धरान/ कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केर सोमबार बिहान कोशी गाउँपालिका–६ श्रीपुरका २८ वर्षीय प्रमोद यादवलाई मारेपछि मकुनाको चर्चा र त्रास एकसाथ बढेको छ ।
आरक्षमा करिब एक दशकदेखि एक्लै घुम्ने मकुनाले आक्रमण गरी मृत्यु भएका यादव मध्यवर्ती क्षेत्रका १३ औं व्यक्ति हुन् । हुन त हिन्दुहरूले हात्तीलाई शिव–पार्वतीको छोरा गणेश भगवानको अवतार मान्छन् । तर, कोशीटप्पु वन्यजन्तु आरक्ष आसपासको मध्यवर्ती क्षेत्रका स्थानीयका लागि मकुना हात्ती ‘मधु कैटभ दैत्य’ जस्तै भएको छ ।
यसअघि सो मकुनाले भारतको सुपौल जिल्लामा एकै पटकमा पाँचजनाको ज्यान लिएको थियो । उसले हालसम्म ज्यान लिएका व्यक्तिहरूको तथ्याङ्क यतिमात्र खुलेको छ । मकुनालगायत जङ्गली हात्तीको आक्रमणबाट कोशीटप्पु वन्यजन्तु आरक्ष र आसपासका मध्यवर्ती क्षेत्रमा आर्थिक वर्ष २०७४÷७५ मा ६ जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष २०७३/७४ को अवधिमा पनि ६ जनाकै मृत्यु भएको थियो ।
सोमबार बिहान गहुँखेतमा पानी पटाइरहेका बेला आक्रमण गरेर यादवको हत्या गरेपछि मकुनाको चर्चा र त्रास फेरि बढेको हो । मकुना शब्द पछिल्लो आधा दशकयता एउटा आतङ्ककारी हिंस्रक जङ्गली हात्तीको पर्यायवाची भएको छ । मकुना हात्ती एक प्रकारले पागल र हिंस्रक भएकै कारण यादवले ज्यान गुमाउनु परेको आरक्षका वार्डेन चन्द्रशेखर चौधरीले बताए ।
आरक्षभित्र रैथाने भएर लामो समयदेखि घुमफिर गर्दै आएको मकुनाले एक दशकमा कति मानिसको ज्यान लियो, त्यसको स्पष्ट तथ्याङ्क छैन । आरक्षका वार्डेन चन्द्र शेखर चौधरीकाअनुसार मकुनाले मात्र तीन वर्षयता सुनसरीका नौ जनाको ज्यान लिइसकेको छ भने २३ जना गम्भीर घाइते, अपाङ्ग भएका छन् । लाखौं रुपैयाँ बराबरको धनमालको क्षति पु¥याएको छ ।
वार्डेन चौधरीले भने, ‘मकुना पूरै पागल र हिंस्रक भएको छ । मान्छे देख्नै नहुने भएको छ । आरक्षमा अन्य हात्ती पनि छन् तर, तिनले त्यति धेरै धनजनको क्षति र दुःख दिएका छैनन् । सबैभन्दा बढी त मकुनाले दुःख दिएको छ ।’ उनका अनुसार मकुनाले हालसम्म दर्जनौं घर भत्काइदिएको छ । दाह्रा पलाउन बाँकी वा दाह्रा नभएको जवान भाले हात्तीलाई ‘मकुना’ भन्ने गरिन्छ । आरक्षबाट निस्केको जङ्गली जनावरले मध्यवर्ती क्षेत्रमा गरेको हानि नोक्सानी र मानवीय क्षतिबापत आरक्षले सर्वसाधारणलाई बर्सेनि तिर्ने क्षतिपूर्तिको लागतमध्ये ६५ प्रतिशत त मकुनाकै हुन्छ ।
आरक्षबाट गाउँमा निस्कँदा जसले पटक–पटक खेदाउँछ, पटका र गुलेलीले तर्साउँछ, उसलाई भने मकुनाले ‘वाण्टेड लिष्ट’ मा राख्ने गरेको छ । लामो समयदेखि मुकनाको वाण्टेड लिष्टमा परेर तीन–तीन पटक आक्रमण गरे पनि बाँच्न सफल भएका कोशी गाउँपालिकाका बलदेव मण्डल एक जिउँदो उदाहरण हुन् । मण्डललाई कहिले घरैमा आएर, कहिले जङ्गलमा त कहिले मकैबारीमा मकुनाले आक्रमण गर्ने प्रयास गरेको थियो ।
मण्डलका दुई दाजुभाइको ज्यान पनि मकुनाले नै लिएको थियो । मकुना जस्ता हिंस्रक जङ्गली हात्तीलाई गाउँमा प्रवेश रोक्न सोलार फेन्सिङ प्रविधि अपनाइए पनि फेन्सिङमा करेण्ट आउँछ भनेर हात्तीले सुकेको रुख हालेर पार गर्न थालेको छ । आरक्ष आसपासको मध्यवर्ती क्षेत्रमा १४ हजार ८ सय ६५ घरपरिवारका ८४ हजार ४ सय २३ जना बसोबास गर्दै आएका छन् । सुनसरीको वराहक्षेत्र नगरपालिकाको वडानम्बर ९, १० र ११, कोशी गाउँपालिकाको वडानम्बर १, २, ३ र ६ मध्यवर्ती क्षेत्रअन्तर्गत पर्छन् । त्यसैगरी कोशी पश्चिममा पर्ने सप्तरी र उदयपुरका केही क्षेत्रलाई पनि समेटिएको छ ।
मध्यवर्ती क्षेत्रमा बस्नेहरू मकुनाको त्रासमा सधैँ तनावमा रहने गरेका छन् । मकुनाले वितण्डा मच्चाउन थालेपछि केही वर्षअघि डार्ट विधिबाट नियन्त्रण गर्न खोजिएको थियो । तर, यो विधि स्थायी नहुने भएकाले पछिल्लो समयमा दुईवटा विकल्पसहित आरक्षले केन्द्रीय निकायमा पत्र पठाएको छ ।
वार्डेन चौधरीले भने, ‘मकुनाबाट मानवीय क्षति अत्यधिक हुन थालेकाले या त फलामको साङ्लोले बाँधेर राख्ने या किलिङ गर्ने हो । अरू कुनै उपाय छैन । आरक्षले बर्सेनि सरदर २ करोड २३ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्छ । कहिलेसम्म धान्ने क्षतिपूर्ति दिएर ?’ जङ्गली हात्तीले ज्यान लिएमा सरकारले १० लाख रुपैयाँ दिने गरेको छ । मकुना हिंस्रक भएकैले रेडियो सङ्केत दिने करिब ३० लाख रुपैयाँ पर्ने कलर लगाइए पनि त्यसको उपयोग राम्ररी हुन सकेको छैन ।