भण्टाबारी/ कोशीटप्पु वन्यजन्तु आरक्षमा रहेका जङ्गली हात्तीका नाइके मानिएको ‘दाह्रे’ को आइतबार करेण्ट लाग्दा सप्तरीको कञ्चनरूप नगरपालिका–५ स्थित पडेमारा भन्ने स्थानमा मृत्यु भयो । आरक्षबाट निस्केर मानव बस्ती पस्दै गर्दा करेण्ट लागेर हात्तीको घटनास्थलमै मृत्यु भएको आरक्ष कार्यालयको प्रारम्भिक अनुमान छ ।
३३ केभीको हाईटेन्सन विद्युत्को पोलमा शरीर घिसार्ने क्रममा अचानक तार चुँडिएर करेण्ट लागेकोहात्ती धान खेतीमा मृत फेला परेको थियो । पोष्टमार्टमदेखि मुचुल्कालगायत सबै कानूनी प्रक्रिया पूरा गरी मृत अवस्थामा भेटिएको हात्तीको सद्गत गरिए पनि आवश्यक छानबिन जारी रहेको आरक्ष कार्यालयका वार्डेन चन्द्रशेखर चौधरीको भनाइ छ ।
२०७७ साल जेठ २३ गते कोशीटप्पु वन्यजन्तु आरक्षमा रहेको अन्दाजी १२ वर्षीया लक्ष्मी कलीले छावाको जन्म दिए पनि सोही राति ती छावाको मृत्यु भयो । १६ महिनामै अपरिपक्व बच्चा जन्मिएको हुँदा मरेको आरक्ष प्रशासनले दाबी गरे पनि आरक्ष प्रशासनकै लापरबाहीले छावा बचाउन नसकिएको स्थानीयको दाबी छ । छावालाई आवश्यक हेरचाह तथा उपचार गर्ने डाक्टर नहुँदा छावा मरेको बताइएको छ । यी केही उदाहरणमात्र हुन् । आरक्षभित्रबाट मानव बस्ती प्रवेश गर्ने क्रममा हात्ती, दुर्लभ मानिएको अर्नालगायतका वन्यजन्तुहरूले अकालमै ज्यान गुमाउँदै आएका छन् । जङ्गली जनावरहरूको संरक्षण गर्न आरक्ष प्रशासन चुक्दै आएको छ । जसले गर्दा आरक्ष आसपास क्षेत्रका सर्वसाधारण त्रसित हुनुका साथै जनावरसमेत असुरक्षित रहँदै आएका छन् ।
चरन अभाव मुख्य कारण
सुनसरी, सप्तरी र उदयपुर जिल्लामा अवस्थित कोशीटप्पु वन्यजन्तु आरक्ष १ सय ७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षको क्षेत्रफल पर्याप्त नहुँदा पछिल्लो समय आरक्षभित्र रहेका विभिन्न प्रजातिका वन्यजन्तु असुरक्षित बनेका छन् । आरक्ष क्षेत्रमा वन्यजन्तुको सङ्ख्या दिनानु दिन बढ्दै गए पनि पर्याप्त चरिचरन गर्ने ठाउँ अभाव हुँदा दुर्लभ मानिएका वन्यजन्तुसमेत असुरक्षित बनेका हुन् ।
हात्ती, अर्नासहितका जङ्गली जनावर र मानवबीचमा द्वन्द्व यथावत् रहँदा मानवीय क्षति हुनुका साथै जनावरहरूसमेत विविध कारणले मर्दै आएका छन् । वन्यजन्तुहरूबाट हुने गरेको क्षतिका कारण स्थानीय र आरक्ष प्रशासनबीच असहज परिस्थितिसमेत सिर्जना हुने गरेको छ । तर, आरक्ष प्रशासन मानवीय क्षति रोक्नुका साथै वन्यजन्तु व्यवस्थापनको मामिलामा चुक्दै आएको छ । जसका कारण सुनसरी, सप्तरी, उदयपुरलगायत जिल्लाका सर्वसाधारण कोशीटप्पु वन्यजन्तु आरक्षका जनावरहरूबाट पीडित बन्दै आएका छन् । अर्कोतर्फ जनावरहरूसमेत असुरक्षित रहेको पाइन्छ ।
दुई वर्षमा १७ वटा जनावर मरे, ९८ वटाको उद्धार
दुई वर्षको अवधिमा हात्ती, अर्नालगायत गरी १७ वटा जनावर मरेको कोशीटप्पु वन्यजन्तु आरक्षले बताएको छ । आर्थिक वर्ष २०७५/०७६ मा भाले जङ्गली हात्ती १, भाले अर्ना २, भाले चित्तल ३, भाले बँदेल १, सानो कोकले, सारुङ, सुन गोहोरो, ठूलो निरबिरालो, गिद्ध र मलहा बिरालो १–१ गरी जम्मा १३ वटा वन्यजन्तु मरेको आरक्ष कार्यालयको तथ्याङ्क छ । चालु आर्थिक वर्षको श्रावणदेखि कात्तिकसम्म हात्ती, बँदेल, रतुवा र हुचिल १–१ गरी चारवटा वन्यजन्तु मरेका छन् भने विभिन्न २७ वटाको उद्धार गरिएको छ । आर्थिक वर्ष २०७६/०७७ मा ७१ वटा वन्यजन्तुको उद्धार गरेको तथ्याङ्क आरक्ष कार्यालयसँग भए पनि मरेका वन्यजन्तुको तथ्याङ्क भने छैन ।
सडक दुर्घटनामा मारिँदै
आर्थिक वर्ष २०७५÷०७६ मा मरेका १३ वटा वन्यजन्तुमध्ये ५ वटा सडक दुर्घटनामा मारिएका छन् । अर्ना, बँदेल, सानो कोकले, सारुङ, सुन गोहोरो सडक दुर्घटनामा परी मरेका छन् भने बाँकी एउटा हात्ती मरेको कारण अझै पत्ता लागेको छैन । चालु आर्थिक वर्षमा मारिएका चारवटा वन्यजन्तुमध्ये दुईवटा करेण्ट लागेर, एउटा आपसमा जुधेर मरेका छन् भने एउटा हात्तीको छावा जन्मपश्चात् अपरिपक्व भएकोले मरेको आरक्ष कार्यालयको भनाइ छ ।
एक महिनाअघि मात्र आरक्ष कार्यालय वार्डेनको जिम्मेवारी सम्हाल्न आएका चन्द्रशेखर चौधरी आरक्ष व्यवस्थित र सुरक्षित बनाउने आफ्नो पहिलो योजना रहेको बताउँछन् । खुला रूपमा हुँदै आएको चरिचरन र बासस्थान पर्याप्त नभएको हुँदा दुर्लभ जनावरहरू आरक्षबाहिर आएर मानव बस्तीमा प्रवेश गर्ने गरेको उनको भनाइ छ । सोही क्रममा कतिपय जनावरले अकालमा ज्यान गुमाउँदै आएको बताउँदै चौधरीले आफू सकभर आरक्षभित्र रहेका जनावरहरूलाई बाहिर जानबाट रोक्न योजना बनाउने क्रममा रहेको बताए ।
आरक्षभित्र रहेका जनावरहरूका साथै मानवीय क्षति रोक्न तारबार प्रभावकारी नभएको पाइएको हुँदा त्यसको विकल्प खोजी गरिने उनले बताए । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र आसपास बसोबास रहेका सर्वसाधारणसँगै अर्ना जस्ता दुर्लभ जनावरको संरक्षण गर्न दीर्घकालीन योजना आवश्यक रहेको चौधरीको कथन छ ।