विराटनगर/ विराटनगरका दुईवटा प्रयोगशालाले कोरोना परीक्षणको एकै व्यक्तिको रिपोर्ट फरक–फरक दिएका छन् ।

एकैदिन गरिएको परीक्षणमा विराटनगरको विराट टिचिङ हस्पिटलको ल्याव र बी सियोर ल्यावको रिपोर्ट फरक–फरक पाइएको हो । दुईवटा प्रयोगशालाले एकै व्यक्तिको फरक–फरक रिपोर्ट दिएपछि सङ्क्रमितहरू तनावमा छन् । मोरङ बूढीगङ्गा गाउँपालिका–४ हात्तीमुढाका ४३ वर्षीय उपेन्द्रकुमार रायको स्वाब परीक्षणको रिपोर्ट एउटामा पोजेटिभ र अर्कोमा नेगेटिभ दिएको हो । रायलाई गत कात्तिक २ गते ज्वरो र टाउको दुखेपछि त्यसको भोलिपल्ट ४ कात्तिकमा विराटनगस्थित कोशी अस्पतालको ल्यावमा गएर कोरोना परीक्षणको लागि स्वाब दिएका थिए ।

स्वाब दिएको तीन दिनपछि उनको रिपोर्ट पोजेटिभ आयो । सङ्क्रमण पुष्टि भएपछि उनी होमआइसोलेसनमा बसे । स्वास्थ्य अवस्था सामान्य भएपछि होमआइसोलेसनमा बसेको ११ दिनपछि रायले १७ कात्तिकमा विराट टिचिङको ल्यावमा दिएको स्वाब परीक्षणको रिपोर्ट १८ कात्तिकमा पुनः पोजेटिभ रिपोर्ट आयो । उनको स्वाब नमुना नम्बर ५४४५ रहेको छ । विराटको ल्यावले दिएको रिपोर्टमा रायको सिटी भ्यालु ३२ देखाएको छ । ११ दिन होम आइसोलेसनमा बसेर गराएको परीक्षणमा पोजेटिभ देखाएपछि त्यसको एक सातापछि विराट टिचिङ हस्पिटलको ल्यावमा गएर २५ कात्तिकमा स्वाब दिए । स्वाब दिएको पाँच घण्टापछि रिपोर्ट पुनः पोजेटिभ देखायो ।

दोस्रो पटक आएको रिपोर्टमा सिटी भ्यालु झन् घटेको देखाएको छ । ६५८३ स्वाब नमुना नम्बर रहेको रायको तेस्रो पटक गराएको रिपोर्टमा २७ सिटी भ्यालु रहेको छ । स्वास्थ्यमा कुनै समस्या नभएको उनलाई तेस्रो पटक विराटमा आएको रिपोर्टमा शङ्का लागेर केहीदिन अगाडि विराटनगर–४ वरगाछीस्थित बी सियोर ल्यावमा गएर २५ कात्तिकमा स्वाब दिएका थिए । सोही दिन बी सियोर ल्यावमा आएको रिपोर्ट नेगेटिभ आयो ।

दोस्रो पटक पुनः सङ्क्रमण देखिएपछि एक सातापछि स्वास्थ्यमा कुनै समस्या नभएपछि परीक्षण गर्न विराट मेडिकल कलेजको ल्यावमा गएको थिएँ’ उनले भने, ‘तेस्रो पटक गराएको रिपोर्टमा पनि कोरोना सङ्क्रमण देखायो । स्वास्थ्यमा मलाई कुनै समस्या भएको छैन । गलत रिपोर्ट दिएजस्तो लागेपछि बी सियोर ल्यावमा गएँ, त्यहाँ नेगेटिभ देखाएको छ । अहिले म अन्यौलमा छु ।’

पीसीआर परीक्षणको लागि सरकारले अनुमति दिएका दुईवटा प्रयोगशालाको रिपोर्ट फरक–फरक आएपछि झन् तनाव बढेको उनले बताए । रिपोर्ट फरक आएकाले आइसोलेसन बस्ने कि नबस्ने अन्यौलमा परेको परीक्षण गराउने व्यक्तिहरू बताउँछन् । माइक्रोबायोलोजिष्ट विवेक तिम्सिनाले स्वाब सङ्कलन गरेको समय, प्रक्रिया र परीक्षण गर्ने किटको आधारमा पनि कहिलेकाहीँ प्रयोगशालाहरूमा फरक–फरक रिपोर्ट आउन सक्ने बताए ।

‘घाँटी र नाकबाट लिने स्वाबको सेम्पल लिएपछि क्वालिटी टेष्ट गरिनु पर्दछ । इण्टर्नल कण्ट्रोल (आइसी) आउनुपर्दछ । कतिपयले सेम्पलमा भएको सेल प्रयोग गर्दछन् । कतिपयले बाहिर आइसी मिसाएर टेष्ट गर्दछन्’ माइक्रोबायोलोजिष्ट तिम्सिनाले भने, ‘सेम्पलमा भएको आइसीको प्रयोग नगरेर बाहिरबाट हाल्यो भने रिपोर्ट गलत आउने गरेको छ ।’