले मङ्सिर २ गते विज्ञप्ति जारी गर्दै लेखेका छन्, “प्रतिष्ठानको दन्तचिकित्सा महाविद्यालयको विभिन्न विभागबाट प्रदान गरिने सेवाका लागि आवश्यक पर्ने दन्त सामग्रीहरू विगत केही दिनदेखि आपूर्ति हुन नसकेका कारण दैनिक सेवा प्रभावित भएको छ ।”
सामान आपूर्ति हुन नसक्दा बिरामी साथै विद्यार्थीहरू पनि प्रभावित बनेको प्रोस्टोडोन्टिक्स विभागका विभागीय प्रमुख एडिसनल प्रोफेसर डा. प्रकाश पराजुलीले जानकारी दिए । “बिरामीलाई १५ दिनपछि आऊ भन्दा पनि हुन्छ । विद्यार्थीहरूलाई त समयमा सेमेस्टर सिध्याउनु पर्ने हुन्छ । उनीहरू त प्रत्यक्ष प्रभावित भएका छन्” उनले फोनसम्पर्कमा भने, “विद्यार्थीहरूलाई सिक्नका लागि समस्या छ । बिरामीलाई सर्भिस दिन गाह्रो भइरहेको छ ।” यस विषयमा अस्पताल निर्देशक प्रसादले स्पष्टसँग विज्ञप्तिमा खुलाउँदै लेखेका छन्, “सामग्रीका कारण उपचारमा ढिलाइ हुन सक्ने तथा केही सेवाहरू अस्थायी रूपमा सीमित गर्नुपर्ने स्थिति उत्पन्न भएको छ ।” तर प्रतिष्ठान प्रशासनले के कारणले समस्या उत्पन्न भएको हो भन्ने बारे तथ्य खुलाएको छैन । दन्तचिकित्सा महाविद्यालयतर्फका एक डेन्टल चिकित्सकका अनुसार टेन्डरमा एउटै मालिक भएको कम्पनीले विभिन्न नाममा ठेक्का हालेको र ५० लाख रुपैयाँको सामान आपूर्ति गरेका कारणले ठेक्का रद्द भएको छ । उनका अनुसार प्रतिष्ठानको नियमावलीअनुसार एउटै परिवारभित्रका व्यक्तिले फरक फरक नाममा ठेक्का हाल्न पाउँदैन । “एउटै परिवारभित्रबाट ठेक्का हालेको रहेछ । टेन्डर क्यान्सिल हुने बित्तिकै समस्या सुरु भयो । ५० लाख रुपैयाँ बराबरको सामान पनि आएको रहेछ । यो कुरा रजिष्ट्रार सरले कुरा उठाउनु भएछ” ती चिकित्सकले नाम नछाप्ने शर्तमा भने, “अख्तियारले पनि यसबारे सोधेछ ।”
अख्तियारले ठेक्काको बारेमा पत्राचार गरेको बारे प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौलालाई बुझ्दा उनले भने, “हो, मकहाँ तीन दिनअगाडि पत्र आइपुग्यो । त्यसको जवाफ आज मात्रै पठाएँ ।” उनका अनुसार ठेक्का खोलेअनुसार स्वीकृत भएको, आशय पनि स्वीकृत भयो तर खरिद प्रक्रियामा पुगे पछि समस्या देखिएको छ । “पत्रहरू हेर्दा, फाइलहरू हेर्दा कन्ट्राडिक्सन देखियो । पर्चेज अर्डर जारी नगरी नै सामान ल्याइसकेको रहेछ । त्यसपछि त आशङ्काहरू उब्जिने सवाल भयो” उनले भने, “अन्यौल देखेपछि मैले रद्द हुन्छ भनेर उपकुलपतिलाई राय दिएँ । भिसीका आर्थिक सल्लाहकारले पनि सोही खालको सल्लाह दिनुभएछ । तीन दिनअघि खारेजी भयो ।”
उनले अख्तियारले पनि यसबारे के भएको हो भनेर लिखित जवाफ पठाउन पत्राचार गरेको र सोअनुसार विवरणसहित दिई पत्रको जवाफसमेत दिइसकेको बताए । उनका अनुसार गर्ग इम्पेक्सले सामान ल्याएको छ । बीपीले दन्तचिकित्साका लागि मेसिन उपकरण र दैनिक सामग्री खरिदमा १२ करोड र ६ करोड गरी कुल १८ करोडको दुईवटा ठेक्का खुलाएको थियो । हाल दुइटै ठेक्का रद्द गरिएको छ । धरानका व्यवसायी पवन अग्रवाल तथा चेतन अग्रवालका केही फर्महरू रहेका छन् । जसले बीपीमा एकलौटी हालीमुहाली गर्दै आएको थियो । उनीहरूको द मेडिकल सोलुसन, बायोमेड इन्टरनेसनल, प्रेसिजन मेडिकल प्रा.लि., गर्ग इम्पेक्स, डेन्टामार्ट इन्टरनेशल प्रा.लि., मेडिपोइन्ट इन्टरनेशल र सर्जिटेन्ड हाउस, गर्ग डेन्टल रहेका छन् । यसमध्ये द मेडिकल सोलुसनको सञ्चालकमा अशोक अग्रवाल छन् भने अन्य सबैमा चेतन अग्रवाल रहेका छन् ।
































