धरान/ हिंस्रक बनेको कोशीटप्पु वन्यजन्तु आरक्षभित्रको मकुनालाई मत्थर बनाउन वन्यजन्तु सम्बन्धी चिकित्सक र प्राविधिकहरूले डार्ट विधि अपनाएर औषधि दिएका छन् । अत्यधिक हिंस्रक भएर मानवीय क्षति गरेपछि राष्ट्रिय प्रकृति संरक्षण कोषबाट आएको प्रविधिक टोलीले मकुनाको व्यवहार अध्ययन गर्दै दुइै दिनको अवधिमा डार्ट विधिबाट औषधि दिएको हो ।

मकुना नियन्त्रण गर्न कोषबाट आरक्षमा आएका वन्यजन्तु प्राविधिक तीर्थ लामाका अनुसार मकुनाको शरीरमा बढेको हर्मोनको स्तर घटाउन डार्ट विधिबाट औषधि दिइएको हो । पर्फेनाजिन सातसय मिलिग्राम र लठ्याउने जोलाजिन एकहजार मिलिग्राम डार्ट विधिबाट मकुनाको शरीरमा लगाइएको छ । उक्त औषधिले मकुनाको हर्मोन बन्ने क्रममा सुस्तता ल्याउने र हिंस्रक र आक्रामक नबन्ने लामाले बताए ।

हर्मोन बढेपछि यौन उन्माद बढेर हात्तीको कञ्चटको प्वालबाट तरल पदार्थको रूपमा निस्कने गर्छ । यस्तो बेला जङ्गली मकुना हात्ती सबैभन्दा बढी हिंस्रक र आक्रामक हुने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु चिकित्सक डा.अमिर सडौलाले बताए । उनले ब्लाष्टलाई भने, ‘ढोईसँग यौन संसर्ग गर्न आतुर रहेको सङ्केतको रूपमा मत्ता (मकुना) हात्तीको कानको छेउमा भएका साना साना प्वालबाट यौन उन्माद बढाउने (टेस्टोस्टेरोन हर्मोन) माद निस्कने गर्छ ।

स्थलगत निरीक्षणमा उसको कञ्चटबाट अत्यधिक मात्रामा माद निस्केको पाएका छौं । माद बढी निस्केको बेला भाले हात्ती अधिक उत्तेजित र आक्रामक हुने गर्छ । तर, अहिलेसम्मको निगरानीमा मकुनाको हाउभाउ र व्यवहार हेर्दा बहुलाएको वा मानसिक सन्तुलन गुमाएको सङ्केत देखिएको छैन ।’

चार वर्षयता मकुना एक्लैले १८ जना बढीको ज्यान लिइसकेकोले मकुनालाई मार्नैपर्ने जनदबाव बढेपछि आरक्षको अनुरोधमा आएको प्राविधिक टोलीले व्यवहार अध्ययन गर्दा यौन उन्माद मुख्य कारण देखिएको डा. सडौलाले बताए ।

आरक्षका संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले ‘मकुना’ ले कोशीटप्पु आसपासका बस्तीमा पसेर व्यापक मानवीय र धनमालको क्षति गरेकाले नियन्त्रणका लागि कोषबाट प्राविधिक टोली आएको र प्राविधिक र चिकित्सकहरूको राय सुझावअनुसार मकुनालाई के गर्ने भन्ने निक्र्याेल हुने बताए ।

यसअघि कोशी गाउँपालिका–६ श्रीपुरका २८ वर्षीय प्रमोद यादवको ज्यान लिएपछि गाउँपालिका अध्यक्ष ऐयुब अन्सारी र पीडित परिवारले मकुनालाई मार्नै पर्ने दबाव जिल्ला प्रशासनमा दिएका थिए । सुनसरीका प्रमुख जिल्ला अधिकारीले फडिन्द्रमणि पोखरेलले पनि जनआकाङ्क्षा अनुसार माग पूरा गर्न कानूनी प्रक्रिया अपनाएर मकुनालाई मार्न सकिने बताएका थिए ।

कोषबाट आएको टोली अझै केही दिनसम्म मकुनाको निगरानी गरेर पूर्णरूपमा उपचार गरेपछि मात्र फर्कनेछ । डार्ट विधिबाट मकुनालाई मत्थर बनाउन नसके अरू नै उपाय अपनाउने आरक्षले जनाएको छ ।