घटना नं. १ः झापाको कन्काई–३ मा २०७७ असोज २८ गते बञ्चरो प्रहार गरी २२ वर्षीय अभिषेक चौधरीको हत्या भयो । शव सुरुङ्गा खोलाको बाँध नजिकैको बाँसघारीको बीचमा भेटियो । बाँसघारी नजिकै बञ्चरो सबुतको रूपमा मिलेपछि बञ्चरो सुँघेर केनाइन शाखा धरानबाट खटिएको ट्रयाकर डग लैला कन्काई–७ का २२ वर्षीय रविन राजवंशीको घर पुगेको थियो । लैलाले ‘डग ह्याण्डलर’ अपराधी हो भनेर पुच्छर हल्लाएर सङ्केत ग¥यो । अनुसन्धानको क्रममा चौधरीको हत्या राजवंशीले गरेको पुष्टि भयो ।

घटना नं २ः २०७७ असोज २९ गते इलाम नगरपालिका–१ स्थानीय ४६ वर्षीय शिक्षक पुष्पलाल राईको धारिलो हतियार प्रहारबाट हत्या भयो । प्रहरीले खड्काको हत्या कसले किन ग¥यो भनेर पत्ता लगाउन सकेन । यो घटनामा पनि अपराधी पहिचान गर्न प्रहरीले लैलाको मद्दत लिएको थियो । हत्याको आरोपमा ४५ वर्षीय पदमबहादुर राई पक्राउ परे । त्यस्तै २०७७ असोज १० गते सुनसरीको वराहक्षेत्र नगरपालिका–१ मा १२ वर्षीया बालिका मीना राईको हत्या भयो । घटनास्थलमा छाडिएको रुमाल सबुत मान्दै तालिमप्राप्त कुकुर १५ वर्षीय रञ्जित राई सुतेकै खाटमा पुगेको थियो ।

घटना नम्बर ३ः २०७६ कात्तिक २६ गते उदयपुर रौतामाई गाउँपालिका–३ बस्ने एलजिना खड्का जङ्गलमा मृत अवस्थामा फेला परिन् । तालिमप्राप्त ‘लैला’ लाई घटनास्थलमा छाडिएपछि आरोपितले टेकेको पाइलाको गन्धका आधारमा ८ सय मिटरसम्म ट्रयाक लिएपछि सोही आधारमा आरोपित पक्राउ परे । पैतालाको फुट प्रिण्ट सुँघाएर कुकुरले अभियुक्त पक्राउ गरेको नेपाल प्रहरीमा यो पहिला घटना हो ।

प्रदेश १ मा हुने गरेको धेरै अपराधमा लैलाले लीला देखाउँदै आएको प्रहरी बताउँछ । लैलाको मद्दतबाट नौ वटा जघन्य मुद्दाहरू किनारा लागेका छन् । डग स्कुलका डिएसपी रामचन्द्र सत्याल भन्छन्, ‘उदयपुरको घटनामा लैलाको लीला नै हो ।’ यसरी हेर्दा १ नम्बर प्रदेश प्रहरी कुकुर (केनाइन) शाखाका तालिमप्राप्त कुकुरले अपराधको गाँठो फुकाउँदै आएका छन् । धरानस्थित केनाइन शाखाका सइ दयानन्द श्रेष्ठका अनुसार हाल ६ वटा तालिमप्राप्त कुकुर छन् । प्रदेशभरि हुने आपराधिक घटनामा यिनै तालिमप्राप्त कुकुर प्रयोग हुँदै आएका छन् । त्यसमध्ये लैला र पिङ्कु यस्ता कुकुर हुन्, जसले सुँघेकै आधारमा अपराधी पत्ता लागेका छन् ।

नेपाल प्रहरीले जटिल आपराधिक घटनामा कुकुरकै सहायता लिने गरेको छ । त्यसो त अपराध अनुसन्धानमा नेपाल प्रहरीसँग थुप्रै विधिहरू छन्, जस्तैः पोलिग्राफ मेसिन, डिजिटल फरेन्सिक ल्याव, डिएनए प्रोफाइलिङ युनिट, अटोमेटिक फिङ्गर प्रिण्ट आइडेण्टिफिकेसन सिस्टम, लागूऔषधको परीक्षण गर्ने हाइपर्फर्मेन्स थिन लेअर क्रोम्याटोग्राफी (एचपीटीएलसी) । यस्ता प्रविधिको प्रयोगबाट अपराधी पत्ता नलागेको हकमा प्रहरीले कुकुरको प्रयोग गर्ने गरेको छ । ‘कतिपय चलाख अपराधीले प्रहरीलाई झुक्याउने हुँदा सहजै उम्किने गर्छन् तर, जब अनुसन्धानमा कुकुर उत्रन्छ, अपराधी उम्कन पाउँदैन’ डग स्कुलकी प्रमुख एसएसपी देउती गुरूङ भन्छिन्, ‘मै हुँ भन्ने अपराधीको पनि कुकुरको अगाडि केही लाग्दैन ।’

dog11

कसरी पुग्छन् अपराधीसम्म ?
कुकुरमा सुँघ्ने क्षमता (स्नेफिङ क्यापिसिटी) बढी हुने गर्छ । तालिमप्राप्त कुकुरको घ्राणशक्ति अन्य कुकुरको भन्दा बढी हुने भएकाले सुँघेर नै अपराधी पत्ता लगाउने गर्छन् । प्रत्येक मान्छेमा गन्ध फरक–फरक हुने भएकाले सुँघ्ने क्षमताकै आधारमा कुकुरले अपराधी पत्ता लगाउने गर्छ । निर्दोषलाई भने कुनै पनि कुकुरले आजसम्म आक्रमण नगरेको बताउँदै गुरुङले कुकुरले अपराधी सङ्केत गरेका व्यक्तिहरूलाई छानबिन गर्दा अपराध गरेको पुष्टि हुने गरेको जनाइन् ।

सामान्य कुकुरमा पनि मानिसमा भन्दा १ सय ४५ मिलियन सुँघ्ने क्षमता (अल फ्याक्ट्री सेल्स) हुन्छ । जर्मन सेफर्ड, ल्याब्रोडरलगायतका तालिमप्राप्त कुकुरमा २ सय २५ देखि ३ सय मिलियनसम्म सुँघ्ने क्षमता हुन्छ । जति बढी सुँघ्ने क्षमता हुन्छ, त्यति नै अपराधीसम्म पुग्न सहज हुन्छ । सामान्यतः एक व्यक्तिको गन्ध अर्को व्यक्तिसँग मेल खाँदैन । जसले गर्दा कुकुरले सुँघेर अपराधी पत्ता लगाउँछ । अपराधीले घटनास्थलमा छाडेको गन्धलाई ‘टेल’ भनिन्छ र घटनास्थलमा छाडिएका अन्य प्रमाणको आधारमा कुकुरले अपराधी पत्ता लगाउँछ । घटनास्थलमा कुनै सबुत प्रमाण नभएको अवस्थामा पनि मान्छेको पाइलाको गन्ध सुँघेर कुकुरले अपराधी पत्ता लगाउँछ ।

कसरी दिइन्छ तालिम ?
प्रदेशभरि आठवटा कुकुर छन् । विराटनगर विमानस्थलमा २ र कुकुर शाखा धरानमा ६ वटा छन् । कुकुरलाई तालिम गराउन सक्षम प्रहरी जवानलाई ‘ह्याण्डलर’ भनिन्छ । प्रदेश प्रहरी कुकुर शाखामा अहिले सइ राजेन्द्रप्रसाद चौधरीको कमाण्डमा नौजना प्रहरी कार्यरत छन् । प्रहरी हवल्दार उपेन्द्र थापा, प्रहरी हवल्दार दिलबहादुर लिम्बू र प्रहरी जवान सविन राई र थरेन्द्र राई छन् ।
कुकुर शाखा धरानमा अहिले ट्रयाकर विधामा लैला र पिङ्कुलाई प्रयोग गरिन्छ । ‘डग ह्याण्डलर’ ले बिहान ६ देखि आधा घण्टा दौड र पिटी खेलाउँछन् । बिहानको ब्रेकफास्ट अनि ८ बजेदेखि फिल्डमा विषयगत तालिम दिइन्छ । ९ बजे सरसफाइ अनि १० बजे खाना दिइने गरेको प्रहरी सुनाउँछ ।

त्यसपछि २ बजेदेखि पुनः ५ बजेसम्म विषयगत तालिम र रिहर्सल गराइन्छ । एउटा स्वस्थ कुकुरलाई १ केजी तौल बराबर १ सय ३२ क्यालोरी आवश्यकता पर्छ । एउटा कुकुरले दैनिक ६ सय ग्राम डग फुड खान्छ । एउटा कुकुरलाई विधागत रूपमा ‘ट्रेण्ड’ हुन कम्तीमा पनि १ वर्ष लाग्ने कुकुर शाखाका ह्याण्डलर प्रहरी बताउँछन् । लागूऔषधसम्बन्धी अपराध पत्ता लगाउनका लागि पाँचवटा चरण पार गर्नुपर्छ । जसमा ग्राउन ड्रग्स सर्च, विल्डिङ ड्रग्स सर्च, लकेज ड्रग्स सर्च, भेकल ड्रग्स सर्च र हुमनबडी ड्रग्स सर्च पर्छन् । डग ह्याण्डलर प्रहरी हवलदार उपेन्द्र थापाका अनुसार कुकुरले दैनिक तालिममा लागूऔषध र विष्फोटक पदार्थजस्ता कुरा लुकाइन्छ र खोज्न लगाइन्छ । ह्याण्डलरले तालिम गराउँदा साङ्केतिक भाषा, कोड, डिकोडबाट कुकुरलाई बुझाउँछन् । जब लागूऔषधको गन्ध पहिचान गर्छन् अनि भुक्ने, पुच्छर हल्लाउने, भूईं ख्रोसने र आँखाको इसारा गर्छन् । विष्फोटक पदार्थको हकमा भने विष्फोट हुने भएकाले खोस्रने कार्य सिकाइँदैन ।

नेपाल प्रहरीमा ८ प्रजातिका ९६ कुकुर
एसएसपी गुरुङका अनुसार नेपालमा ९६ वटा तालिमप्राप्त कुकुर छन् । प्रतिगोटा दैनिक सातै प्रदेशका शाखा र उपशाखामा ट्रयाकर (बाटो पत्ता लगाउने), एक्सप्लोसिभ सामग्री (विष्फोटक पदार्थ पत्ता लगाउने), सर्च एण्ड रेस्क्यू (खोजी र उद्धार) र ड्रग्स सर्च (लागूऔषध पत्ता लगाउने) गरी चार विधाका कुकुर सेवारत छन् । संसारमा पाइने १ सय ८९ प्रजातिका कुकुरमध्ये केही प्रजातिलाई मात्रै अपराध अनुसन्धानमा प्रयोग गरिँदै आएको छ । तीमध्ये नेपाल प्रहरीसँग जर्मन सेफर्ड, ल्याब्रोडर, ककर स्प्यानियल, गोल्डेन रिट्रिभर, बिगल, बेल्जियम मेनोलोइज, ब्लड हाण्ड र डच सेफर्ड गरी आठ प्रजातिका कुकुर छन् ।

२०२६ सालबाट जोडियो कुकुर
कुकुर सेवा सुरु हुनुभन्दा अगाडि मलेसियामा सम्पन्न कुकुर तालिममा नेपाल प्रहरीले समेत भाग लिएको थियो । उक्त तालिममा कुकुरले प्रहरीलाई अनुसन्धानमा सहयोग गरेका धेरै काम देखाइएको थियो । उक्त तालिमपश्चात् नेपाल प्रहरीले ४ वटा तालिमप्राप्त कुकुर किनेर सेवा सुरु गरेको हो । २०३२ सालमा प्रहरी कुकुर सेक्सन स्थापना गरी औपचारिक रूपमा अनुसन्धानका लागि कुकुर पाल्न थालेको थियो । सोही सेक्सनलाई नै २०४७ यता केन्द्रीय कुकुर तालिम केनाइन बनाइएको छ ।

प्रहरीका कुकुरलाई रेखदेख गर्ने र तालिम दिने निकायकी प्रमुख गुरुङका अनुसार युरोप वा अमेरिकाबाटै खरिद गर्नुपर्ने उक्त प्रजातिको कुकुर खरिद गरी स्वास्थ्य जाँच लगायतका प्रक्रिया पूरा गरी नेपाल ल्याउन करिब १० लाख रुपैयाँसम्म खर्च हुन्छ । नेपाल प्रहरीले ६ लाखदेखि १० लाखसम्मको कुकुर खरिद गरेको छ ।

सन्तान उत्पादनमा रोक
केनाइन शाखाहरूले कुकुरलाई सन्तान उत्पादन प्रक्रिया रोक लगाउने गरेको छ । सन्तान प्रक्रिया गराउँदा कुकुरले सन्तानका लागि समय दिनुपर्ने हुन्छ । सन्तानप्रति माया हुने भएकाले अनुसन्धानतर्फ ध्यान नजाने भएकाले रोक लगाउने गरिएको छ । केनाइन शाखाले भाले र पोथी कुकुरलाई फरक–फरक स्थानमा राख्छ ।

जति छिटो जानकारी, त्यति छिटो परिणाम
तालिमप्राप्त कुकुरले घटना भएको २४ घण्टाभित्रै अनुसन्धानमा खटाउँदा कम्तीमा ८६ प्रतिशतसम्म सफलता प्राप्त हुने गरेको प्रहरी अधिकारी बताउँछन् । घटना घटेको स्थान कसैले नछोएको र घामपानीबाट सुरक्षित राखिएको हुनुपर्छ । सिमसिम पानीले खासै असर नगर्ने तर, ठूलो पानीले गन्ध बगाउने तथा घामले उडाउने गर्छ । यस्तो बेला गल्ती हुने सम्भावना रहन्छ । कुकुरले घटना घटेको स्थानमा कसैलाई सुँघ्दा मानिस यही अपराधी हो कि भनेर भ्रममा पर्छन् तर, कुकुरले गन्ध पहिचान मात्र गरेको हो । अपराधी यकिन गरेर कुकुरले ह्याण्डलरलाई सङ्केत गर्छ ।