धरान । जेन जी युवाहरूमाथि आक्रमण गरेपश्चात् सुरु भएको मधेश प्रदेशको बारास्थित सिमराको समस्या झन् झन् बढ्दै गएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराले वार्ताका लागि कलैयामा बोलाए पनि जेन जीहरूले जितपुरसिमरामै वार्ता बस्ने अडान राखेपछि समस्या नसुल्झिएको हो । समस्या बुधबारबाट सुरु भएको थियो । सिमराका जेन जी युवाहरूले सिमरा क्षेत्रमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको समयमा नेकपा (एमाले) का युवाहरू गई आक्रमण गरेपछि घटनाले बृहत् रूप लिएको जितपुरसिमरा उपमहानगरपालिका प्रमुख राजन पौडेलले जानकारी दिए । “शान्तिपूर्ण आन्दोलन गर्ने भनेर सामाजिक सञ्जालमा पोष्टहरू हालेका थिए । हिजो १०–१५ जना केटाहरूले प्रदर्शन थालेछन् । प्रहरी पनि आएछ । एमालेका साथीहरू त्यहाँ जानुभएछ । सामान्य भनाभनमा सम्राट उपाध्यायलगायत चार–पाँचजनामाथि हातपात भयो । घाइते पनि भए । त्यहाँबाट लेखेटिएपछि अरू मान्छे पनि उत्रिए र यहाँको आन्दोलन भड्कियो”–उनले फोनसम्पर्कमा भने ।
यता जेन जीको अगुवाइ गरिरहेका सम्राट उपाध्यायले फोनसम्पर्कमा भने, “हत्यारा सरकारविरुद्ध सिमरा चोकमा शान्तिपूर्ण ढङ्गबाट आन्दोलन गरिरहेका थियौँ । यहाँबाट १५ किलोमिटर दक्षिण परवानीपुर गाउँपालिकामा एमालेको युवा सङ्घको कार्यक्रम थियो । सिमरा एयरपोर्टमा स्वागतका लागि तीनजना सांसद्हरू जानुभएको रहेछ । उहाँहरूले आन्दोलन नगर्नुस् भनेर मान्छेहरू पठाउनुभएको रहेछ । उहाँहरूको मान्छेसँग छलफल गर्छौं भन्दाभन्दै कुटपिट गर्नुभयो । हामी सातजना जति घाइते भयौँ । त्यसपछि आन्दोलन चर्कियो ।” उनका अनुसार आफूसहित शङ्करप्रसाद पाठक, राजबहादुर थापा, टेकबहादुर भण्डारी, सौरभ कार्की, शेख सफिक, निर्देश न्यौपानेमाथि हातपात भएको थियो । उक्त हातपातपश्चात् कारबाहीको माग राखेर आन्दोलन र इलाका प्रहरी कार्यालय सिमरामा उजुरीसमेत दिएको उनले बताए । “हामीले सातजनाविरुद्ध उजुरी दिएका छौँ । त्यसमध्ये २ जनालाई पक्राउ गर्नुभएको छ”–उनले फोनसम्पर्कमा भने । घटनालाई मिलाउनका लागि जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले आफूले जेन जी युवाहरू र प्रशासनसँग सहकार्य गरिरहेको बताए । “वार्ताका लागि जेन जी युवाहरू पनि तयार छन् । सिडिओ र एसपीलाई पनि यसबारे जानकारी गराइसकेको छु । आज वार्ता बस्न सकेन” उनले फोनसम्पर्कमा भने, “भोलि पनि आन्दोलन हुन्छ भनेर सामाजिक सञ्जालमा हालेका छन् । सहमतिमा वार्ताबाट टुङ्ग्याउन पाए हुन्थ्यो । कोशिसहरू भइरहेको छ ।” यस घटनामा हालसम्म जितपुरसिमरा उपमहानगरपालिकाका दुईजना वडाध्यक्षहरू पक्राउ परिसकेको र बाँकी पक्राउ पर्ने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सन्तोष तामाङले बताए । उनका अनुसार जितपुरसिमरा उपमहानगरपालिका २ नम्बरका वडाध्यक्ष धनबहादुर श्रेष्ठ र ६ नम्बर वडाध्यक्ष कैमद्दीन अन्सारीलाई नियन्त्रणमा लिएको छ । “दुईजनालाई नियन्त्रणमा लिने काम भएको छ । थप अन्यलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ”–उनले फोनसम्पर्कमा भने । उनीहरू एमालेबाट वडाध्यक्ष जितेका थिए ।
घटनालाई नियन्त्रणमा लिन प्रहरीले बिहीबार दिउँसो एक राउन्ड ब्ल्याङ्क हवाई फायर खोलेको छ । जेन जीका अगुवा उपाध्यायले उक्त कुराको पुष्टि गरे । “आज प्रहरीले एक राउन्ड हवाई फायर खोलेको थियो”–उनले फोनसम्पर्कमा भने । जेन जीको माग पूरा गर्नका लागि प्रशासन तयार रहेको जनाइएको छ । बारामा दोस्रो दिन पनि प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ ।
एमालेले भने नेता महेश बस्नेतको कार्यक्रम बहिष्कार अभियान चलाएको भन्दै सिमरा चोकमा भेला भएका युवाहरूमाथि कुटपिट गरेको थियो । युवा सङ्घले परवानीपुर गाउँपालिकामा गरेको महेश बस्नेतको कार्यक्रमलाई लक्षित गरी कार्यक्रम गरेको आरोप लगाएको छ । उक्त घटनापश्चात् आफूहरूमाथि हातपात गर्नेमाथि कारबाहीको माग साथै गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग गरेको जेन जी अगुवा उपाध्यायले बताए ।
मानवअधिकारले भन्योः “शान्तिसुरक्षा मजबुत बनाऊ”
राष्ट्रिय मानवअधिकार आयोगले बाराको सिमरामा भएको परिस्थितिलाई नियन्त्रणमा लिन सरकारलाई निर्देशन दिएको छ ।
नेकपा (एमाले) का कार्यकर्ता र जेन जी समूहबीच भएको घटना र उक्त घटनापश्चात् उत्पन्न परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बिहीबार एक विज्ञप्ति जारी गरी घटनाको अनुगमन पनि गरिरहेको जनाएका छन् । देशमा विकसित राजनीतिक परिस्थिति र आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणासमेत भइसकेको अवस्थामा यस्ता घटना हुनुले निर्वाचनको सहज वातावरण बन्न नसक्ने र शान्ति सुरक्षामा समेत गम्भीर असर पर्नेतर्फ नेपाल सरकार र सम्बन्धित सबै पक्ष गम्भीर हुन जरुरी रहेको जनाएको छ ।
यस प्रकारको घटनाले संविधानको धारा १७ मा उल्लेखित स्वतन्त्रताको हक हनन् हुनुका साथै निर्वाचनका सरोकारवालाहरूबीच आपसी सद्भावमा समेत प्रतिकूल प्रभाव पर्न जाने उल्लेख गरेको छ । शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन, आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिन, सबै पक्षको विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने वातावरणको सिर्जना गर्न माग गरिएको छ । यस्तै घटनाको छानबिन गर्न एवम् घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था मिलाउन आयोगले सरकारलाई निर्देशन गरेको छ ।
































