कोरोना भाइरसका कारण सिकाइमा परेको असरलाई न्यूनीकरण गर्न सरकारले विभिन्न वैकल्पिक उपायको अवलम्बन गर्न आह्वान गरेकोे धेरै समय भइसक्यो । विद्यालय तहदेखि विश्वविद्यालयसम्मकै शैक्षिक सत्र खेर जान नदिन सरकारले विभिन्न उपायहरू अवलम्बन गर्दै आएको छ । यस क्रममा विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्पन्न भई राष्ट्रिय परीक्षा बोर्डबाट प्रमाणीकरण समेत भइसकेको छ । त्यस्तै कक्षा ११ को वार्षिक परीक्षा सञ्चालन गर्ने अभिभारा पनि सम्बन्धित विद्यालयलाई नै तोकिएको छ । कोरोना त्रासका बावजुद पनि धेरैजसो विद्यालयले अहिले विद्यार्थी भर्ना तथा परीक्षा लगायतका गतिविधि अघि बढाएका छन् । विद्यालयीय शिक्षामा शैक्षिक सत्र खेर नजान यी तमाम गतिविधि अघि बढ्दा पनि विश्वविद्यालय अन्तर्गत सञ्चालित उच्च शिक्षाको सबालमा कमै मात्र काम भएका छन् ।

नेपालमा हाल सञ्चालनमा रहेका उच्च शिक्षा प्रदायक विश्वविद्यालयहरू ११ ओटा (त्रिभुवन, काठमाडौँ, पोखरा, पूर्वाञ्चल, नेपाल संस्कृत, लुम्बिनी बौद्ध, कृषि तथा वन, सुदूर पश्चिमाञ्चल, मध्य पश्चिमाञ्चल, नेपाल खुला र राजर्षि जनक) छन् । यिनमा त्रिभुवन विश्वविद्यालय (२०१६) नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय हो भने सबैभन्दा कान्छो विश्वविद्यालय राजर्षि जनक (२०७४) हो । कोरोना भाइरसको त्रासबाट शैक्षिक गतिविधिमा खासै असर नभोगेको विश्वविद्यालय भने नेपाल खुला विश्वविद्यालय (२०७३) नै हो । यसले खुला तथा दूर सिकाइको विधिमार्फत् अध्ययन अध्यापनलाई निरन्तरता दिँदै आएकोे छ भने तोकिएकै समयमा परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्नमा आफू सफल भएको दाबी गरेको छ । अन्य विश्वविद्यालयका शैक्षिक गतिविधिमा भने कोभिड– १९ ले प्रत्यक्ष असर पारेको पाइन्छ ।

यता, कोरोना त्रासका कारण धेरै विश्वविद्यालयले औपचारिक रूपमा नियमित पठनपाठन र परीक्षा सञ्चालन गर्न नसकेको आज ५ महिना बितिसकेको छ । पठनपाठनमा वैकल्पिक विधि अपनाए पनि परीक्षा सञ्चालनमा भने धेरै विश्वविद्यालय अहिले पनि अलमलमै छन् । विश्वविद्यालय अनुदान आयोगमार्फत ‘उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारूप, २०७७’ जारी हुँदासमेत सोअनुरूप परीक्षासम्बन्धीको कामकारबाही हुन गाह्रो भइरहेको छ । बरु सोही प्रारूपलाई आधार मानेर पूर्वाञ्चल विश्वविद्यालयले भने वैकल्पिक विधि प्रयोग गरी परीक्षा सञ्चालन गर्ने सूचना जारी गरिसकेको छ ।

पूविले स्नातक तथा स्नातकोत्तर तहका सेमेस्टर प्रणालीअन्तर्गतका परीक्षा घरबाटै लिने निर्णय गरेको हो । आगामी असोज पहिलो साताबाट ‘टाइम–बाउण्ड होम एक्ज्याम’ हुने पूविले जनाएको छ । पूवि प्राज्ञिक परिषद् बैठकले नियमिततर्फका सम्पूर्ण विद्यार्थीको परीक्षा लिने निर्णय गरे पनि आंशिक परीक्षार्थीका बारेमा अझै अन्योल छ । वैकल्पिक विधिअनुरूप सञ्चालन हुने उक्त परीक्षामा विद्यार्थीलाई इमेलमार्फत प्रश्नपत्र उपलब्ध गराइनेछ । विद्यार्थीले घरमै उत्तर लेखेर निश्चित समयभित्र फोटो खिची विश्वविद्यालयमा पठाउनुपर्ने हुन्छ । इमेलबाट प्रश्नपत्र उपलब्ध भए पनि विद्यार्थीले कहीँ कतैबाट हु–बहु सारेको पाइएमा परीक्षा रद्द गरिने भएको छ । यो प्रक्रियाबाट कुनै पनि तहको अन्तिम परीक्षा भने तत्काल नहुने पनि सो विश्वविद्यालयले जनाएको छ ।

काठमाडौँ, पोखरा, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चलजस्ता विश्वविद्यालयले पनि अनलाइन विधिबाट पठनपाठनलाई निरन्तरता दिने चेष्टा गरे तापनि वार्षिक परीक्षा सञ्चालनमा ठोस निर्णय गर्न सकेका छैनन् । अत्यन्त न्यून विद्यार्थी सङ्ख्या भएका सङ्काय र विषयका परीक्षा सञ्चालन गर्न भने केही विश्वविद्यालयले सम्बन्धित डिन कार्यालयलाई जिम्मेवारी दिने निर्णय गरेका छन् । ती डिन कार्यालयहरूले वैकल्पिक विधिभन्दा पनि विशेष सुरक्षा सावधानीका साथ परम्परागत पद्दतिबाटै परीक्षा सञ्चालन गर्दै आएको पाइन्छ । यसले केही विद्यार्थीको परीक्षासम्बन्धी तनाब हटाएको छ । तर, अन्य लाखौँ विद्यार्थीको शैक्षिक सत्र खेर जाने चिन्ता भने अझै हट्न सकेको छैन ।

धेरै विद्यार्थी अध्ययन गर्ने देशकै ठूलो र पुरानो मानिने त्रिभुवन विश्वविद्यालयले पनि केही प्राविधिकइतरका सङ्काय र विषयको परीक्षा सञ्चालनमा भने खासै तदारूकता देखाउन सकेको छैन । त्रिवि नेपालको उच्च शिक्षामा मियो विश्वविद्यालय पनि हो । त्रिविअन्तर्गतकै आङ्गिक, सामुदायिक र निजी सम्बन्धनप्राप्त हजार बढी क्याम्पसमा अहिले स्नातक तथा स्नातकोत्तर पढ्ने ६ लाखभन्दा बढी विद्यार्थी छन् । यस विश्वविद्यालयले विज्ञान, व्यवस्थापन, कानून, मानविकी तथा सामाजिक शास्त्र र शिक्षा शास्त्रजस्ता सङ्कायको परीक्षा सञ्चालन सम्बन्धमा भने अहिलेसम्म कुनै ठोस निर्णय गर्न सकेको छैन ।

गत वैशाख १६ गतेदेखि सञ्चालन गर्ने भनी सबै तयारी गरिएको स्नातक चौथो वर्षको परीक्षा रोकिएसँगै त्रिविका सबै परीक्षाहरू अनिश्चित बनेका हुन् । वैशाखदेखि भदौ (दसैँअगाडि) सम्ममा त्रिविले नियमित रूपबाट ६ ओटा परीक्षा सञ्चालन गर्नुपथ्र्यो । चैत्रबाट हुने भनिएको स्नातकोत्तर तह प्रथम सत्रको परीक्षा पनि अझैसम्म अन्योल छ । गत वर्षदेखिकै परीक्षा सञ्चालन हुन बाँकी छ । यस्तै स्नातक दोस्रो र पहिलो वर्षका विद्यार्थीले परीक्षा आवेदन फारमसमेत भर्ने अवस्था नबन्दा लाखौँ विद्यार्थी चिन्तित बनेका छन् । त्रिविमा स्नातकोत्तर तह प्रथम वर्ष, स्नातक तह चौथो वर्ष र एलएलबी दोस्रो वर्षमा धेरै विद्यार्थी सङ्ख्या छ । लकडाउनअघि उसले एमबिएस दोस्रो र चौथो सेमेस्टरको परीक्षा भने सञ्चालन गर्न भ्याएको थियो ।

लाखौँ विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिनका लागि त्रिविले समयमै ठोस निर्णय गर्नुपर्नेमा सो हुन सकेको छैन । अझै पनि वैकल्पिक विधिबाट परीक्षा सञ्चालन नगरी ढिलासुस्ती गरिरहने हो भने स्थिति झनै प्रतिकूल बन्दै जाने देखिन्छ । कोरोनाको त्रास दिनानु दिन बढिरहेको अवस्थामा त्रिविले शैक्षिक गतिविधिलाई प्रभावकारीरूपमा जीवन्त राख्न निम्नानुसारका कार्य गर्नु समय सान्दर्भिक हुन्छ :

– अनलाइन तथा दूरशिक्षालाई पूर्ण प्रभावकारी बनाउन नसकिएको हुँदा विद्यार्थीको हातमा पुस्तक पुगोस् भन्ने हेतुले विश्वविद्यालयले विद्यार्थीको आर्थिक भारमा कटौती गर्ने । यसका लागि विद्यार्थीले विभिन्न शीर्षकमा विश्वविद्यालयलाई बुझाउनुपर्ने शुल्कमा ७० प्रतिशतसम्म छुटको व्यवस्था मिलाउने । विश्वविद्यालयको वेभसाइटमा पनि सिकाइ पोर्टल बनाई तहगत रूपमा विषयअनुसारका मूल पठनसामग्री र सन्दर्भ सामग्रीहरू राखिनुपर्ने ।

– स्नातकोत्तर प्रथम सत्रमा प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई अविलम्ब क्याम्पसमा भर्ना गरी अनलाइन परीक्षा आवेदन फारम खुला गर्ने । स्नातक दोस्रो तथा पहिलो वर्षमा अध्ययनरत विद्यार्थी र आंशिक परीक्षार्थीको समेत अनलाइन परीक्षा आवेदन फारम भर्न आह्वान गर्ने ।

– विश्वविद्यालयले क्रमशः वैकल्पिक विधिबाट स्थगन भएदेखिका परीक्षा सुचारु गर्नुपर्ने । वैकल्पिक विधिमा पूर्वाञ्चल विश्वविद्यालयले भर्खरै जारी गरेको परीक्षा निर्देशिकजस्तै प्रकारको निर्देशिका जारी गर्दा उत्तम हुने । कोरोना कहरको विशेष अवस्था भएकाले शैक्षिक सत्रलाई पछि नधकेल्ने गरी ‘टाइम बाउण्ड होम सेण्टर’ बाटै विद्यार्थीले परीक्षा दिने व्यवस्था मिलाउनुपर्ने । धेरै विद्यार्थीमात्र होइन, त्यति नै अनुपातमा मानव संसाधन समेत भएकाले सोको व्यवस्थापन गर्नमा कुनै कठिनाइ नहुने । यसका लागि सम्बन्धित क्याम्पसलाई पूर्ण तयारी गराउने गरी त्रिवि प्राज्ञिक परिषद्ले शीघ्रातिशीघ्र मार्गप्रशस्त गर्नुपर्ने ।

– सरकारले भर्खरै विद्यालयदेखि विश्वविद्यालयसम्मकै पाठ्यक्रम सङ्कुचन गर्न निर्देशन दिएको अवस्थामा त्रिविले पनि छोटो पढाइ अवधि रहेका तहको पाठ्यक्रम सङ्कुचन गर्नुपर्ने । मूल अंश वा खण्ड नहटाई परिमार्जन गर्दा पनि पाठ्क्रमको विशिष्ट उद्देश्यमा कुनै पनि असर नपर्ने ।

– पहिलो चरणमा मौका परीक्षा दिन पाउने पुराना परीक्षार्थी र आंशिक परीक्षार्थीको वैकल्पिक विधिबाट परीक्षा लिनुपर्ने । यसको प्रभावकारिता र सुधारात्मक पक्षलाई ध्यानमा राखी नियमित परीक्षार्थीको परीक्षा लिने व्यवस्था मिलाउनुपर्ने ।

माथि भनिएका बुँदाका आधारमा त्रिविले आफ्ना शैक्षिक गतिविधि अगाडि बढाउन सके लाखौँ विद्यार्थीको शैक्षिक सत्र खेर जाने थिएन । देशकै ठूलो तथा पुरानो विश्वविद्यालयले गरेका कार्यलाई अन्य विश्वविद्यालयले पनि अनुसरण गर्न सजिलो हुने थियो । विश्व परिवेशमै कोरोना कहरका बीच धेरैजसो विश्वविद्यालयले वैकल्पिक माध्यमबाट आफ्नो शैक्षिक गतिविधिलाई निरन्तरता दिइरहेको अवस्थामा त्रिविले पनि कुनै हालतमा ढिलो गर्नु हुँदैन ।