धरान । यही चैत १९ गतेदेखि हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पाँच लाखभन्दा बढी विद्यार्थीहरू सहभागी हुने भएका छन् ।

देशभर एकसाथ सञ्चालन हुन लागेको परीक्षामा कुल पाँच लाख १० हजार विद्यार्थीहरू सहभागी हुने भएका हुन् । यो वर्ष गत फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन भएका कारण परीक्षा सरेको हो । गत वर्ष चैत ७ गतेबाट एसईई सुरु भएको थियो । राष्ट्रिय परीक्षा बोर्डका अनुसार गत वर्षभन्दा यसवर्ष सहभागीको सङ्ख्या चार हजारले कमी देखिएको छ ।

गतवर्ष पाँच लाख १४ हजार ७१ विद्यार्थीले परीक्षा लेखेका थिए । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार यसवर्ष ६३ हजार विद्यार्थीले ‘एक्जाम्टेड’ समूहमा परीक्षा दिँदै छन् । परीक्षामा सहभागी हुनेमध्ये २ लाख ५७ हजार ५ सय २७ छात्रा र २ लाख ५२ हजार ४ सय ३४ छात्र रहेका छन् । परीक्षा व्यवस्थापनका लागि देशभर १९ सय ९१ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले ७७ वटै जिल्लामा प्रश्नपत्र सुरक्षितरूपमा पु¥याइसकेको उल्लेख गरेको छ । परीक्षा सुरक्षाका लागि नेपाल प्रहरीले करिब १२ हजार ५ सय सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ । बिहान ८ बजेदेखि सञ्चालन हुने परीक्षा चैत २९ गते सकिने जनाइएको छ । एसईई सकिएलगत्तै देशका अधिकांश जिल्लामा शिक्षा विकास तथा समन्वय एकाइको समन्वयमा उत्तरपुस्तिका परीक्षण कार्य सुरु गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।