भण्टाबारी/ नियन्त्रण गर्न चुनौती थपिएको भन्दै कोशीटप्पु वन्यजन्तु आरक्षबाट रैथाने हात्ती सार्ने तयारी गरिएको छ । पछिल्लो केही वर्षयता हात्ती आतङ्क नियन्त्रणमा चुनौती थपिएको भन्दै आरक्ष प्रशासनले हात्ती सार्ने तयारी गरेको हो ।
खानेकुरा नपाएर जङ्गली हात्ती मानव बस्तीमा पस्दै घर भत्काउने र मान्छे मार्नुका साथै हात्ती आफै असुरक्षित रहेको पाइएको हुँदा सार्ने तयारी गरिएको कोशीटप्पु वन्यजन्तु आरक्षका वार्डेन चन्द्रशेखर चौधरीले जानकारी दिए । त्यसो गर्दा मानव र हात्तीबीच रहँदै आएको द्वन्द्व अन्त्य हुने उनको विश्वास छ ।
कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालय पश्चिम कुसाहा–३ मा अवस्थित हात्तीसार सार्ने तयारी गरिएको हो । हात्तीसार दक्षिण डुबानमा वा अन्तै सार्न आफूहरूले आन्तरिक तयारी थालेको वार्डेन चौधरी बताउँछन् । ‘कोशीटप्पुमै सार्ने वा अन्तै भन्ने गृहकार्यमा छौं’ उनले भने, ‘त्यसको लागि विभागमा पत्र पठाइसकेको छु । कोशीटप्पुबाट बाहिर हात्ती सार्न मन्त्रीस्तरीय निर्णय हुनुपर्छ ।’ हात्तीसार सार्दा १० वर्षअगाडि कोशीटप्पुमा आएको मकुना पनि उनीहरूलाई खोज्दै जाने वार्डेन चौधरीको बुझाइ छ ।
मकुनाको आतङ्क दिन प्रतिदिन बढ्दै गएपछि समस्या समाधान गर्ने उद्देश्यले त्यसो गर्न लागेको उनको भनाइ छ । तर, तत्कालै त्यस्तो निर्णय हुने नहुनेबारे टुङ्गो छैन । ‘मानव र हात्ती द्वन्द्व सदाका लागि रोक्न त्यस्तो प्रस्ताव हामीले पठाएका हौं’ उनले भने, ‘बाँकी विभाग र मन्त्रीपरिषद्को निर्णयको प्रतीक्षामा छौं ।’ कोशीटप्पुबाट हात्तीसार चितवन र पर्सा सार्न सकिने वार्डेन चौधरीको भनाइ छ ।
आक्रामक मकुना नियन्त्रण उन्मुख
चितवनबाट कोशीटप्पु आएको प्राविधिक टोलीले आक्रामक मकुना नियन्त्रण उन्मुख रहेको बताएको छ । कोशी गाउँपालिका–६ का प्रमोद यादवको मकुनाको आक्रमणबाट मृत्यु भएपछि वन्यजन्तु चिकित्सक अमिर सडौला नेतृत्वमा आएको प्राविधिक टोलीले मकुना हात्ती नियन्त्रण गर्न उपचार गरिरहेको छ ।
उपचारपछि मकुना हात्तीको बानी व्यहोरामा परिवर्तन आएको वन्यजन्तु चिकित्सक सडौलाले जानकारी दिए । आरक्षभित्र खानेकुरा नपाउँदा आक्रामक मकुना बाहिर निस्कने गरेको बताउँदै सडौलाले मान्छेसँग डर पैदा गर्ने औषधि चलाएपछि मकुनामा परिवर्तन आएको दाबी गरे ।
डर पैदा भएपछि दिउँसो वा साँझपख मानव बस्ती जाने मकुना आजकाल मध्यरातमा मात्र बाहिर निस्किने गरेको उनले बताए । जङ्गली भाले हात्ती मकुनाको गतिविधि अध्ययन गर्दै सोहीअनुसार उपचार गरिरहेको उनको भनाइ छ ।
‘अहिलेसम्मको अध्ययनमा मकुनामा यौन उन्माद बढाउने हर्माेनका कारण हात्तीको व्यवहारमा परिवर्तन आएको पाइएको छ । हर्माेन बढी निस्केका बेला मकुना उत्तेजक र आक्रामक हुने गरेको छ’ –उनले भने । डार्ट विधिमार्फत् प्राविधिक टोलीले मकुना हात्तीको उपचार गर्दै आएको छ । हात्तीमा भएको हर्माेन कम गर्न वन्यजन्तु प्राविधिक तीर्थ लामाले डार्ट विधिबाट ज्यालाजिन र क्याटामन नामक औषधि दिँदै आएका छन् ।
उक्त औषधिले हात्ती लठ्याउँदै माद घटाउन सहयोग पुगेको प्राविधिकको भनाइ छ । ४० देखि ५० मिटरको दूरीबाट मकुनालाई डार्ट विधिबाट औषधि दिने गरेको हात्तीविज्ञ वीरेन्द्र गौतमले जानकारी दिए । १५ देखि २० दिनसम्ममा औषधिबाट मकुनामा भएको अत्यधिक हर्माेन सामान्य अवस्थामा ल्याउने आफूहरूको अनुमान रहेको वन्यजन्तु चिकित्सक सडौलाले बताए ।