भारत विश्वको सबैभन्दा ठूलो प्रेस उद्योग भएको राष्ट्र हो । भारतमा १७ हजार न्युजपेपर, १ लाख म्यागजिन र ४ सय ३ भन्दा बढी स्याटेलाइट न्युज च्यानल, अनगिन्ती वेबसाइट, असङ्ख्य फेसबुक पेज र युट्युब च्यानलहरूले खबर सम्प्रेषण गर्ने गर्दछन् । पछिल्लो केही समयमा भारतीय मिडियाजगत् विश्वमा नै निकै आलोचित भएको छ र क्रमशः आफ्नो विश्वसनीयता गुमाउँदै गइरहेको छ । आरएसएफले वल्र्ड प्रेस फ्रिडम इण्डेक्समा भारतलाई १४२ औं स्थान दिएको छ भने नेपाल ११३ र छिमेकी राष्ट्रहरू पाकिस्तान, बङ्गलादेश र श्रीलङ्का क्रमशः १४५, १५१ र १२७ औं स्थानमा रहेका छन् ।

भारतमा प्रेस स्वतन्त्रता
भारतमा केही प्रेसजगत्का ठूला र स्वतन्त्र विचारका पत्रकारहरूले भारतीय मिडियाको खस्किँदो स्तरको प्रमुख कारणको रूपमा भारतको वर्तमान सरकारको प्रेसप्रतिको व्यवहारलाई मान्ने गर्दछन् । न्युयोर्क टाइम्समा अप्रिल २, २०२० मा छापिएको एक आर्टिकलमा वरिष्ठ पत्रकार विन्दु गोयल र जेफरी जेटलमेनले एउटा घटनालाई कोड गरे बमोजिम भारतमा प्रेस स्वतन्त्रताको स्थिति यसरी बुझ्न सकिन्छ कि भारतको केरलाका एक जना पत्रकार कुल्ही रमनले न्युज स्टुडियोमा खबर वाचन गर्दै गर्दा च्यानलका एडिटर एक्कासि हौसिएर स्टुडियोमा आए र खबर रोक्न भने, अचानक स्क्रिन निलो भयो र स्क्रिनमा नो सिग्नलको सन्देश प्रसारित हुन थाल्यो । त्यो कुनै प्राविधिक त्रुटि भने थिएन ।

भारत सरकार सूचना तथा सञ्चार मन्त्रालयद्वारा फेब्रुअरीमा घटित दिल्ली हिंसाको न्युज रिपोर्ट गरेकोले ४८ घण्टाको लागि उक्त च्यानलको प्रसारण बन्द गरिएको रहेछ । (न्युयोर्क टाइम्सः २ अप्रिल २०२०) भारतमा एक जना पार्ट टाइम पत्रकार पवनकुमार जैशवालले भारतीय प्रधानमन्त्रीको निर्वाचन क्षेत्र वनारसको एक सरकारी विद्यालयमा विद्यार्थीहरूलाई दिवा खानाको लागि सादा रोटी र नुन दिँदै गरेको भिडियो युट्युबमा (https://youtu=be/8ETr-8HRZcc) भाइरल गराए बापत उनलाई ७ वर्ष कैद हुने प्रकृतिको मुद्दा चलाइनुले भारतको प्रेस स्वतन्त्रतालाई आफै बयान गर्दछ ।

अर्को घटना भने भारतको सत्ताधारी पार्टीले किसानहरूको आम्दानी दोब्बर गर्ने आफ्नो निर्वाचन घोषणा–पत्रमा उल्लेख गरे बमोजिम काम गरेको दाबी ग¥यो, त्यसलाई पुष्टि गर्न स्वयम् भारतीय प्रम मिडियामा आए र किसानहरूसँग लाइभ भिडियो कन्फ्रेन्सिङको माध्यमबाट कुराकानी गरेको प्रसारण भयो । कार्यक्रमले पपुलारिटीको शिखर चुम्यो । भारतका एक पत्रकार पुण्य प्रसुनले कार्यक्रममा सहभागी किसानहरूको घर पुगे र कुराकानी गरे (संवाददाता मार्फत्), कार्यक्रममा किसानहरूले बोलेको कुराभन्दा वास्तविकता फरक रहेको र आफूहरूलाई त्यसो भन्न सरकारी अधिकारीहरूले प्रशिक्षित गरेको स्वीकार गरे । भिडियो भारतको एक न्युज च्यानल ब्द्यए को कार्यक्रम मास्टर स्ट्रोकमा प्रसारण भयो । (स्रोतःhttps://youtu=be/lboVJ6cxzdU)

पत्रकार पुण्य प्रसुनलाई जागिरबाट निकालियो । उनले आफ्नो युट्युब च्यानल (Punya Prasun Bajpai) मा आफूलाई छोड्न बाध्य बनाइएको कुरा सार्वजनिक गरेका छन् । त्यस्तै भारत सरकारको आलोचना गरेकै कारण एक जना पत्रकार अभिसार शर्मा पनि जागिरबाट निकालिएका छन् र एक जना भारतीय लेफ्टिस्ट पत्रकार भनेर चिनिने रविशकुमार पनि सत्ताधारी दलको बहिष्करणमा परेका छन् ।

भारतीय मिडिया र राजनैतिक प्रभाव
भारतले सञ्चार माध्यममा ठूलो फड्को मारिसकेको छ । आधुनिक प्रविधिको प्रयोग, ठूलो लगानी र उत्कृष्ट क्षमता भएको मानव स्रोतमा कुनै कमी छैन । ठूला मिडिया हाउसहरू धेरैजसो सत्ताधारी दल भारतीय जनता पार्टीसँग सम्बद्ध व्यक्तिहरूद्वारा सञ्चालित छन् भने केही अन्य राजनैतिक दल सम्बद्ध व्यक्तिहरूद्वारा सञ्चालित छन् भने केही स्वतन्त्र छन् । भारतको सबैभन्दा ठूलो मिडिया हाउस Zee network का मालिक शुभास चन्द्रा त भारतको मथिल्लो सदनमा सत्ताधारी दल भाजपाका सांसद नै हुन। त्यसतै अर्को ठूलो मिडिया हाउस News24 की मलिक अनुराधा प्रसाद, भाजपा नेता र वर्तमान केन्द्रीय मन्त्री रविशङ्कर प्रसाद की बहिनी हुन् । त्यसरी केही भारतीय मिडियामा लगानी गर्ने लगानीकर्ताहरूको राजनैतिक सम्बन्ध तल दिएको चार्टबाट बुझ्न सकिन्छ ।

१. Network18 (मुकेश अम्बानी( ( मोदी र भाजपानिकट व्यक्ति)
२. Zee media (सुभाष चन्द्रा र (भाजपा सांसद)
३. NDTV India (प्रनोय रोय र राधिका रोय (CPIM महासचिव की पत्नी वृन्दा करातकी बहिनी)
४. NEWS24 अनुराधा प्रसाद (भाजपा मन्त्री रविशङ्कर प्रसादकी बहिनी)
५. IndiaTV (रजत शर्मा) (भाजपा निकट विद्यार्थी सङ्गठन AVBP का पूर्व महासचिव)
६. Republic TV (अर्नब गोस्वामी (MD) र राजीव चन्द्र शेखर) (भाजपा सांसद्)
(स्रोतः edium; the politics of indian media house: March 6, 2019)

यसरी राजनैतिक व्यक्तिहरूको प्रमुख लगानीबाट सञ्चालित भारतीय मिडिया हाउसहरू दलको स्वार्थपोषण बाहेक केही गर्न सकिरहेका छैनन् ।

भारतीय मिडिया र अराजकता
यसरी भारतीय मिडिया हाउसहरू राजनैतिक दबाव, लगानीको दबाव र विज्ञापन प्रलोभनको जालझेलमा फसेर वास्तविक पत्रकारिताको धर्मलाई बिर्सेर अराजकता, दलाली र चाटुकारितामा व्यस्त रहेको कोही पनि विवेक हुने व्यक्तिले सजिलै निष्कर्ष निकाल्न सक्दछ । विशेषतः भारतीय न्युज च्यानलहरूमा गरिने प्यानल डिस्कसनमा गेस्टहरूप्रति गरिने दुव्र्यवहारबाट स्पष्ट उदाहरण लिन सकिन्छ । प्यानलमा सत्ताको विपक्षमा हुने प्यान्लिस्टहरूलाई बराबर समय नदिने, बढी क्रस कोइस्चनिङ गर्ने, यहाँसम्म कि कमजोर अडियो प्रविधिको प्रयोग गरी सत्ता विपक्षको स्वरलाई अस्पष्ट बनाउनेसम्मको क्रियाकलाप गरिन्छ ।

भारतीय मिडिया र साम्प्रदायिकता
भारतीय मिडिया हाउसहरूको एउटा अर्को रूप भनेको साम्प्रदायिकता पनि हो । भारतमा सत्तासीन दल भारतीय जनता पार्टीको वैचारिक संस्था भनेको RSS हो । RSS एक राष्ट्रवादी सांस्कृतिक संस्था कहलिने गर्दछ । RSS को प्रिन्सिपल थियोरी फाउण्डरद्वारा रचित दस्तावेजको अध्ययन गर्दा भारतलाई हिन्दु सांस्कृतिक राष्ट्रवादको धारमा डो¥याउन खोज्ने परिकल्पना गरी स्थापित गरेको देखिन्छ ।

जसको प्रतिबिम्ब वर्तमान भारत सरकारको कार्यशैलीमा देखिन्छ । त्यही आकाङ्क्षालाई सम्बोधन गर्न वर्तमान भारतीय मिडियाले प्रायः सबैजसो राजनैतिक मुद्दाहरूलाई साम्प्रदायिक रङ दिने प्रयास गरेको देखिन्छ । उदाहरण स्वरूप भारतमा हालसालै ल्याइएको नागरिकता कानून र विशेषतः कश्मिरको राजनैतिक समस्यालाई भारतीय मिडियाहरूले साम्प्रदायिक रङ दिएर खुबै गरमागरम बहस गरेको देखिन्छ ।

भारतीय मिडिया र नेपालसँगको सीमा विवाद
वर्तमान समयमा नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेदेखि भारतीय मिडिया नेपाल विरुद्ध मजाले खनिएको देखिन्छ । यो अरू केही होइन, त्यही भारतीय सरकारको राष्ट्रवादी छविलाई जोगाउन उसका सबै कार्यहरूलाई पक्षपोषण गर्न मजाले प्रशिक्षित भइसकेको त्यही प्रवृत्तिको निरन्तरता हो ।

नेपालले नक्सा प्रकाशित भएपश्चात् नेपाली अभिनेत्री मनिषा कोइरालासँग गरिएको व्यवहार, अहिले नेपालका प्रधानमन्त्री र नेपालको लागि चिनियाँ राजदुतबीचको सम्बन्धलाई घृणित सोचबाट परिभाषित गर्ने उनीहरूको दुष्प्रयासले उनीहरूको चरित्रलाई अझ नङ्ग्याएको छ ।

भारतीय मिडियालाई मेरो सुझाव
भारत हाम्रो मित्रराष्ट्र हो । भारत र नेपालको सम्बन्ध मोदी–ओली सरकार आएदेखिको होइन । नेपाली र भारतको प्राचीन सांस्कृतिक सम्बन्ध छ । नेपालका प्रत्येक हिन्दु भारतको वनारस, हरिद्वार, केदारनाथ, अयोध्या, मथुरा आदि जाने चाहना राख्दछन् । प्रत्येक नेपाली मुस्लिम भारतको अज्मेर शरिक, निजमुद्दिन दरगाह र हाजी अली जाने चाहना राख्दछन् भने बोधगया सबै बुद्ध धर्मावलम्बीको लागि महत्वपूर्ण स्थलको रूपमा चिनिन्छ ।

त्यसरी भारतीयहरूको लागि नेपालका विभिन्न धार्मिकस्थलहरू आउनु र दर्शन गर्नुले उनीहरूको जीवनमा महत्वपूर्ण स्थान राख्दछ । यसरी नै भारत र नेपालबीचको आर्थिक सम्बन्ध सन्तुलित नभए पनि भविष्यमा दुवै पक्षले एक–अर्कालाई ठूलो आर्थिक सहयोग गर्न सक्ने सम्भावना राख्दछ । नेपाल–भारतबीचको सम्बन्धलाई रोटीबेटीको सम्बन्ध भनेर पनि परिभाषित गर्ने गरिन्छ । यसर्थ नेपाल–भारत बीचको ऐतिहासिक सम्बन्धलाई भारतीय मिडियाहरूले उन्मादपूर्ण र अतिरञ्जित रिपोर्टिङ गरेर भावनात्मक द्वन्द्वतिर धकेल्ने दुष्प्रयास गर्नु हुँदैन ।

विवादलाई वार्ताको टेवलमा ल्याएर समाधानतिर लैजानु पर्छ । भारतीय मिडियाले आफ्नो दुश्मन देश भन्ने राष्ट्रहरू जस्तै अनर्गल प्रचार गरेर नेपालको प्रतिष्ठा धुमिल्याउने र चीनको इसारामा घुम्ने राष्ट्रको रूपमा स्थापित गर्ने कुप्रयत्न गर्दैछ भने । हेक्का रहोस्, नेपाल विश्वमा आफ्नो वीरताको इतिहासको लागि परिचित छ । हामीलाई कसैको उपनिवेश भएको र गुलामी गरेको अनुभव छैन । उसको यो असफल प्रयासले उसको संस्थागत परिचयलाई नङ्ग्याउनेछ । भारतीय मिडिया हाउसहरू विश्वमा आफ्नो अराजक, साम्प्रदायिक र हेपाहा चरित्रको लागि अझ बढी परिचित हुनेछन् ।
(लेखकः त्रिभुवन विश्वविद्यालयका स्नातकोत्तर विद्यार्थी हुन् ।)