भण्टाबारी/ कोशीटप्पु वन्यजन्तु आरक्षका जङ्गली जनावरबाट पीडितहरूले उपलब्ध हुने रकमभन्दा बढी ‘रकम ताकेता गर्दा’ खर्च हुने गरेको बताएका छन् ।
निकुञ्जको ऐनअनुसार पीडितले क्षतिपूर्ति पाए पनि ‘रकम सहज रूपमा उपलब्ध नहुने’ गरेको बताएका हुन् । सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको आरक्षबाट निस्किने जनावरले दैनिकजसो मानवबस्तीमा क्षति पु¥याउँदै आएको छ । क्षतिपूर्ति समयमा नपाउँदा थप पीडित बन्नु परेको कोशी गाउँपालिका–८ की फूलनदेवी राम बताउँछिन् । घाइतेहरूको उपचार आरक्ष कार्यालयले गर्दै आए पनि क्षतिपूर्ति पाउन निकै सास्ती खेप्नुपर्ने गरेको उनी बताउँछिन् ।
आर्थिक वर्ष २०७६/०७७ मा सुनसरी जिल्लामा वन्यजन्तुले गरेको मानवीय क्षतिबापत २६ जनाले राहत पाएको आरक्ष कार्यालयले जनाएको छ । तीमध्ये दुईजना हात्ती आक्रमणबाट मारिएका, पाँचजना सामान्य घाइते र बाँकी गम्भीर घाइते रहेका छन् । दुईजना मृतकका परिवारलाई १०–१० लाखका दरले २० लाख, गम्भीर घाइते भएका १९ जनालाई ५ लाख २६ हजार ४ सय ७५ र सामान्य घाइते भएका पाँचजनालाई १ लाख १८ हजार ६ सय ८ रुपैयाँ राहत वितरण गरिएको आरक्ष प्रशासनले जनाएको छ ।
यसैगरी सप्तरी जिल्लामा मानवीय क्षतिबापत आठजनाले राहत पाएका छन् । जसमध्ये चारजना सख्त घाइते भएकाले ४ लाख ३५ हजार २ सय ४१ र चारजना सामान्य घाइते भएकालाई ३६ हजार ८ सय ७ रुपैयाँ वितरण गरिएको छ । यस्तै हात्ती आक्रमणबाट ज्यान गुमाएकी उदयपुर जिल्लाको बेलका नगरपालिका–१ घर भएकी सुनिता चौधरीका आफन्तले राहत पाएका छैनन् । उनको उपचारमा १७ लाख ८३ हजार १ सय ४३ रुपैयाँ खर्च भएको कोशीटप्पु वन्यजन्तु आरक्षको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ । आरक्षबाट निस्केका जङ्गली जनावरले क्षति गर्दा सिरहामा दुई जनाको ज्यान गएको थियो भने एकजना सामान्य घाइते भएका थिए । ती दुई मृतकका परिवारलाई १०–१० लाखका दरले २० लाख र एकजना सामान्य घाइतेलाई ६२ हजार ४ सय ९५ रुपैयाँ उपचार खर्च उपलब्ध गराएको आरक्ष कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा झापा जिल्लामा हात्ती आक्रमणबाट एक जनाको ज्यान गएको र तीनजना घाइते भएको तथ्याङ्क छ । मृतकका परिवारलाई १० लाख र तीनजना घाइतेको उपचारमा ३ लाख २८ हजार खर्च भएको जनाइएको छ ।
क्षतिपूर्ति लिन जाँदैनन् सर्वसाधारण
कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्किने गरेका जङ्गली जनावरहरूले गर्ने क्षतिबापत आरक्ष कार्यालयले राहत वितरण गर्दै आए पनि कतिपय सर्वसाधारणहरू पाइने भन्दा दौडधुपमै बढी खर्च हुने गरेको बताउँछन् । सोही कारण क्षतिपूर्ति लिन नगएको उनीहरूको भनाइ छ । कोशी गाउँपालिका–८ का कासिम मियाँको घरमा ६ महिनाअघि नै आरक्षबाट निस्केर आएको जङ्गली हात्तीको समूहले दुईवटा घरमा क्षति ग¥यो ।
वडा कार्यालय, प्रहरी कार्यालय र उपभोक्ता समितिबाट एक हप्ता लगाएर सिफारिस गराएर कोशीटप्पुको वन्यजन्तु आरक्ष कार्यालयमा बुझाए पनि अझै राहत पाउन नसकेको मियाँको गुनासो छ । आरक्षको कार्यालय आवत–जावत गर्दागर्दैमा चारदेखि पाँच हजारसम्म खर्च हुने गरेको उनले बताए । जहिल्यै जाँदा नाम निस्किएको छैन भन्ने उत्तर पाउने गरेको उनी सुनाउँछन् । मियाँ मात्रै होइन, कोशी गाउँपालिका क्षेत्रका जाहेर मियाँ, हदिस मियाँ, जाकिर मियाँ, कपलदेव सरदार, बालकृष्ण कामैतलगायत दर्जनौं व्यक्ति आरक्ष कार्यालय धाउँदा धाउँदै आजित भएपछि पुनः राहत लिन गएनन् ।
वन्यजन्तु आक्रमणबाट मृत्यु भएमा मृतकको परिवारलाई १० लाख, सामान्य घाइते भएमा बढीमा उपचार खर्च २० हजार र सख्त घाइते भएमा बढीमा २ लाख रुपैयाँ राहत दिने गरिएको छ । यस्तै पशुधनतर्फ वयष्क उमेरको पशु परेमा ३० हजारसम्म, अन्य पशुको मृत्यु, भण्डारण गरेको अन्नको क्षति, एक मौसममा लगाएको बालीलाई एकपटक र वर्षमा दुईपटकमा नबढ्ने गरी १० हजार रुपैयाँ क्षतिपूर्ति रकम दिने प्रावधान छ । तर, पीडितहरूका लागि यो रकम पाउन निकै समस्या र झन्झटिलो बनेको छ ।
प्रक्रिया लामो र बिचौलियाको साथबिना अघि बढाउन नसकिने तथा प्रक्रियामा नै पीडितको धेरै पैसा खर्च हुने गरेको पीडितले बताए । राहत तथा क्षति रकम बुझ्न तीन महिनादेखि दुई वर्षसम्म लागेको उदाहरण छन् । मानवीय र भौतिक क्षतिपूर्तिको राहत वितरण गर्दै आएको बताउँदै कोशीटप्पु वन्यजन्तु आरक्षका प्रमुख चन्द्रशेखर चौधरीले चाप धेरै हुँदा समय लाग्ने गरेको बताए । ‘नियमअनुसार पाउनुपर्ने क्षतिपूर्ति हामीले वितरण गर्दै आएका छौं’ उनले भने, ‘यसलाई थप व्यवस्थित गर्नेतर्फ ध्यान केन्द्रित गरेका छौं ।’
पीडितको बैङ्क खातामै रकम
धाउँदा धाउँदै आजित भएका कतिपय पीडितहरूले क्षतिपूर्ति लिन नआएको गुनासो गरिरहँदा कोशीटप्पु वन्यजन्तु आरक्षको कार्यालयले भने जङ्गली जनावरबाट पीडित भएका सर्वसाधारणको बैङ्क खातामै क्षतिपूर्ति पठाउने भएको छ । जङ्गली जनावरबाट पीडित सर्वसाधारणले क्षतिपूर्ति पाउन धाउँदा धाउँदै क्षतिपूर्ति पाउनेभन्दा बढी खर्चिने गरेको गुनासो आएपछि यस्तो व्यवस्था गर्न लागिएको वार्डेन चौधरीको भनाइ छ ।
पीडितको बैङ्क खातामै क्षतिपूर्ति बापतको रकम पठाउँदा आरक्ष कार्यालय कुदिरहनु पर्ने बाध्यता अन्त्य हुनुका साथै फजुल खर्चसमेत रोकिने उनको भनाइ छ । वास्तविक पीडितको नाममा कतिपय बिचौलियाले समेत रकम लगेको आफूकहाँ गुनासो आउने गरेको बताउने वार्डेन चौधरीले यस्ता समस्या अन्त गर्न आफू आएदेखि लागिपरेको बताए । कोशीटप्पु वन्यजन्तु आरक्ष प्रमुखका रूपमा करिब डेढ महिनाअघि आएका उनले आफ्नो कार्यकालमा आरक्ष कार्यालयलाई व्यवस्थित बनाउने दाबी गरे ।