इनरुवा/ कोशीटप्पुको रैथाने हात्ती मकुना नियन्त्रणको प्रयास भइरहँदा आरक्षका संरक्षण अधिकृतको भने सरुवा भएको छ ।

मकुनाको आक्रमणमा परी कटान क्षेत्रका दुई स्थानीयको केही दिनको अन्तरालमा मृत्यु भएसँगै उठेको हात्ती नियन्त्रणको सवाल र चर्कंदै गएको विवादका बीच वार्डेन चन्द्रशेखर चौधरीको सरुवा भएको छ । चौधरीको खप्तड राष्ट्रिय निकुञ्जमा सरुवा भएको छ । कोशीटप्पुमा भने यसअघि वार्डेन रहिसकेका अशोक राम दोहोरिएका छन् । राम हात्ती विषयको विज्ञ मानिन्छन् । उनी सो विषयमा अध्ययनरत रहेकाले समेत उनलाई चौधरीको स्थानमा कोशीटप्पु पठाइएको बुझिएको छ ।

आरक्ष कार्यालयका कर्मचारीका अनुसार आसपासको क्षेत्रमा मकुनाको आक्रमण बढ्दै जाँदा चिकित्सक र प्राविधिकसहितको टोलीसँगै नयाँ वार्डेनका रूपमा उनी कोशीटप्पु आएका हुन् । कार्यालय स्रोतका अनुसार वार्डेन चौधरीको सरुवा हुनुमा मकुना हात्ती प्रमुख कारक हो । वार्डेन चौधरीले स्थानीयस्तरमा हात्ती पीडितका साथै स्थानीय प्रशासनबीच भएका वार्ता र सोही अनुरूपका निर्णय विभागमा जानकारी गराउँदै आएका थिए । हात्ती नियन्त्रणको विषयमा चालेको कदमकै कारण वार्डेन चौधरीको सरुवा भएको अधिकांशको ठहर छ । 

एक कर्मचारीले भने, ‘हात्ती बहुलायो भन्दै स्थानीय गाउँवासी र स्वयम् जनप्रतिनिधिले मार्नुपर्छ भन्ने आवाज उठाए । प्रत्यायोजन गरिएको ऐनलाई टेकेर सिडिओ सा’वले समेत हात्ती मार्ने निर्णय लिनुभयो । सर्वपक्षीय भेलाको निर्णय आरक्षको तर्फबाट पटक–पटक विभागमा पठाइयो । अन्ततः वार्डेनकै सरुवा भयो ।’ नाम खुलाउन नचाहने कर्मचारीहरू हात्ती मार्ने विषय मिडियाका साथै सर्वत्र चर्कोरूपमा उठेपछि विभागले कार्यरत रहेका प्रमुख संरक्षण अधिकृतको सरुवा गराएको बताउँछन् ।

स्थानीय कर्मचारीका अनुसार वार्डेनका रूपमा रहँदा चौधरीले विभागमा हात्तीको वितण्डा र क्षति बढेको ठहरसहित मकुनालाई नेल लगाउनुपर्ने र आवश्यकता हेरी थप निर्णय लिनुपर्नेे आशययुक्त पत्र पठाउने गरेका थिए ।

कार्यालय स्रोतका अनुसार वार्डेनले स्थानीयको माग र प्रशासनको निर्णय अनुरूप माथिल्लो निकायमा परिपत्र गर्ने गरेको भए तापनि मकुनाको विषय उठेसँगै ठोस निर्णय लिन नसकेको जस्ता आरोप उनले झेल्दै आएका थिए । पछिल्लो घटनाक्रमलाई जानकारहरू भने जनावरको अधिकार र संरक्षणको सवाल अन्तर्राष्ट्रिय चासोको विषय बन्ने भएकाले समेत आरक्षले दबाव झेलेको हुनसक्ने बताउँछन् । उनीहरू हात्ती मार्न त परै जाओस्, मकुनालाई नेल लगाएर राख्नसमेत विभागबाट स्वीकृति मिल्न असम्भव प्रायः भएको बताउँछन् । 

मकुनाको औषधि उपचारसँगै आरक्षमा गस्ती बढाउने र प्रभावकारी नियन्त्रणका साथै रोकथामका उपाय अवलम्बन गर्ने रणनीति अनुरूप नै कोशीटप्पुमा नयाँ वार्डेन पठाइएको धेरैजसोको बुझाइ छ । उता तीन महिनामै कोशीटप्पु वन्यजन्तु आरक्षको कार्यालयबाट सरुवा भएका चन्द्रशेखर चौधरी आफैले अन्यत्र सरुवा मागेको बताएका छन् । उनले विभागको निर्णय अन्तिम हुने भए पनि सरुवा भने आफैले मागेको बताए । चौधरीले भने, ‘जहाँ भए पनि काम गर्ने हो । खप्तड पठाइएको छ । अब जान्छु । नयाँ वार्डेन आउनुभएको छ । स्थानीयको समस्या समाधान हुनेछ । मकुना पक्कै नियन्त्रणमा आउनेछ ।’

जाँदाजाँदै चौधरीले भने, ‘मकुना लामो समयदेखि झुण्ड छोडेर एक्लै बस्दै आएको जङ्गली हात्ती हो । उक्त हात्ती बदमास भइसकेको छ । जो राति बस्तीमा छिर्छ र क्षति पु¥याउँछ । बिहान झिसमिसे उज्यालोसँगै जङ्गलमा आएर लुक्छ ।’ चौधरीले संरक्षित जनावर मार्ने भन्ने विषय कुरै नउठ्ने बताए । उनले नियन्त्रणका प्रभावकारी उपाय अवलम्बन गरी क्षति भने रोक्न सकिने भएकाले आरक्षको कार्यालयले त्यसतर्फ पहल चाल्नुपर्ने बताए । यता कोशीटप्पु वन्यजन्तु आरक्षको कार्यालयमा प्रमुख संरक्षण अधिकृतका रूपमा आएका अशोक रामले आफू हात्ती नियन्त्रणको सवालमा लागिपरेको बताए । उनले सोलार फेन्सिङ मजबुत गर्नेदेखि निरन्तर विद्युत् प्रवाहको व्यवस्था मिलाउन २४ सै घण्टा खटिने गरी कर्मचारी परिचालन गरिएको बताए । 

उनले हात्तीको हाउभाउ बुझेर आवश्यकताअनुसार उपचार गर्ने र आरक्ष बाहिर प्रवेश रोक्न प्रभावकारी बन्दोबस्तीसहितको सुरक्षा गस्ती बढाइएको बताए । वार्डेन रामले मकुनाको पछाडि निरन्तर रहने गरी गस्ती टोलीसमेत खटाइसकिएको बताए । उनले हात्ती धपाउन र आरक्षभित्रै राख्न सुरक्षा प्रबन्धसहित आवश्यक स्रोत साधन जुटाइएको जानकारी दिए । संरक्षण अधिकृत रामका अनुसार मकुनाकै प्रयोजनको लागि छुट्टै गाडीसहितको गस्ती र ट्याक्टर ‘स्टेण्डबाई’ राखिएको छ ।

मकुनाको हाउभाउ बुझी सोही अनुरूप नियन्त्रण तथा उपचारको प्रबन्ध मिलाउँदै जनधनको क्षति रोक्नु आफ्नो प्रमुख दायित्व रहने उनले बताए । यसैबीच सोमबार हात्ती पीडितहरूले आरक्षको कार्यालयमा पुगेर मकुना हात्ती नियन्त्रणमा प्रभावकारी कदम चालिनुपर्ने भन्दै ज्ञापन–पत्र बुझाएका छन् । हात्ती पीडित सङ्घर्ष समितिले कार्यालयमा पुगेर ज्ञापन–पत्र बुझाएको हो । 

सङ्घर्ष समितिका अध्यक्ष पञ्चनारायण मण्डलका अनुसार मकुनाको दीर्घकालीन समाधान नभएसम्म क्रमशः आन्दोलनका कार्यक्रम अघि बढाइनेछ । उनीहरूले मकुना मार्नुपर्ने वा नेल लगाएर जङ्गलभित्रै राख्नुपर्ने जस्ता मागहरू अघि सारेका छन् । पीडितहरूले हात्तीको आतङ्क रोक्न आरक्षले ठोस कदम चाल्न नसकेको बताउँदै आएका छन् ।